Successfully Copied

बलिउड वुमेन पावर

अन्य क्षेत्रमा जस्तै मेल डोमिनेटिङ बलिउड चलचित्र उद्योगमा पनि अब महिलाहरूको प्रभाव बढ्दै गएको छ ।

अन्य क्षेत्रमा जस्तै मेल डोमिनेटिङ बलिउड चलचित्र उद्योगमा पनि अब महिलाहरूको प्रभाव बढ्दै गएको छ । अभिनयमा मात्र नभई फिल्म मेकिङको क्षेत्रमा पनि महिलाहरू पुरुषलाई कडा टक्कर दिन थालेका छन् । अभिनेताहरूभन्दा कम पारिश्रमिक प्राप्त गर्ने अभिनेतृहरूको पारिश्रमिक पनि क्रमिक रूपमा बढ्दो छ । चलचित्र ‘डर्टी पिक्चर’ को सफलतापछि मात्र अभिनेतृको बलमा पनि फिल्म हिट हुन सक्छ भन्ने कुरा प्रमाणित भएको थियो । त्यसो त पछिल्लो केही समययता बलिउडमा वुमेन सेन्ट्रिक (महिला प्रधान) फिल्म मेकिङतर्फ निर्माताहरूको आकर्षण बढ्दै गएको छ । पहिले जहाँ महिला प्रधान चलचित्र मात्र प्यारेलल सिनेमासम्म सीमित थिए, त्यहीँ अहिले यसको दायरा कमर्सियल सिनेमासम्म पुगेको छ र अहिले दर्शकहरूले पनि सिनेमामा देखिएको यो परिवर्तनलाई रुचाएको पाइन्छ ।

डर्टी पिक्चर : दक्षिण भारतीय चलचत्रिमा सेक्स सिम्बलका रूपमा परिचित सिल्क स्मिताको जीवनमा आधारित यो चलचित्र सुपरहिट भयो र विद्या बालन पनि सुपर स्टारको श्रेणीमा उभिइन् । यति मात्र होइन उनले यही चलचित्रबाट राष्ट्रिय पुरस्कार पनि प्राप्त गरिन् । चलचित्रमा सिल्क स्मिताको चरित्रलाई विद्याले अत्यन्त सुन्दर ढंगले प्रस्तुत गरेकी थिइन् । यसबाट उनको अभिनय कलाप्रति मोहित हुनेहरूको संख्या ह्वात्तै बढ्यो ।

नो वन किल्ड जेसिका : मोडल जेसिका लालको हत्यामा आधारित यो चलचित्रलाई पनि दर्शकले खुबै मन पराए । पत्रकारको भूमिकामा रानी मुखर्जी र सबरिना लालको भूमिकामा विद्या बालनले यो चलचित्रलाई जीवन्त तुल्याए । मेल लिड एक्टरबिनाको यो चलचित्रले बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो ।

सात खुन माफ : चलचित्र समीक्षकहरूले यो चलचित्रमा प्रियंका चोपडाको अभिनयको निकै प्रशंसा गरेका थिए । यो चलचित्रमा अभिनेतृ प्रियंकाले त्यस्ती महिलाको चरित्र निर्वाह गरेकी थिइन् जसले प्रेमको खोजीमा सातवटा विवाह गर्छिन् र एक–एक गर्दै आफ्ना सबै श्रीमान्को हत्या गर्न पुग्छिन्, तर उनको साँचो प्रेमको खोजी पूरा हुँदैन । त्यसो त यो चलचित्रले बक्स अफिसमा राम्रो प्रभाव देखाउन सकेन तर प्रियंका चोपडाको अभिनयले सबैको ध्यान आकृष्ट गर्‍यो ।

फेसन : सन् २००८ को सुपरहिट चलचित्र ‘फेसन’ मा ग्ल्यामर वल्र्डपछाडि लुकेको अँध्यारो पक्षलाई देखाउने प्रयास गरिएको थियो । जसलाई दर्शकले हार्दिकताका साथ स्वीकार गरे । एउटी साधारण युवतीको सुपर मोडलसम्मको यात्रालाई अभिनेतृ प्रियंका चोपडाले पर्दामा जीवन्त रूपमा प्रस्तुत गरिन् । मोडलको जीवन वरिपरि घुमेको यो चलचित्र वास्तविकता नजिक थियो ।

ब्ल्याक : २००५ मा प्रदर्शित यो चलचित्र अभिनेतृ रानी मुखर्जी अभिनीत राम्रा चलचित्रमध्येको एउटा हो । उनले सहजतापूर्वक एउटी अन्धी, लाटी युवतीको भूमिका निर्वाह गरेर दर्शकको मन जितेकी थिइन् । यो चलचित्रमा अमिताभ बच्चनको उपस्थिति हुँदाहुँदै पनि रानी आफ्नो अलग छाप छोड्न सफल भइन् ।

चमेली : डार्क मेकअप र ब्राइट कलरको साडीमा पुरुषलाई आकर्षित गर्ने भूमिकामा यो चलचित्रमार्फत अभिनेतृ करिना कपूरले धेरैको ध्यान आफूतर्फ तानिन् । यो चलचित्रमा सेक्स वर्करको भूमिका निर्वाह गरेर करिनाले आफू जुनसुकै भूमिका निर्वाह गर्न र हरेक रोलमा फिट हुने कुरा प्रमाणित गरेकी थिइन् । यो चलचित्रबाट करिनाले खुबै प्रशंसा पनि बटुलिन् । चलचित्रले बक्स अफिसमा पनि राम्रो प्रदर्शन गर्‍यो ।

कुरा बितेका दिनको

एकाध नै किन नहोस्, बलिउडमा वुमन सेन्ट्रिक चलचित्रको इतिहास भने पुरानै छ । चर्चित फिल्ममेकर विमल रोयको परिणिता, सुजाता, वन्दिनी आदि चलचित्रको केन्द्रीय भूमिकामा महिला नै थिए । चलचित्र सीता, गीता र गुड्डीको कथा पनि पूर्णरूपले महिला चरित्रमा नै आधारित थिए । यसबाहेक चाँदनी, चालबाज, खुनभरि मांग, आखिर क्यों, मिर्च मसला, अर्थ, मृत्युदण्ड आदि चलचित्रमा पनि महिला चरित्रलाई फोकस गरिएको थियो । नर्गिसद्वारा अभिनीत सुपरहिट चलचित्र मदर इन्डियाको गिन्ती अहिलेसम्मकै राम्रो र स्मरणीय वुमन सेन्ट्रिक चलचित्रमा गनिन्छ । यसैगरी डोर, पिन्जर, तहजिब, सत्ता, फायर, फिलहाल, लज्जा, चाँदनीबार, जुबैदा, फिजा आदि चलचित्र पनि महिलाहरूमै आधारित चलचित्र हुन् ।

फिल्म मेकिङमा सहभागिता

पुरुषप्रधान बलिउडमा अभिनयका साथै प्रोडक्सनमा पनि पुरुषहरूकै बाहुल्य र वर्चस्व रहिआएको छ । यद्यपि समयसागै त्यसमा पनि परिवर्तन देखा परेको छ । अहिले अभिनयमा मात्र होइन फिल्म मेकिङको क्षेत्रमा पनि महिलाहरूको सहभागिता बढ्दै गएको पाइन्छ । फराह खान, जिया अख्तर, मेघना गुल्जार, पूजा भट्ट, तनुजा चन्द्रा, रीमा कागती, मीरा नायर, दीपा मेहता, एकता कपूर, किरण राव आदिले फिल्म निर्माण क्षेत्रमा आफ्नो अलग पहिचान बनाएका छन् । मीरा नायर तथा दीपा मेहताले आफ्नो चलचित्रलाई फर्मुला चलचित्रभन्दा फरक देखाउने प्रयास गरेका छन् र सोही कारणले यी दुवैजना विवादमा पनि फसेका छन् । त्यसबाहेक सिल्भर स्क्रिनमा आफ्नो कला देखाइसकेका जुही चावला, शिल्पा सेट्टी, सुस्मिता सेन, लारा दत्ताजस्ता थुप्रै अभिनेतृ पनि फिल्म प्रोडक्सनमा अगाडि बढिरहेका छन् । 

अभिनेतृहरूको आम्दानी

बलिउडमा वुमन सेन्ट्रिक चलचित्रको दायरा मात्र बढेको छैन, अभिनेतृहरूको आम्दानी पनि बढेको पाइन्छ । भनिन्छ  डर्टी पिक्चरको सफलतापछि अभिनेतृ विद्या बालनको पारिश्रमिक करिब ७ करोड भारु पुगेको छ । मधुर भण्डारकरको चलचित्र हिरोइनका लागि करिनाले पनि त्यति नै पारिश्रमिक प्राप्त गरेकी थिइन् । करिना चलचित्रबाट प्राप्त हुने लाभमा पनि आफ्नो हिस्सा प्राप्त गर्ने प्रथम नायिका हुन् । करिनाले एउटा चलचित्रका लागि साढे ४ करोडदेखि ५ करोड भारू पारिश्रमिक लिन्छिन् । कटरिना कैफले ४ करोड, प्रियंका चोपडा र दीपिका पादुकोणले ३ करोड भारु लिन्छन् ।

फिल्मका साथै विज्ञापनका माध्यमबाट पनि अभिनेतृको राम्रो कमाइ हुन्छ । चलचित्रमा मोटो रकम लिने अभिनेतृहरूले इन्डोर्समेन्टका लागि पनि राम्रै रकम असुल्ने गरेका छन् अर्थात् सिल्भर स्क्रिनका साथै विज्ञापनमा पनि बलिउडका लिडिङ लेडी छाएको पाइन्छ । कटरिना र ऐश्वर्यालाई एउटा विज्ञापनका लागि ४ करोड, प्रियंका, करिनालाई ३ करोड र दीपिका पादुकोणलाई साढे २ करोड भारु प्राप्त हुने गरेको छ अर्थात् बलिउडका लिडिङ लेडी अब हरेक स्थानमा मेल एक्टर्स बराबर देखिन थालेका छन् ।

 

 Image