Successfully Copied

लव सिजनको कमब्याक

बी-टाउनमा हिजोआज पुनः रोमान्टिक शैली हाबी हुन थालेको छ। सिल्भर स्त्रिmनमा माया-प्रेम-रोमान्सको सिलसिला फेरि एकपटक उत्कर्षमा छ।

बी-टाउनमा हिजोआज पुनः रोमान्टिक शैली हाबी हुन थालेको छ। सिल्भर स्त्रिmनमा माया-प्रेम-रोमान्सको सिलसिला फेरि एकपटक उत्कर्षमा छ। लवस्टोरीको फर्मुला फिल्म मेकिङमा हिट मानिन्छ, त्यसैले पछिल्ला केही समययता बलिउडमा यसको प्रयोग बढ्दो छ।

वर्ष २०१३ लाई रोमान्टिक वर्ष भन्दा फरक नपर्ला। यो वर्ष ब्याक टु ब्याक प्रदर्शनमा आएका बलिउड सिनेमाले बक्स अफिसमा धुम मच्चाए। मोहित सुरीको चलचित्र 'आशिकी टु' बाट प्रारम्भ भएको रोमान्टिक चलचित्रको सफलता निरन्तर अघि बढिरह्यो। करिब ८० करोड भारुको व्यापार गरेको 'आशिकी टु' पछि रणवीर कपूर र दीपिका पादुकोणको चलचित्र 'ये जवानी है दिवानी' त सय करोड भारुको क्लबमा समावेश भयो। 'राँझणा' मा जोयाप्रति कुन्दनको निःस्वार्थ प्रेमले सबैको मन जित्यो। राँझणाले पहिलो सातामै करिब ३५ करोड भारुको व्यापार गर्‍यो। यो लवस्टोरीका बीच विक्रमादित्य मोटवानेको 'लुटेरा' पनि आमदर्शकको मन हर्न सफल भयो। ग्ल्यामर तथा तडकभडकभन्दा अलग यो शालीनतापूर्ण प्रेमकथाले सबैलाई बितेका दिनको स्मरण गरायो। साहरुख खान तथा दीपिका पादुकोण अभिनीत 'चेन्नई एक्सप्रेस' प्रेमको कसौटीमा खरो उत्रन सफल भयो। रोमान्टिक चलचित्रको यो लहरमा श्रुति हसनको 'रमैया वस्ता वैया' तथा सोनाक्षी सिन्हा र अक्षयकुमार अभिनीत 'वन्स अपन ए टाइम इन मुम्बई दुबारा' ले भने खासै प्रभाव देखाउन सकेनन्।

बलिउडमा आगामी दिनमा पनि प्रेमको रंग देखा पर्ने निश्चित छ। कतिपय निर्माता-निर्देशक प्रेमको हिट फर्मुला प्रयोग गर्ने प्रयासमा छन्। भूषणकुमारको 'यारिया' पुनीत मल्होत्राको 'गोरी तेरे प्यार में' विद्या बालन-फरहान अख्तर स्टारर 'शादीका साइड इफेक्ट' सञ्जय लीला भन्सालीको 'रामलीला', 'बद्तमिज दिल', 'रज्जो', 'हँसी तो फँसी' बाहेक अन्य थुप्रै चलचित्र यो सूचीमा छन्। यी सबै चलचित्रमा अलग-अलग तरिकाबाट रोमान्सलाई नजिकबाट महसुस गर्न पाइनेछ। सबैजना जब प्रेमको फर्मुला प्रयोगमा प्रतिस्पर्धा गरिरहेका छन् भने महेश भट्ट मात्र किन पछाडि पर्थे ? सूत्रहरूका अनुसार उनी आफ्नो रोमान्टिक चलचित्र 'दिल है कि मानता नहीं' को रिमेक बनाउँदैछन् जसमा आमिर खानको भूमिका इमरान हासमीले निर्वाह गर्नेछन्।

बलिउडमा रोमान्सको कुरा नयाँ होइन तर ८० को दशकमा यश चोपडाले रोमान्सलाई एउटा अलग अन्दाज र शैलीमा प्रस्तुत गरे। सिफनका साडीमा उनका अभिनेतृहरूको मनै लोभ्याउने प्रेम-रोमान्सले नयाँ कथा लेख्न सफलता प्राप्त गरे। अन्ततः रोमान्स यश चोपडाको पर्याय नै बन्यो। कुरा चाहे 'चाँदनी' को होस् वा लम्हे, सिलसिला, कभी कभी, दाग वा दिल तो पागल है को। यश चोपडाले पर्दामा रोमान्सलाई यसरी प्रस्तुत गरे कि दर्शकहरू त्यसबाट प्रभावित नभैरहन सकेनन्।

वर्तमान समयमा केही चलचित्रलाई छोडेर तिनमा प्रेमको त्यो गहिराइ, निश्चलता, मिठास र सुन्दरता देख्न पाइँदैन, जुन पहिलेका चलचित्रहरूमा हुन्थे। अहिले कतै न कतै प्रेमको नाममा अश्लीलता प्रस्तुत गर्ने प्रयास गरिएको हुन्छ। त्यसो त राँझणा, लुटेरा, चेन्नई एक्सप्रेस आदि चलचित्र अश्लीलताबाट मुक्त थिए।

बलिउडमा पछिल्लो समयमा सलमान खानको 'एक था टाइगर', साहरुख खानको 'जब तक है जान' बाट प्रारम्भ भएको रोमान्टिक चलचित्रको सुपरहिट यात्रा रणवीर कपूरको 'ये जवानी है दिवानी', 'वेसरम' हुँदै 'शुद्ध देशी रोमान्स', 'इश्कजादे', 'इश्क', 'राँझणा', 'लुटेरा' जस्ता अनेकौं चलचित्रबाट अघि बढ्दैछ।

 Image