Successfully Copied

इतिहास रच्ने पलेशा

छ पटक हारेर पाएको मेडल हो यो । जेहोस्, नेपाली खेल इतिहासमा पहिलोपटक ओलम्पिक मेडल भित्रिएको छ, यसमा म धेरै खुसी छु ।’


स्कुलमा अतिरिक्त क्रियाकलापका लागि कुनै न कुनै खेल छान्नुपर्ने भयो । पलेशा गोवर्धनको रोजाइमा पर्‍यो–तेक्वान्दो ।
‘तेक्वान्दो रोजेकै दिन केटाहरूलाई कुट्न पाएँ । घर पुगेर मामुलाई भनें–तेक्वान्दोमा त केटालाई पनि कुट्न पाइने रहेछ,’ उनले सुनाइन् ।त्यतिबेला पलेशा मात्र नौ वर्षकी थिइन् । छोरीको आँटिलो विश्वास देखेर मामु खुसी भइन् । आफूलाई लोकप्रियता दिलाएको तेक्वान्दोका सुरुवाती दिन सम्झँदै पलेशा भन्छिन्, ‘मामुले हाम्रा छोरा छैनन्, सुरक्षाका लागि पनि तिमीले तेक्वान्दो खेल्नुपर्छ भनेर साहस दिनुभयो ।’
‘हुने बिरुवाको चिल्लो पात’ भनेझें पलेशाले सानैमा सबैलाई प्रभावित बनाइसकेकी थिइन् । स्कुलका शिक्षकले पनि उनको खेलको परख गरिसकेका थिए । विद्यालयको साप्ताहिक एक दिने तालिमले मात्रै पुग्दैन, राम्रो खेलका लागि बाहिर तालिममा भर्ना गरिदिनू भनेर शिक्षकले अभिभावकलाई भनेका थिए । त्यसपछि नै उनी रंगशाला जान थालिन् ।
काठमाडौं बागबजारका प्रदीप र मनिताका तीन छोरीमध्ये पलेशा माहिली हुन् । मनिताका अनुसार पलेशा जन्मिँदा मसिनी भए पनि दह्रो र बलियो थिइन् ।
पाराओलम्पिकयात्रा
दशरथ रंगशालाको तालिमले पलेशामा निखार ल्याइसकेको थियो । १३ वर्षको उमेरमै उनले दक्षिण कोरियामा खेलिन् । त्यसपछि क्रमिक रूपमा उनको खेलयात्राले गति लिँदै गयो । दक्षिण कोरियामा खेलेर फर्किएपछि सबैतिरबाट पाएको प्रशंसाले नै थप आत्मविश्वास भरेको उनको भनाइ छ । त्यसपछि उनी निरन्तर स्पर्धामा लागिरहिन् । चीनमा सम्पन्न एसियन गेमबाट क्वालिफाइड भएपछि पाराओलम्पिकसम्म पुगेकी हुन् ।
पाराओलम्पिकको कांस्य पदक सम्झिएर भावुक हुँदै उनले भनिन्, ‘छ पटक हारेर पाएको मेडल हो यो । यसका पछाडि मेरा धेरै दुःख र संघर्ष लुकेका छन् । गोल्ड नै ल्याउने ध्येय हुँदाहुँदै पनि सकिएन । धेरै मेहनत गरेकी थिएँ तर त्यस्तै भयो । जेहोस्, नेपाली खेल इतिहासमा पहिलोपटक ओलम्पिक मेडल मुलुक भित्रिएको छ, यसमा म धेरै खुसी छु ।’
फ्रान्सको पेरिसमा सम्पन्न पाराओलम्पिकमा पलेशाले कांस्य पदक जित्दा नेपाली खेल क्षेत्रले इतिहास रचेको छ । ओलम्पिक यात्राको ६० वर्षे दौरानमा नेपालले अन्तर्राष्ट्रिय स्तरकै ठूलो पदक भित्र्याउन सफल भएको छ । यसको पूरापूर श्रेय पलेशालाई नै जान्छ ।

आँटले ओलम्पियन
कडा मेहनत, खेलप्रतिको मोह, कहिल्यै हार नमान्ने स्वभावका साथै आफूभित्रको आत्मविश्वासले ओलम्पियन बन्न सहयोग गरेको पलेशा बताउँछिन् । राज्य र अन्तर्राष्ट्रिय खेलजगत्ले पनि पारा र नन–पारालाई समान ढंगले तालिम, सुविधालगायतप्रदान गरेकै कारण उनलाई सहज भयो । ‘हाम्रो उमेरका युवाअत्यन्तै द्विविधामा बाँचिरहेका हुन्छौं । मलाई पनि संघाइको पढाइ थाती राखेर ओलम्पिकमा जाऊँ कि नजाऊँ भन्नेमा द्विविधा भइरहेको थियो,’ उनी भन्छिन्, ‘म आँटेर गएँ । जितेर आएँ । तसर्थ सफलताका लागि आफूले चाहेको काममा रिस्क पनि लिन पर्दोरहेछ ।’
उनी चीनको सांघाइस्थित तोङ्गजी युनिभर्सिटीमा आर्किटेक्ट इन्जिनियरिङमा ब्याचलर पढ्दैछिन् ।
मेडल छुँदाको क्षण
त्यसो त ओलम्पिक जानुअघि आफूलाई कत्ति पनि डर नलागेको पलेशा सुनाउँछिन् । उनीभित्र जितेरै आउँछु भन्ने आत्मविश्वास पनि थियो । मेडल पाउनेबित्तिकै सुरुमा त उनलाई विश्वासै लागेन । फेरि क्षणभरमै मेडल हातमा पर्नेबित्तिकै भारी लागेको अनुभूति उनले सेयर गरिन् । ‘जब मेडल हातमा पर्‍यो देश र जनताप्रतिको जिम्मेवारी सम्झिएँ । अहिले यो मेडल मात्रै नभएर सारा नेपाल र नेपालीको माया, सम्मान र हौसला बनेको छ मेरा लागि,’ मन्द मुस्कानसहित आनन्दित हुँदै पलेशाले भनिन्, ‘आगामी दिनमा देश र जनतालाई गर्व महसुस हुने अन्य थुप्रै काम गर्दै जानेछु ।’
राज्यको भूमिका
ओलम्पिक जस्ता अन्तर्राष्ट्रिय स्पर्धाका लागि राज्यले खेल क्षेत्रमा लगानी बढाउनुका साथै खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिनुपर्छ भन्छिन्, पलेशा । यसका साथै नेपालमै प्रशस्त तालिमका लागि सेवा–सुविधाको पनि जरुरत देख्छिन् । ‘हामीकहाँ क्लोज क्याम्प पनि छोटो समयका लागि हुन्छ,’ खेल क्षेत्रको गुणस्तर बढाउन उनका केही सुझाव छन्, ‘जबकि अन्य देशमा लामो समयदेखि क्लोज क्याम्प राखेर, खेलाडीलाई विविध सेवा–सुविधा दिएर शतप्रतिशत तालिममा केन्द्रित गराइन्छ । हामीअन्तर्राष्ट्रिय स्पर्धामा तिनैसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । त्यसैले राज्यले हामी खेलाडीलाई प्रेरित गर्नेमा पहल गर्नुपर्छ ।’
युवालाई सन्देश
उनका अनुसार युवाहरू यतिबेला के गरौं, कसो गरौं वा नगरौं भन्ने अलमलमा छन् । यस्तो अवस्थामा युवाले जोखिम मोलेरै भए पनि आफूले रोजेको क्षेत्रमा कत्ति विचलित नभई अघि बढ्नुपर्ने उनको सुझाव छ । ‘निर्णय बनाउन भन्दा बनाएको निर्णय कार्यान्वयन गर्न अर्थात् सोही निर्णयानुसार चल्न गाह्रो हुन्छ,’ उनी भन्छिन्, ‘धेरै पटक फेल भइएला तर हार मान्नु हुँदैन । निरन्तरता दिइरहनुपर्छ, एकदिन सफल भइन्छ ।’
फुर्सदसँगै रुचि
फुर्सदमा पलेशालाई घरमै परिवारसँग बस्न मनपर्छ । रुम सजाउनु, पेन्टिङ गर्नुर् उनका रुचिका क्षेत्र हुन् ।


पहिरन : पलेशा गोवर्धन
हेयर : मलिना शाक्य
मेकअप : मुस्कान गोयल
लोकेसन : होटल बाराही, त्रिदेवीसडक, ठमेल, काठमाडौं
तस्बिर : महेशमान प्रधान

 Image