आमा कुन्ती र बुवा शिलाबहादुर मोक्तानले सुबानीका कलिला हातमा एक दिन गितार र पियानो थमाइदिए । तिनै बाजा उनका बाल्यकालका खेलौना बने । त्यसैमा अभ्यस्त हुँदै गइन्, रमाउन थालिन्, तिनैलाई प्रेम र सम्मान दिइन् ।
‘हात नि मेरा हात होइनन्, कलम नभए... यही गीत हो, हिजै गाएजस्तो लाग्छ,’ उनले करिब २० वर्षअघिको बाल्यकाल सम्झिइन्, जतिबेला यही गीत गाएर बालगीत प्रतियोगितामा प्रथम भएकी थिइन् । परिवारको सांगीतिक वातावरणमा रमाइरहेकी उनलाई यो पुरस्कारले अझ हौसला दियो । ‘म त यसैका लागि जन्मिएकी रहेछु भन्ने उतिबेलै लाग्न थाल्यो,’ भन्छिन्, ‘अनि त संगीतप्रति अझै दृढ र लगनशील भएर लागिरहेँ ।’
परीक्षणका क्षण
चार्टर्ड एकाउन्टेन्ट (सीए) को इन्टर मिडिएटसम्म पढेकी सुबानीलाई अन्तिम वर्ष इन्टर्नसिपमा जानुपर्ने भयो । ९ देखि ५ बजेसम्म अफिसमा बस्नुपर्ने भएपछि ‘मबाट यो हुनै सक्दैन’ भनेर छाडिदिइन् । त्यसपछि कलानिधि संगीत विद्यालय भारतबाट संगीतमा स्नातक गरिन् । संगीतमार्फत नाम कमाउने, दाम कमाउन चाहिँ सफल उद्यमी बन्ने सोच बनाएर लागिन्, एमबीए अध्ययनतिर ।
एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट एमबीए पूरा पनि भयो तर उद्यमी हुन सजिलो थिएन । त्यसपछि उनलाई लाग्न थाल्यो–मैले बाल्यकालदेखि नै जानेको, सिकेको संगीत पो हो त? त्यसपछि उनलाई त्यही संगीतको सुरले तान्यो । ‘अब त संगीतमा यसरी डुबिसकेकी रहेछु कि, यहाँबाट निस्किनै सक्दिन,’ संगीतप्रतिको रुचि र प्रतिबद्धताबारे उनले भनिन्, ‘जीवन यसैमा समर्पित गर्नेछु ।’ सुभानीका प्रायः गीत आफ्नै शब्द, संगीत र वाद्यवादनद्वारा सिँगारिएका हुन्छन् ।
डिजिटलले सहज
सुबानीका गीत युवापुस्तामाझ निकै लोकप्रिय छन् । करिब तीन वर्षदेखि उनी युट्युब च्यानल ‘सुबानी मोक्तान’ मा सक्रिय छिन् । उनलाई चर्चाको शिखरमै पुर्याउने अर्को सेतु यही डिजिटल प्लेटफर्म बनेको छ । उनका अनुसार अघिल्ला पुस्तालाई भन्दा अहिलेकालाई संगीतमा छिट्टै लोकप्रिय हुन यसले सहज बनाएको छ । समय, शक्ति र पैसाको बचत गराएको छ । झन्डै एक लाख फलोअर्स भएको आफ्नो युट्युब च्यानलका साथै सुबानी स्पोर्टीफाई, टिकटक, इन्स्टा जताततै छाइरहेकी हुन्छिन् । छोटो अवधिमै त्यति धेरै फलोअर्स हुनुलाई उनले ‘डिजिटल प्लेटफर्म’ ले प्रदान गरेको उपहार सम्झिएकी छिन् । ‘यसले गर्दा एउटा गीत चल्यो भने मजस्तो मान्छेलाई पुग्छ,’ उनी भन्छिन्, ‘देशदेखि विदेशसम्म डिमान्ड हुन्छ ।’
१ सय ५० भन्दा बढी गीत गाइसकेकी उनले देश–विदेशका स्टेज तताइसकेकी छिन् । अहिले उनी ‘नाच नाच ए क्यानाम’ बोलको तामाङ सेलोमा फर्किएकी छिन् । भन्छिन्, ‘फेरि एकपटक आफ्नो भाषा र संस्कृतिमा योगदान गर्न मन लाग्यो ।’
सशक्तीकरणका लागि
शिक्षा: आफूले आफैंलाई एक्सप्लोर र एक्सपोजर गर्ने, सही र असल कर्ममा लाग्ने ।
महिलाको खुसीः परिवारमा ।
पछिल्लो पुस्तालाई चुनौती:अवसरै–अवसर छ । अहिले आफ्नै हातमा संसार छ, सूचना छ, सबै कुरा छ । हरेकले आफैं गर्न सक्छन् ।
युवालाई सुझाव: मैले डेढ सय गीत गाएँ, मुस्किलले ५ वटा हिट भएका छन् । सजिलो र सफल पाटो मात्र नहेरी, त्यसभित्रको दुःख र चुनौती मोल्न पनि तयार रहनुपर्छ ।
नेपाली संगीतको स्थान: मार्केट सानो भए पनि स्तरका हिसाबले हामी माथि नै छौं ।
विवाहपछि कलाकारको जीवन: स्वतन्त्रपूर्वक अगाडि बढिरहेकी छु । आफैंभित्रको दृढ इच्छाशक्ति, रुचि र क्षमतामा भर पर्छ ।
संगीतः मेरा लागि मै संगीत हो, मेरो जीवन नै गीत हो ।
योजनाः जीवनभर संगीतकै नयाँ सिर्जनामा समर्पित हुने ।
पहिरनः सोनाम सुब्बा लिम्बू ।
हेयरः रमा सिंखडा ।
मेकअपः जुलेखा खान (ब्युटी होम बाई जुलेखा, गैरीधारा) ।
ज्वेलरीः जवाहारात ज्वेलरी गैरीधारा र रुकुज कलेक्सन ।
लोकेसनः पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठ ।
तस्बिरहरूः महेशमान प्रधान ।