Successfully Copied

जाडोमा छालाको स्याहार

जाडो मौसम सुरु भइसकेको छ । यो मौसममा छालामा विभिन्न समस्या देखिन सक्छन् । खासगरी छाला सुख्खा र रुखो हुन्छ । सुख्खा छाला भएपछि चिलाउँछ । चाउरीपनाको समस्या पनि बढ्न सक्छ ।

जाडो मौसम सुरु भइसकेको छ । यो मौसममा छालामा विभिन्न समस्या देखिन सक्छन् । खासगरी छाला सुख्खा र रुखो हुन्छ । सुख्खा छाला भएपछि चिलाउँछ । चाउरीपनाको समस्या पनि बढ्न सक्छ । त्यतिमात्र नभएर यो मौसममा छालामा ‘एक्जिमा’, ‘सोरायसिस’ लगायतका समस्या देखा पर्न सक्छन् । जाडोमा ‘हिटर’ र ‘ब्लोअर’ को प्रयोग गरिने भएकाले छाला प्रभावित हुन्छ । जाडोमा धेरै घाम तापिने भएकाले पनि छाला रुखो देखिन्छ । धूलो–धूवाँ, प्रदूषण र घामको किरणले गर्दा छालामा नकारात्मक असर पार्छ । छाला स्वस्थ राख्नका लागि हरेक दिन हेरचाह जरुरी हुन्छ । 

दैनिक स्किन केयर रुटिन बनाउने

जाडोमा छालाको चमक बनाइराख्न नियमित ‘स्किन केयर’ फलो गर्नुपर्छ । बिहान र सुत्नुअघि दिनको दुईपटक अनुहार धुनुपर्छ । ‘क्लिन्जिङ’ गर्दा ३–५ मिनेट अनुहार मसाज गरेर पखाल्नुपर्छ । साबुनको प्रयोग नगरेकै राम्रो हुन्छ । यसले छाला अझ सुख्खा बनाउँछ । अनुहार धेरै धुँदा पनि छाला सुख्खा हुन सक्छ । अनुहार धोइसकेपछि ‘टोनर’ लगाउनुपर्छ । धेरै ‘पोर्स’ खुल्ला भएमा ‘टोनर’ लगाउनैपर्छ । बिहान ‘मोस्चराइजर’ र राति‘नाइट क्रिम’ लगाउन बिर्सनु हुँदैन । दिउँसो लगाइने ‘क्रिम’ भन्दा ‘नाइट क्रिम’ बढी प्रभावकारी हुन्छ । 

दैनिक मोस्चराइजरको प्रयोग

गुणस्तरीय ‘मोस्चराइजर’ प्रयोग गर्नुपर्छ । यसको प्रयोग नियमित रूपमा गर्नुपर्छ । बिहान अनुहार सफा गरिसकेपछि ‘मोस्चराइजर’को प्रयोग गर्नुपर्छ । रातभर अनुहारमा तेल निस्कने भएकाले बिहान ‘फेसवास’ अनिवार्य गर्नुपर्छ । यसले छालाको छिद्र पनि सफा गर्छ जसकारण ‘क्रिम’ मज्जाले सोस्छ । यसले छालालाई ‘हाइड्रेट’ मात्र गर्दैन प्राकृतिक तेललाई पनि बनाइराख्छ । छालालाई ‘मोस्चराइज’ गर्नका लागि नरिवल वा जैतुनको तेल पनि प्रयोग गर्न सकिन्छ । 

‘सनस्क्रिन’को प्रयोग

कतिपयले जाडोमा ‘सनस्क्रिन’को प्रयोग आवश्यक ठान्दैनन् । जाडोमा पनि ‘सनस्क्रिन’ नियमित लगाउनुपर्छ । यसले घामको विकिरणबाट बचाउँछ । छालाको ‘न्युट्रिसन लेभल’ पनि सन्तुलित बनाउँछ । घामले छाला रुखो बनाउँछ । घरभित्र बस्दा पनि तीन घण्टाको फरकमा ‘सनस्क्रिन’ लगाउन बिर्सनुहुँदैन । मोबाइलको उज्यालोले पनि अनुहारको छालामा नकारात्मक असर पारिरहेको हुन्छ । 

‘स्क्रब’ 

साताको एक पटक ‘स्क्रब’ गर्नुपर्छ । त्यसपछि प्याक लगाउनुपर्छ । यसले छालामा भएका मृतकोशिकाहरू हटाएर छाला सफा र स्वस्थ बनाउँछ । ‘स्क्रब’ गर्दा हल्का हातले मसाज गर्नुपर्छ । ‘स्क्रब’ घरमा बनाएर पनि प्रयोग गर्न सकिन्छ । 

महिनाको एकपटक फेसियल

जाडो महिनामा अर्ग्यानिक फेसियल गराउँदा राम्रो हुन्छ । जसले छालालाई प्राकृतिक चमक दिनुका साथै छालाको ‘पिएच लेभल’लाई मेन्टेन गर्छ । अर्ग्यानिक फेसियल नेपालमै पहिलो पटक यहाँ लन्च गरिएको छ, जुन सय प्रतिशत प्राकृतिक हो । यो ‘पराविन फ्रि’ र भिटामिन सी युक्त फलफूल र सब्जीबाट तयार पारिएको हो । यसले सबै प्रकारको छालाको समस्या कम गर्छ । स्वस्थ छालाका लागि महिनाको एकपटक ‘फेसियल’ गर्नैपर्छ । 

तातोपानीबाट बच्ने

जाडोमा तातोपानीले नुहाउँदा मांसपेशीलाई राहत मिल्छ । तर नियमित तातोपानीको प्रयोग गर्दा छाला सुख्खा हुन्छ । त्यसैले मनतातो पानीको प्रयोग गर्दा फाइदा पुर्‍याउँछ । यसले छालाको प्राकृतिक तेल कायम रहन्छ र छालाको निखार उस्तै रहन्छ । 

प्रशस्त पानी पिउने

जाडो मौसममा कम पानी कम पिउँदा   ‘डिहाइड्रेसन’को समस्या निम्त्याउँछ । शरीरमा पानीको मात्रा कम भएपछि छाला सुख्खा हुन्छ । त्यसैले जाडोमा छालाको चमक कायम राख्नका लागि प्रशस्तमात्रामा पानी पिउनुपर्छ । 

स्वस्थ खाना खाने

 जाडोमा छाला सुख्खा हुने भएकाले यतिबेला छालाको चमक बनाइराख्नका लागि स्वस्थ खाना खानुपर्छ । स्ट्रबेरी, ब्लुबेरी, सुन्तला, अमला आदि फलले अनुहारमा निखार ल्याउँछन् । साथै यी फलफूलमा प्रशस्त पानीको मात्रा पाइने भएकाले छालामा पोषक तत्व पनि मिल्छ । खानामा ओमेगा–३ फ्याटी एसिड समावेश गर्नुपर्छ । यसले छाला स्वस्थ बनाउँछ । 

रूपा शाक्य 

(शाक्य हेयर एण्ड शान्तिकी ब्युटिसियन हुन् ) 

 Image