जाडो मौसममा चायाँले धेरै सताउँछ । टाउकाको छाला सुख्खा हुनु र चायाँ पर्नु भनेको केशलाई सही पोषण नपुग्नु हो । यसले केशमा चायाँमात्र पर्दैन झर्ने समस्या पनि हुन्छ । राम्रोसँग केशको सरसफाइ नहुँदा, पोषणको कमी हुँदा र केशमा तेल नलगाउँदा पनि चायाँ पर्न सक्छ । धेरै पसिना आउनु पनि चायाँको कारण हुन सक्छ । धेरै तनावले पनि केशमा चायाँ आउँछ । पानी कम पिउनु र भोजनमा पौष्टिक तत्वको कमी हुनु चायाँको प्रमुख कारण हो ।
चायाँ आउनु आम समस्या हो । विश्वमा दुईमध्ये एकजनामा यो समस्या भएको पाइन्छ । चायाँ परेको टाउकोमा चिलाउन थाल्यो भने फंगसको संक्रमण हुन सक्छ । छाला रोग विशेषज्ञ डा.रूपक घिमिरेका अनुसार चायाँ पर्नु भनेको फंगसको संक्रमण हुनु हो । यसलाई मेडिकल भाषामा ‘सिभोरिया’ भनिन्छ । ‘जब टाउकोमा सिबम पैदा गर्ने सिवोसियस ग्रन्थि अधिक सक्रिय हुन्छन् अनि चायाँ पर्न थाल्छ’ उनले भने, ‘सिबमले छालालाई नरम र ओसिलो बनाइराख्छ ।’ चायाँ त्यतिबेला आउँछ, जतिबेला यो ग्रन्थिले बढी सिबम पैदा गर्नुका साथै फंगस बढ्छ । यो फंगसमा चिल्लोपन हुने भएकाले जाडोमा जम्छ । त्यसैले यतिबेला चायाँ अन्य मौसममा भन्दा बढी हुने उनको भनाइ छ ।
कुन अवस्थामा ?
चायाँ प्रायःजसो किशोरावस्थामा प्रवेश गरेसँगै आउन थाल्छ । यतिबेला हर्मोनमा परिवर्तन आउँछ । ‘मलासेजिया ग्लोबोसा’ ले कीटाणुलाई फैलाउन टाउकोमा बढी तेल उत्पादन गर्न थाल्छ । यो कीटाणु तनावको समयमा हर्मोन परिवर्तन हुँदा पनि पैदा हुन्छ ।
कारण के हो ?
डा. रूपकका अनुसार चायाँ ‘मलासेजियाग्लोबोसा’ नामक फंगसको कारणले हुन्छ । यसको मात्रा बढ्दा चायाँ पर्ने सम्भावना पनि बढ्छ । यसले धेरैजसोलाई एलर्जी हुन्छ र केश झर्न थाल्छ । त्यस्तै, केशलाई नियमित रूपमा सफा नगर्दा ‘स्कल्प’ मा मृतकोशिका, धूलो र प्रदूषणका कारण फोहोर जम्मा हुन्छ र ‘फंगस इन्फेक्सन’ हुने खतरा बढ्छ । यिनै विभिन्न कारणले चायाँ पर्छ ।
तातोपानीको प्रयोग
जाडो महिनामा नुहाउँदा धेरैले तातोपानीको प्रयोग गर्छन् । तातोपानीले टाउकाको छाला सुख्खा बनाउँछ । त्यसपछि चायाँ पर्न थाल्छ । त्यसका अतिरिक्त जाडोमा टोपी वा स्कार्फको प्रयोग गर्नाले टाउकोमा पर्याप्त मात्रामा हावा पुग्दैन र चायाँ पर्छ ।
‘हार्ड स्याम्पु’को धेरै प्रयोग
‘हार्ड स्याम्पु’ पनि चायाँको कारण बन्न सक्छ । रसायन भएको स्याम्पुले चायाँ पर्छ । त्यसैले ‘माइल्ड स्याम्पु’को प्रयोग गर्दा राम्रो हुन्छ ।
चिल्लो केश
प्रायःजसो चिल्लो केशमा चायाँको समस्या अन्य केशको तुलनामा दोब्बर हुन्छ । टाउकोमा भएको तेलले चिपचिप हुन्छ र केशमा फोहोर जम्छ । फोहोर केशमा चायाँ पर्ने सम्भावना बढी हुन्छ भने फोहोरले केश टुक्रन्छ । धेरै चिल्लो–पिरो खाँदा केश चिल्लो हुन्छ र केशमा चायाँ पर्न सक्छ ।
थाइराइड
थाइराइडको समस्या भएकाहरूलाई चायाँले बढी सताउँछ । थाइराइडले छाला रुखो बनाउँछ र केश टुक्रिएर झर्न थाल्छ । छाला रुखो हुँदा चायाँले छिट्टै आक्रमण गर्छ ।
कसरी हटाउने ?
डा.रूपकका अनुसार वर्षामा भेल आएर खोला बन्द भयो भने बन्द खुलाउनुपर्यो कि त नियमित रूपमा सफा गर्नुपर्यो । त्यस्तै, केशमा चायाँ पर्यो भने जम्मा भएको सिबम सफा गर्नुपर्छ । त्यसका लागि ‘एन्टी डेन्ड्रफ’ स्याम्पु प्रयोग गर्नुपर्ने हुन्छ । तर, स्याम्पु सही तरिकाले प्रयोग गर्नुपर्छ । चायाँ परेको केशमा स्याम्पु लगाउँदा जरामा मात्र लगाएर १० देखि १५ मिनेटसम्म त्यसै छाडिदिनुपर्छ र पानीले पखालिदिनुपर्छ । जाडो महिनामा सातामा दुई–तीन पटक नुहाउनुपर्छ । गर्मी महिनामा सातामा एकपटक नुहाए पनि पुग्छ ।
केशमा केमिकलयुक्त स्याम्पुको प्रयोग धेरै गर्दा केश रुखो हुने र झर्ने समस्या आउँछ । त्यसका साथै आँखा, नाक र कान वरिपरि चिलाउँछ, पोल्छ र र्यासेज आउन सक्छ । त्यसैले चायाँ परेमा रसायन भएको ‘एन्टी डेन्ड्रफ स्याम्पु’ प्रयोग गर्नुभन्दा चिकित्सकको सल्लाहबमोजिम उपचार गर्नुपर्छ ।