मेकअपबिनै चिटिक्क
कोभिड–१९ का कारण सबैजना घरमा कैद भए । लकडाउनमा घर बाहिर निस्कने कुरै भएन । यस्तो अवस्थामा न ब्युटिपार्लर धाउने समय मिल्यो, न त सौन्दर्य प्रसाधन सहजै उपलब्ध भए ।
गर्मी मौसममा छालामा धेरै प्रकारको समस्या देखा पर्छ । यो मौसममा छाला सबैभन्दा बढी प्रभावित हुन्छ । त्यसैले छालाको विशेष हेरचाह गर्नु जरुरी छ । चर्को घाम, पसिना र धूवाँ–धूलोको कारण सनवर्न मात्र हुँदैन भाइरल संक्रमण हुने खतरा पनि उत्तिकै रहन्छ । कसै–कसैको छालामा एलर्जीका कारण जलन हुने र रातो दाना आउन सक्छ ।
मेकअप आर्टिस्ट विनीता शाह गर्मीमा अनुहारको छालाको चमक कम हुने बताउँछिन् । यसको मुख्य कारण कडा घाम, गर्मी, हावा र हाम्रो जीवनशैली हो । उनी भन्छिन्, ‘हामीले कस्तो खाना खान्छौं, कस्तो जीवनशैली अपनाउँछौं त्यो हाम्रो अनुहारको छालामा झल्कन्छ ।’ शरीरलाई चाहिने मात्रामा पानीको सेवन नगर्ने, अधिक जंकफुडको सेवन, छालाको नियमित हेरचाह नगर्नुले हाम्रो छालाको प्राकृतिक चमक हराएर जान्छ । काठमाडौं बानेश्वरकी रीमा केसीको गालामा गर्मी महिनासुरु भयो कि सेतो, फुस्रो धब्बा देखा पर्छ । उनको जस्तो समस्या यो मौसममा धेरैलाई हुन्छ ।
त्यसैले छालाको नियमित हेरचाह गर्न जरुरी हुन्छ । हाम्रो शरीरमा छालाको कोष बन्ने र मर्ने प्रक्रिया नियमित चलिरहन्छ । यी मृत छाला हटाउन आवश्यक छ । यसो गरेमा मात्र स्वस्थ छाला देखिन्छ र छालाले स्वच्छ हावा लिन पाउँछ । अनि छालाको अझ चमक बढेर आउँछ । छालाको प्राकृतिक चमक कायम राख्ने मेकअप आर्टिस्ट विनीता शाहको सुझाव–
दैनिक स्याहार
- दिनहुँ अनुहारको क्लिन्जिङ गर्नुपर्छ । यसका लागि गुणस्तरीय क्रिम प्रयोग गर्नुपर्छ । काँचो दूधले पनि क्लिन्जिङ गर्न सकिन्छ ।
- क्लिन्जिङ गरिसकेपछि छालामा टोनर लगाउन बिर्सनुहुँदैन । भिटामिन ‘सी’ सिरम पनि लगाउन सकिन्छ ।
- छालामा टोनर लगाइसकेपछि मोस्चराइजर अनिवार्य लगाउनुपर्छ । मोस्चराइजर आफ्नो छालाको प्रकृतिअनुसार छनोट गर्नुपर्छ ।
- जाडो होस् वा गर्मी जुनसुकै मौसममा सनस्क्रिन क्रिम लगाउनुपर्छ । सनस्क्रिन एसपिएफ–५० को लगाउनुपर्छ ।
राति गरिने स्याहार
- दिनभर गरेको मेकअप हटाउन मेकअप रिमुभरको प्रयोग गर्नुपर्छ ।
- राति सुत्नुअघि पनि अनुहारमा क्लिन्जिङ गर्नुपर्छ ।
- त्यसपछि टोनर, भिटामिन ‘ई’ सिरम लगाउनुपर्छ । मोस्चराइजर लगाएपछि नाइट क्रिम र आई क्रिम लगाउनुपर्छ ।
साप्ताहिक छालाको हेरचाह
(साँझको समय)
- साताको एकपटक डिप क्लिन्जिङ गर्नुपर्छ । त्यसपछि ५–१० मिनेट स्क्रब गर्ने । पिल अफ मास्कको प्रयोग गर्ने र फेसप्याक लगाएर १५ मिनेटजति सुक्नका लागि छोडिदिनुपर्छ । आँखाको मुनि हाइड्रेटिङ मास्क (पेपर सिट मास्क) लगाउने । यो माक्स हरेक तीन दिनको अन्तरालमा लगाउन सकिन्छ ।
- त्यसपछि भिटामिन ‘ई’ सिरम लगाउने र अन्त्यमा मोस्चराइजर लगाउनुपर्छ ।
मासिक छालाको हेरचाह
- महिनाको एकपटक फेसियल गराउनुपर्छ । फेसियल गर्दा गुणस्तरीय फेसियल कीटको प्रयोग गर्नुपर्छ ।