Successfully Copied

सुन्दरताका लागि गोल्ड फेसियल

छालाको प्रकृतिअनुसार पनि फेसियल किट पाइन्छ । तर, गोल्ड फेसियल जुनसुकै छालाका लागि पनि उपयोगी मानिन्छ । प्राचीन कालमा रानी क्लियोपेट्राको छालामा निखारका लागि सुनको प्रयोग गरिएको पढ्न पाइन्छ ।

रश्मि श्रेष्ठ

मेकअप आर्टिस्ट

नियमित धूवाँ–धूलोमा निस्कँदा अनुहारको छाला ‘डल’ देखिन्छ । यस्तोमा छालाको उचित हेरचाह आवश्यक हुन्छ । हेरचाहको एउटा उपाय फेसियल हो । अनुहारको छाला तरोताजा बनाउन र अनुहारको सफाइका लागि फेसियल गर्नुपर्छ । धूवाँ–धूलो, दूषित हावा वा वायु प्रदूषणका कारण छालाको रोमछिद्र बन्द हुन्छ, जसलाई खोल्ने काम फेसियलले गर्छ ।

सामान्यतया नियमित रूपमा फेसियलले छालालाई पोषकतत्व पुर्‍याउँदै विकारबाट बचाउँछ । फेसियल गर्न विभिन्न प्रकारका हर्बल, फ्रुट्स पाइन्छन् । तीमध्ये एक हो, गोल्ड फेसियल । छालाको प्रकृतिअनुसार पनि फेसियल किट पाइन्छ । तर, गोल्ड फेसियल जुनसुकै छालाका लागि पनि उपयोगी मानिन्छ । प्राचीन कालमा रानी क्लियोपेट्राको छालामा निखारका लागि सुनको प्रयोग गरिएको पढ्न पाइन्छ । उनले आफ्नो सुन्दरता कायम राख्न सुत्ने बेला सुनको माक्स लगाउँथिन् ।

गोल्ड फेसियल अरु किटभन्दा तुलनात्मक रूपमा महँगो पर्छ । अनुहारको फोहोरमैला हटाएर छालामा चमक बढाउन गोल्ड फेसियल महिलाहरूको पहिलो रोजाइमा पर्ने गरेको छ ।

गोल्ड फेसियलको फाइदा

गोल्ड फेसियल अनुहारको चमक बढाउनका लागि गरिन्छ । प्रायः दुलहीहरूमा यो फेसियल गरिन्छ । यसले दुलहीको सुन्दरता झनै निखार्छ । तुरुन्तै प्रतिक्रियाका लागि यो फेसियल उपयुक्त हुन्छ । पार्टीमा जाँदा वा कुनै इभेन्टमा जानुपरेमा गोल्ड फेसियल गरिन्छ । समग्रमा फेसियल छाला कसिलो बनाउन र अनुहारको चमक बढाउनका लागि गरिन्छ । तर, गोल्ड फेसियल एन्टी–एजिङका लागि उपयोगी मानिन्छ । खासमा सुन यस्तो धातु हो, जसले विष उन्मूलन गर्न सहयोगी भूमिका खेल्छ । साथै यसले नयाँ कोशिकाहरू विकसित गरी छाला कस्ने काम गर्छ । यसले लामो समयसम्म छालालाई जवान राख्न पनि मद्दत गर्छ । गोल्डको अर्को महत्वपूर्ण काम भनेको घामको कारणले डढेको वा बिग्रिएको छालालाई पुनः निर्माण गर्छ । अनुहारमा मसाज गर्दा रक्त सञ्चार हुन्छ ।

यी कुरामा ध्यान दिनुपर्छ

घरमै फेसियल गर्नका लागि राम्रो ब्रान्डको सौन्दर्य सामग्री छनोट गर्नुपर्छ । साथै छालाको प्रकृतिअनुरूप किट प्रयोग गर्नुपर्छ । सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ । फेसियल गर्दा प्रयोग गरिने पानी, भाँडा र टाबेल सफा हुनु जरुरी हुन्छ । हात साबुनपानीले धुनुपर्छ । फेसियल गर्दागर्दै अरु वस्तु छुनु वा प्रयोग गर्नुहुँदैन । फेसियल गर्ने ठाउँमा शान्त वातावरण हुनुपर्छ । सानो आवाजमा म्युजिक बजाउन सकिन्छ । किनभने फेसियल गर्दा शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा शान्त हुनु जरुरी हुन्छ । घरमा आफैं फेसियल गर्दै हुनुहुन्छ भने सर्कुलर मोसनमा मसाज गर्दा हुन्छ ।

कहिले र कति समयको फरकमा गर्ने ?

फेसियल कति दिनको अन्तरालमा गर्नुपर्छ भन्ने कुरा उमेर, छालाको प्रकार, प्रदूषणसँगको सम्पर्क, मेकअपको प्रयोग आदिमा निर्भर रहन्छ । सामान्य प्रकारको छाला छ, डन्डिफोरको समस्या नभए दुई महिनामा एक पटक गर्दा राम्रो हुन्छ । छाला चिल्लो तथा डन्डिफोरको समस्या छ भने महिनाको एकपटक गर्नुपर्छ ।

किशोरावस्थामा पुगेका हरेक युवतीले फेसियल गर्न मिले पनि २० वर्ष उमेर कटेपछि सबैले गर्नुपर्छ । १८ देखि २५ वर्षसम्मका युवतीले दुई वा अढाई महिनाको फरकमा गर्न सकिन्छ । ३० वर्ष कटेकाले एन्टी–एजिङ फेसियल हरेक महिना गराउनैपर्छ । धेरै प्रदूषणको सम्पर्कमा रहने महिलाले तीन सातामा गर्न सक्छन् । धेरै पटक फेसियल गर्दा छालालाई असर गर्न सक्छ । गोल्ड फेसियल भने विशेष अवसरमा गर्न सकिन्छ ।

फेसियलको साइड इफेक्ट

सबैलाई सबै प्रकारको प्रोडक्ट नमिल्न सक्छ । संवेदनशील छालामा फेसियल गरिसकेपछि एलर्जी हुन सक्छ । त्यसैले सही प्रोडक्टको प्रयोग गर्नु जरुरी हुन्छ । धेरै फेसियल गर्दा छालाको ‘पिएच ब्यालेन्स’ बिग्रन सक्छ, जसकारण छालामा धेरै प्रकारको समस्या निम्तिन सक्ने खतरा बढ्छ । मसाज गर्ने प्रक्रिया मिलेन वा छोटो समयको अन्तरालमा फेसियल गर्नाले छालाको प्राकृतिक चमक हराउन सक्छ । साथै छाला रातो हुने, पोल्ने र छालाको इन्फेक्सन हुन सक्छ । फेसियल गर्दा रोमछिद्र खुल्छ, त्यसैले चिल्लो छाला भएकालाई डन्डिफोर आउने खतरा हुन सक्छ ।

 Image