जाडोमा छालाको हेरचाह
धेरैले गर्मी महिनामा लगाउने स्किनकेयर उत्पादन जाडोमा पनि निरन्तर लगाउँछन्, जुन गलत हो । यसो गर्दा छालाको प्राकृतिक तेल नष्ट हुन्छ, जुन छालाका लागि आवश्यक हुन्छ ।

सुन्दर हुने इच्छा कसलाई हुँदैन र ? बढ्दै जाने उमेर, घामका किरणसँगको प्रत्यक्ष सम्पर्क, धूलो–धूवाँ, दुर्घटनामा लागेको घाउ, शरीरमा हर्मोनको गडबडीका कारणले अनुहार वा शरीरका विभिन्न ठाउँमा दागहरू देखिन्छन् । छालामा आउने दागमा चायाँ र पोतो साझा समस्या हुन् । यससँगै शरीरमा आउने अनावश्यक रौं पनि एक हो । कुनै पनि दाग शरीरमा देखिएको केही समयमा आफै जान्छ तर केही दाग भने जीवनभर रहन्छ । छालाको आवरणमा आउने यो दाग खासै समस्या नभए पनि सुन्दरता आत्मविश्वाससँग जोडिएको विषय हो । अहिले प्रविधिको विकाससँगै धेरै कुराको सुविधा भएको छ । छालामा आएका यस्ता दागलाई अस्थायी र स्थायी रूपमा हटाउने प्रविधि छन्, त्यसमध्येको एक लेजर पनि हो ।
लेजर के हो ?
लेजर विकिरणको माध्यमले उपचार गर्ने पद्धति हो । यसमा इलोक्ट्रोम्याग्नेटिक रेडियसनको प्रयोग हुन्छ । विद्युतीय माध्यमबाट परावैजनी किरण निकाली अनुहार वा छालामा आएको चायाँ, पोतो, जन्मजात कोठी, ट्याटु आदि हटाउन सकिन्छ । कुनै पेसा तथा व्यवसायको फ्रन्ट लाइनमा बसेर काम गर्नुपर्ने व्यक्तिको अनुहारमा चायाँ–पोतो आयो, अनुहारमा चाउरी पर्यो, ठूला–ठूला कोठी आए भने उसले काम नै गुमाउनुपर्ने परिस्थिति आउन सक्छ ।
हामीकहाँ उपचारका लागि आउने कतिपयले अनुहारमा आएको दाग, पेटमा देखिएको स्ट्रेचमार्क, केश झरेको कारणले व्यावसायिक जीवनमा विभिन्न कठिनाइ भोग्नुपरेको गुनासो गर्छन् । मार्केटिङमा हिँड्नुपर्ने युवा ‘केश झरेर तालु हुन लागियो, काममा समस्या हुन्छ’ भन्दै उपचारका लागि आउने गरेका छन् । आफ्नो रूप र सौन्दर्यलाई मेन्टेन गरिराख्न अहिले विभिन्न उपचार सेवा उपलब्ध भएकाले यसको उपयोग गर्न सक्दा आफूलाई सुन्दर र स्मार्ट राख्न सकिन्छ ।
छालामा आउने दाग मात्र होइन, शरीरमा भएका अनावश्यक रौंलाई हटाउन पनि यो प्रविधिको प्रयोग गरिन्छ । आँखीभौं, काखीमुनिका रौं, यौनाङ्गमा हुने रौं, केशलाई सामान्य मान्न सकिन्छ तर महिलाका दारी–जुंगा पलाउनु, पुरुषको छातीमा अत्यधिक रौं आउनु, आँखीभौं जोडिने गरी रौं आउनुलाई अनावश्यक रौं आउनु भनिन्छ । यस्ता अनावश्यक रौंलाई शरीरमा कुनै चोट नपुर्याई सेलेक्टिभ टस्यु थर्मोलाइसिस प्रक्रियाबाट निकाल्नु नै हेयर रिमुबल लेजर थेरापी हो । लेजर प्रविधि सन् १९६० बाट सुरु भए पनि नेपालमा २००४ तिर मात्र प्रयोगमा आएको हो ।
लेजरका प्रकार
१) एब्लेटिभ लेजर
२) नन् एब्लेटिभ लेजर
एब्लेटिभ भन्नाले शरीरमा घाउ बनाएर गरिने लेजर हो भने नन् एब्लेटिभ भनेको कतै पनि कुनै चोट नपुर्याई लाइट पास गरी गरिने प्रकिया हो । लेजरको विभिन्न क्षेत्रमा प्रयोग गर्न सकिन्छ । मेडिकल क्षेत्रमा विभिन्न शल्यक्रिया, विभिन्न रोगको उपचार गर्न तथा शारीरिक सुन्दरताका लागि लेजर गर्न थालिएको छ । पहिले औषधि खाएर वा लगाएर पूर्णरूपमा निको पार्न नसक्ने दाग लेजरको माध्यमले सजिलोसँग नदुख्ने गरी निकाल्न सकिन्छ ।
लेजर गर्दा थाहा पाउनुपर्ने कुराहरू
शरीरमा मुसा, कोठी, चायाँ, पोतो, दाग, डन्डिफोर, जन्मदाग, ट्याटु, दुर्घटनाबाट लागेका चोटपटकका घाउहरूले मानिसमा आत्मविश्वासको कमी गराएका हुन्छन् । यसबाट मुक्ति पाउनका लागि विभिन्न उपायको खोजी गरिरहेका हुन्छन् । यसका लागि बजारमा थुप्रै लेजर मेसिन उपलब्ध छन् । इन्डियन, चाइनिज, कोरियन वा अन्य लेजर बजारमा आएका बेला उपभोक्ताले गुणस्तरीय लेजरको खोजी गर्नुपर्ने देखिन्छ । त्यसैले जहिले पनि लेजर गर्नेबारे सोच्दा कहाँ गर्ने, लेजर गर्ने ठाउँमा कस्ता चिकित्सक छन् ? लेजरको विषयमा राम्रो ज्ञान छ वा छैन भन्ने जानकारी प्राप्त गरेर मात्र लेजर गर्नुपर्छ । लेजर गर्दा छाला बिग्रिने हो कि, क्यान्सरजन्य रोग लाग्ने हो कि भन्ने चिन्ता हुन्छ । गुणस्तरीय लेजर गर्ने ठाउँ नभएको र चिकित्सकमा लेजरसम्बन्धी राम्रो ज्ञान नभएको खण्डमा छालामा समस्या देखिन सक्छ । चिकित्सकसँग परामर्श गरेर लेजर गर्दा राम्रो हुन्छ ।
कुन समस्यामा कुन लेजर गरिन्छ ?
लेजर विधि सबैभन्दा कम चोट लगाएर सजिलो तरिकाबाट उपचार गर्ने विधि हो । यसमा मिनिमल इन्भेजिभ सर्जरी गरिन्छ । बिरामीलाई बेहोस नबनाई जुन ठाउँमा समस्या भएको हो त्यही ठाउँको छालालाई मारेर टिस्यु निकालिन्छ । लेजर गर्दा कति शक्तिको कुन लेजर कुन टिस्यु फाल्न प्रयोग गर्दैछु भन्ने जानकारी हुनुपर्छ । शरीरमा रहेका अनावश्यक रौं निकाल्दा, कुनै दाग, कोठी, खत हटाउन विभिन्न प्रकारका लेजर प्रयोग गरिन्छ । कालो कोठी, शरीरमा पलाएको मुसा फाल्नका लागि कार्बनडाइअक्साइड
लेजरको प्रयोग गरिन्छ भने छालामा भएको
ट्याटु हटाउन एनडी याग लेजरको प्रयोग गरिन्छ । त्यस्तै विभिन्न ठाउँको समस्याका लागि विभिन्न प्रकारका लेजरको प्रयोग गरिन्छ । लेजर एकपटक मात्र गरेर दाग हट्दैन । त्यसैले दागको प्रकृति हरेर ४ देखि ६ पटकसम्म गर्नुपर्ने हुन्छ । थोरै दाग भएकाले कम र धेरै दाग हुनेले धेरै पटक गर्नुपर्ने हुन्छ । तर प्रत्येक पटक लेजर गर्दा सकारात्मक परिवर्तन देखिनु आवश्यक छ ।
चाउरीपनका लागि उपयुक्त बोटक्स
चाउरीपन हुनुका विभिन्न कारण हुन्छन् । एजिङ फ्याक्टरका कारण हुने चाउरीपन तथा छालाको स्याहार–सम्भारमा ध्यान नदिएर हुने चाउरीपनको छुट्टाछुट्टै उपचार गर्नुपर्ने हुन्छ । चाउरीपन हटाउन दुई थरी उपचार विधि अपनाइन्छ । बोटक्स इन्जेक्सन र लेजरका माध्यमबाट चाउरीपन हटाउन सकिन्छ । बोटक्स महँगो हुने र दीर्घकालीन पनि नहुने भएकाले लेजर गरेर चाउरीपन हटाउने गरिएको छ । कसैको अनुहारमा बोल्दा मात्र चाउरीपन देखिन्छ भने त्यो ‘डाइनामिक’ चाउरीपन हो । जतिबेला पनि देखिने चाउरीपनलाई ‘स्टाटिक’ चाउरीपन भनिन्छ ।