Successfully Copied

केशको हेरचाह

घाममा हिड्दा बस्दा केशलाई सलले छोप्नुपर्छ भने स्याम्पु प्रयोग गर्दा अलि बढी कन्डिसनर भएको तथा हल्का स्याम्पु प्रयोग गर्नुपर्छ । केशलाई स्वस्थ राख्न हप्तामा ३ पटकजति हर्बल तेलले हलुका मसाज गरी चिसो पानीले नुहाउनुपर्छ ।

प्रतिकुल मौसममा छालाका साथै केश पनि सुख्खा हुन्छ भने त्यसमा चायाँसमेत पर्छ जसले गर्दा केश टुक्रिने, हाँगा फाट्ने तथा झर्ने समस्या देखापर्छ । तातोपानीले नुहाउँदा केशको प्राकृतिक तेल सकिएर समस्या उत्पन्न हुन्छ । फलस्वरूप केश अझ बढी सुख्खा हुन पुग्छ । घाममा हिड्दा बस्दा केशलाई सलले छोप्नुपर्छ भने स्याम्पु प्रयोग गर्दा अलि बढी कन्डिसनर भएको तथा हल्का स्याम्पु प्रयोग गर्नुपर्छ ।

केशलाई स्वस्थ राख्न हप्तामा ३ पटकजति हर्बल तेलले हलुका मसाज गरी चिसो पानीले नुहाउनुपर्छ । जसले गर्दा टाउकाको रक्त संचारमा सहयोग पुग्नुका साथै केश मुलायम एवं चम्किलो हुन्छ । हप्ताको एकपटक घरमै हेयर प्याक लगाउनु उपयुक्त हुन्छ । फेसप्याकका लागि एबोकाडोको गुदी दुई चम्चा, एउटा अण्डा, नरिवलको तेल २–३ चम्चा, प्याजको रस २–३ चम्चाको मिश्रण केशको जरा तथा अन्य भागमा लगाई दुई घन्टाजति राखेर पखाल्ने ।

यसबाट केशको जरा बलियो हुनुका साथै केश छिटो बढ्छ भने केश झर्ने समस्यासमेत कम हुन्छ । यसबाट केशमा चमक आउँछ र केश मुलायम पनि हुन्छ । यसरी घरमै तयार गरिएको पेस्टबाट केशलाई चाहिने भिटामिन ए तथा ई उपलब्ध हुन्छ । केशलाई बलियो एवं चम्किलो बनाउन यो प्याक लगाइसकेपछि सफा नरम टाबेलले केशलाई छोपेर ५–७ मिनेटजति स्टिम दिए केशका रोम छिद्रहरू खुल्ला भै उक्त पोषण तत्व केशको जरासम्म पुग्छ । केशमा हेयर स्याम्पु पनि प्रयोग गर्न सकिन्छ । यसले केशलाई लट्टा पर्न तथा सूर्यको किरणबाट हुने असरबाट जोगाउँछ ।

केश नुहाइसकेपछि टाबेलले पुछेर हावामा आफै सुक्न दिनु उपयुक्त हुन्छ । सकेसम्म हेयर ड्रायर प्रयोग गर्नु हुँदैन । हेयर ड्रायरको तातो हावाले केशलाई सुख्खा बनाइदिन्छ । केशलाई चम्किलो तथा सीधा बनाउन हर्बल मेहन्दी प्रयोग गर्न सकिन्छ । केशलाई कहिल्यै कसिलो गरी बाँध्नुहुँदैन । यसरी बाँध्दा केशको जरा तन्किएर कमजोर हुन्छ अनि झर्न थाल्छ । केश कोर्दा हलुका हातले कोर्ने अनि ठूलो दाँत भएको काइँयो प्रयोग गर्दा केश बिग्रन पाउँदैन ।

                                   महेक ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर, कात्यायनी चोक, बानेश्वर

 Image