Successfully Copied

धरानमा फस्टाउँदो पार्लर व्यवसाय

सुन्दर वस्तुलाई नै सबैले हेर्छन् । हरेकको आँखा सुन्दर वस्तुमा पर्छ ।

सुन्दर वस्तुलाई नै सबैले हेर्छन् । हरेकको आँखा सुन्दर वस्तुमा पर्छ । त्यसमा पनि नारीले यसलाई पहिलो प्राथमिकता दिन्छन् । महिलाहरू आफूमा भएको सुन्दरतालाई निखारेर अझ सुन्दर बन्न चाहन्छन् । यसलाई फस्टाउँदै गएको पार्लर व्यवसायले पनि स्पष्ट गर्छ । यो व्यवसायमा लागेर धरानमा करिब ५ सय महिलाले जीविकोपार्जन गरिरहेका छन् । तीमध्ये कसैले यसलाई व्यवसायका रूपमा लिएका छन् भने कसैका लागि यो रुचिको विषय बनेको छ । धरानमा अहिले ७० वटा पार्लर छन्् । तीमध्ये ४५ वटा पार्लर धरान नगरपालिकामा दर्ता भएका छन् । 

२०६२ सालमा नेपाल ब्युटिपार्लर एसोसिएसन नामक संस्था दर्ता भएको छ । यो ब्युटिपार्लरहरूको छाता संगठन हो । यसले धरानमा सम्पूर्ण पार्लर व्यवसायीलाई एकजुट बनाएको छ । यसमा ५५ जना सदस्य छन् । एसोसिएसनकी अध्यक्ष पूर्वाञ्चलकै प्रथम पार्लर व्यवसायी श्रीमती रञ्जना केसी हुन् । केसी २०३८ सालदेखि नै यो व्यवसायमा संलग्न छिन् । केसी भन्छिन्, ‘मैले यो व्यवसायको भविष्य राम्रो देखेकी थिएँ । आज त्यो सोच पूरा भएको छ ।’

जमानाअनुसार चल्ने मानिस नै माथि जाने भएकाले यो व्यवसायलाई पनि समयअनुसार परिवर्तन गर्दै जानुपर्ने केसीको धारणा छ । उनको अप्सरा ब्युटिपार्लरबाट खर्च कटाएर मासिक २० हजार आम्दानी हुन्छ । सरल ढंगले जीविकोपार्जन गर्न सकिने भएकाले महिलाहरू यो व्यवसायमा लाग्नुपर्ने उनको तर्क छ । यद्यपि ब्युटिपार्लर खोल्नेहरू यसमा दक्ष हुनुपर्ने केसी बताउँछिन् । 

भारती लिम्बू, धरान ब्युटिपार्लरकी सञ्चालिका हुन् । उनी एसोसिएसनकी उपाध्यक्ष हुन् । उनले आफ्नो पार्लरमा ३ जना महिलालाई रोजगारी दिएकी छिन् । २१ जना महिलाले त्यही ब्युटिपार्लरबाट व्यावसायिक तालिम लिँदैछन्  । पार्लरप्रति मानिसहरू आकर्षित हुँदै गएको उनको अनुभव छ । यसो हुनुमा अहिले मानिसमा आएको चेतना र फेसनप्रतिको आकर्षण मुख्य कारण मानिन्छ । सजिलो देखिए पनि यो व्यवसाय जोखिमपूर्ण पनि छ । लिम्बू भन्छिन्–यो व्यवसायमा लाग्नेहरू सम्बन्धित विषयमा दक्ष हुनुपर्छ । 

युनिक ब्युटिपार्लरकी सञ्चालिकाको अनुभवमा पनि यो व्यवसाय सजिलो र महिलाहरूका लागि राम्रो छ । दैनिक १ हजारभन्दा बढी आम्दानी गर्ने एभरग्रिन ब्युटिपार्लरकी सञ्चालिका पुष्पा श्रेष्ठको अनुभवमा यो व्यवसायमा लाग्नु भनेको चुनौती र खतरासँग जुध्नु हो । श्रेष्ठ भन्छिन्, ‘महिलाहरू सुन्दर हुनका लागि पार्लरमा आउँछन् । यदि ग्राहकको सोचअनुरूप सेवा दिन सकिएन भने यसले अप्ठ्यारो पनि निम्त्याउन सक्छ ।’ 

प्रस्तुति :सुमित्रा अञ्जान 

 Image