Successfully Copied

वर्षामा छाला जोगाऔं

वर्षाको विशेषता नै वातावरणमा ओस र ओसका कारण छालाको समस्या बढ्नु हो । छाला कहिले नरम हुन्छ त कहिले सुख्खा ।

वर्षाको विशेषता नै वातावरणमा ओस र ओसका कारण छालाको समस्या बढ्नु हो । छाला कहिले नरम हुन्छ त कहिले सुख्खा । वर्षामा तैलीय छालाको समस्या अझ बढी हुन्छ । तापमानमा ओसको स्तर उच्च रहने हुँदा रोगाणु मौलाउँछन् । वर्षाको पानी ठाउँठाउँमा जम्छ र पिउने पानी पनि दूषित हुन्छ । वर्षामा शरीरको रोगप्रतिरोधक क्षमता पनि कमजोर हुन्छ । त्यसैले मनसुनमा प्राय: मानिस बिरामी हुन्छन् जसमा छालासित जोडिएका समस्या प्रमुख छन् ।

फंगल इन्फेक्सन

डर्माटोलोजिस्टहरूका अनुसार मनसुनमा सबैभन्दा बढी फंगल इन्फेसनका कारण छालामा रातो घेरा देखा पर्छ । जुन धेरै चिलाउने र पोल्ने हुन्छ । रातो घेरा शरीरका विभिन्न भागमा आउन सक्छ तर अन्डरआर्म र अन्डर थाइजमा यसको सम्भावना बढी हुन्छ ।

ओसको समस्या

यो मौसममा ओस डिहाइड्रेसन हुन्छ । विशेषज्ञहरूका अनुसार मुहारमा जब ओस महसुस हुन्छ, त्यसलाई टिस्यु पेपरले पुछ्नुपर्छ । मुहारमा सुख्खापन महसुस हुन्छ भने मोइस्चराइजर प्रयोग गर्न सकिन्छ । पसिना बढी आएको छ भने धोएर आइस क्युब रगड्नुपर्छ । यसबाट ताजापन महसुस हुन्छ । मुहारको सफाइका लागि सेप फ्रि क्लिन्जर प्रयोग गर्न सकिन्छ । यो मौसममा छालामा धूलो माटो आदिको प्रदूषणको असर बढी हुन्छ । त्यसैले छालालाई टोनिङ गर्नु आवश्यक छ ।

छाला तैलीय छ भने माइल्ड क्लिन्जर प्रयोग गर्नुपर्छ भने मुहारको सफाइमा शुद्ध ओटमिल स्क्रव गर्नुपर्छ ।

सनस्क्रिनको प्रयोग

यो मौसममा कहिले घाम लाग्छ त कहिले बादल । यस्तोमा सनस्क्रिन लगाउनु पर्दैन भन्ने लाग्न सक्छ । वर्षामा सूर्य बादलभित्र लुके पनि अल्ट्राभोइलेट किरण सक्रिय रहन्छन् । ती किरणले कोमल छालालाई क्षति पुर्‍याउँछन् । त्यसैले वर्षामा सनस्क्रिन लगाउनु आवश्यक छ ।

लाइट मोइस्चराइजर प्रयोग गर्नुपर्छ

कतिपय मानिस वर्षामा छाला चिपचिपे हुँदा मोइस्चराइजरको प्रयोगलाई आवश्यक मान्दैनन् जुन उपयुक्त होइन । लाइट मोइस्चराइजरले छालालाई उचित पोषण प्रदान गर्छ र छाला चिपचिपे पनि हुँदैन । छाला विशेषज्ञहरूका अनुसार वर्षामा लाइट लोसन बेस्ड मोइस्चराइजर प्रयोग गर्नुपर्छ, जसका कारण ब्राइटनेसका साथमा हाइड्रेसन पनि प्राप्त हुन्छ ।

घरेलु उपाय

यो मौसममा अलग–अलग छालाका लागि अलग–अलग उपाय अवलम्वन गर्नुपर्ने हुन्छ । जसको छाला सुख्खा छ, उनीहरूको छालाको पोर्स धेरै सानो हुन्छ । यस्तो छालालाई मोइस्चराइजर पनि आवश्यक हुन्छ । जसको छाला ओयली हुन्छ, तिनमा पिम्पल्स र ब्ल्याक हेड्सको समस्या देखापर्छ । त्यसैले दिनहुँ क्लिन्जिङ गर्नुपर्छ । घरमा तयार गरिएको केही लेप र फेसप्याकबाट बेदाग र निखारयुक्त छाला प्राप्त गर्न सकिन्छ ।

सुख्खा छालाका लागि

बदाम र महको पेस्ट लगाएर ५ देखि ७ मिनेटसम्म छोड्ने । पछि मुहारलाई धुने र सफा तौलियाले पुछ्ने । यसबाहेक एक–एक चम्चा दही र जोजोवा ओयललाई मिक्स गरी आफ्नो मुहार तथा घाँटीमा लगाई १० मिनेटपछि पानीले धुने । एक चम्चा दूधमा ५ थोपा केमोमाइल तेल हालेर छालाको मसाज गर्ने ।

तैलीय छालाका लागि

पाकेको मेवालाई मुछेर मुहारमा लगाउन सकिन्छ । घरेलु स्क्रवका रूपमा चामलको आटामा गुलाबजल मिसाएर राख्ने वा चन्दन पाउडर, मुलतानी माटो, गुलाबजल तथा कागतीको रस मिसाएर मुहारमा प्रयोग गरी १० मिनेटपछि पानीले धुने ।

तैलीय र मिश्रित छालाका लागि

दुई ठूलो चम्चा गुलाबजलमा दुई–दुई थोपा स्ट्रबेरी ओयल र ओरेन्ज ओयल मिसाई छालामा प्रयोग गरी १० मिनेटपछि पखाल्ने ।

खुट्टाको पनि राखौं ख्याल

यो मौसममा खुट्टाको छालामा पनि क्षति पुग्छ । आफ्नो खुट्टालाई राम्रोसँग सफा गरी तौलियाले पुछेर सुकाउने । यसबाट खुट्टाको छालामा इन्फेक्सन हुन पाउँदैन । शरीरका विभिन्न स्थानमा एन्टिफंगल पाउडर पनि प्रयोग गर्न सकिन्छ । खुट्टामा लेवेन्डर ओयल पनि लगाउन सकिन्छ ।

जरुरी उपाय

    छालालाई सफा एन्टिबेक्टेरियल सोप वा फेसवासले धोएर सफा कपडाले पुछ्ने ।

    परफ्युम्ड सोप प्रयोग गर्नुको साटो क्लिन्जर प्रयोग गर्नुपर्छ ।

    दिनमा दुईपटक नुहाउनुपर्छ भने एन्टिफंगल पाउडर प्रयोग गर्नुपर्छ ।

    हेभी क्रिमको साटो लाइट मोइस्चराइजरको प्रयोग उपयुक्त हुन्छ ।

सावधानी

    वर्षामा शरीरको रोगप्रतिरोधक क्षमता घट्छ । जसले गर्दा शरीरमा अनेकौं रोग फैलन्छन् । केही सावधानी अपनाउन सके शरीरको रोगप्रतिरोधक क्षमता बढाउन सकिन्छ ।

    घर वरिपरि पानी जम्मा हुने ठाउँ    छोड्नु हुँदैन ।

    शुद्ध पानी पिउनुर्छ । यसका लागि पानी उमाल्नुपर्छ, छान्नुपर्छ वा अल्ट्राभोइलेट वा रिवर्स ओस्मोसिस फिल्टरले सफा गर्नुपर्छ । पानी सदैव छोपेर राख्नुपर्छ ।

    कुलरलाई नियमित रूपमा सफा गर्नुपर्छ ।

    लामखुट्टेको टोकाइबाट जोगिन म्याट, धूप, मल्हम वा झुल प्रयोग गर्न सकिन्छ ।

 Image