Successfully Copied

कसरी बनाउने मेहन्दी ?

२ सय ग्राम पानीमा १ चम्चा चियापत्ती, डेढ चम्चाको ४ भागको १ भाग चिनी, १ वटा कागतीको रस मिसाएर पानी उमाली मनतातो बनाउने।

२ सय ग्राम पानीमा १ चम्चा चियापत्ती, डेढ चम्चाको ४ भागको १ भाग चिनी, १ वटा कागतीको रस मिसाएर पानी उमाली मनतातो बनाउने। त्यसपछि जालीले उक्त पानीलाई छान्ने। १ सय ग्राम मेहन्दी हाली घोल्ने। त्यसलाई २-३ घन्टासम्म भिज्न दिने। बीचमा त्यसमा ८-१० थोपा मेहन्दीको तेल हाली राम्रोसँग मिक्स गर्ने। यसलाई डल्लो पर्न नदिन राम्रोसँग फिट्ने। मेहन्दी हातमा लगाउनुपूर्व २-३ थोपा डिटोल हालिएको पानीले हात सफा गरी हातमा मेहन्दी तेल लगाउने, मेहन्दी लगाई बुट्टा बनाउने। मेहन्दी लगाएपछि फेरि मेहन्दी नलगाएको ठाउँमा मेहन्दी लगाई फेरि बुट्टा बनाउने। त्यो बुट्टा नझरोस् वा बुट्टा गाढा बसोस् भनेर त्यसमाथि चिनी र कागतीको रस मिसाएर बनाएको घोल कटनको सहायताले हल्कासँग लगाउने। यसलाई ३-४ पटक लगाउनुपर्छ। मेहन्दी सकेसम्म रातभरि राख्दा राम्रो हुन्छ। रातभर सम्भव नभए पनि ३-४ घन्टा त राख्नैपर्छ। १० मिनेटजति तोरीको तेलले हात भिजाई वटर नाइफले मेहन्दी निकाल्ने। ८-१० वटा ल्वाङ पिसेर धूलो बनाई एउटा खाली कराहीमा तताउने र कालो बनाउने। डढिसकेपछि त्यसबाट आएको धूवाँमा हात सेक्ने। त्यसपछि ४-५ घन्टा पानी नछुने। यसो गर्दा मेहन्दी गाढा हुन्छ र राम्रोसँग बस्छ अनि धेरै दिनसम्म मेहन्दी हातबाट छुट्दैन।

गर्मीमा मेहन्दी बनाउने विधि

मेहन्दीको पाउडर मनतातो पानी मिसाएर धूलोलाई लेदो बनाउने र २-३ घन्टासम्म गल्न दिने। गलेको मेहन्दीमा ४-५ थोपा तारपिनको तेल, ४-५ थोपा ल्वाङको तेल, ४ थोपा नीलगिरीको तेल हालेर राम्रोसँग मिक्स गर्ने र जालीमा राखी चालेर कोनमा राखिदिने। मनतातो पानीले हात धोएर सुकाउने। हातमा पहिले ल्वाङको तेल लगाएर मात्र मेहन्दी लगाउनुपर्छ।

आवश्यक सामग्रीहरू

मेहन्दी पाउडर, कैंची, सेलोटेप, गिफ्ट पेपर, रबर, कागती, चिनी, मेहन्दीको तेल, पिपरमेन्टको तेल, ल्वाङको तेल, सन्चो, तोरीको तेल, कफी, चियापत्ती, तारपिनको तेल तथा डिटोल।

मेहन्दी लगाउने व्यक्तिले मेहन्दी लगाउन थालेदेखि अन्त्यसम्म भरसक पानी पिउनु हुँदैन।

साधारण मेहन्दी बनाउने विधि

-    मेहन्दीको पात सुकाएर धूलो बनाउने। मेहन्दीको धूलोलाई मलमलको कपडामा दुई-तीन पटक छान्ने।

-    कागतीको रसमा ८-१० थोपा नीलगिरीको तेल हालेर मेहन्दीको धूलो भिजाउने। पानीमा इमली र चियाको पात उमाल्ने। त्यसपछि छानेर आवश्यक मेहन्दीको धूलो हाली दुई घन्टा भिजाउने।

-    गिलो मेहन्दीको सलाई वा प्लास्टिकको कागजको कोण बनाई प्रयोग गर्नुपर्छ। बजारमा प्लास्टिक सलाई पाइन्छ। मेहन्दी लगाउन सियोको टुप्पो पनि प्रयोग गर्न सकिन्छ।

-    एक प्याला कागतीको रस र चिनीको मिश्रण तयार गर्नुपर्छ। हात र खुट्टामा लागेको मेहन्दी सुकेर नखसोस् र गाढा बस्नका लागि त्यसलाई पटक-पटक लगाउनुपर्छ। लगाएको मेहन्दी चार-पाँच घन्टापछि निकाल्नुपर्छ।

-    मेहन्दी निकालेपछि त्यसमा तोरीको तेल लगाउनुपर्छ।

-    कराही वा तावामा १०-१२ वटा ल्वाङ हाली त्यसको बाफमा हात सेक्नुपर्छ। मेहन्दी लगाइएको ठाउँमा १२-१४ घन्टासम्म पानी पर्न दिनु हुँदैन। यसो गर्दा मेहन्दीको रंग गाढा हुन्छ।

फाइदाजनक बडी स्पा

   - जुली प्याकुरेल, एल्पस ब्युटिपार्लर

हिमालरोड, विराटनगर

गर्मी मौसममा चर्को घाम, धूलो, धूवाँ, पसिना आदिले छालालाई नोक्सान पुर्‍याउँछ। घाउ-खटिरा र घमौरा आउने हुनाले गर्मी महिना छालाका लागि पीडादायक मानिन्छ। शरीरबाट अत्यधिक पसिना आउने हुनाले मोस्चराइजर नष्ट भएर छाला चमकहीन हुन्छ तसर्थ यो मौसममा पनि छालाको पर्याप्त हेरचाह आवश्यक छ। गर्मी मौसममा बडी स्पाद्वारा शरीरको छालालाई सुन्दर एवं स्वस्थ राख्न सकिन्छ।

बडी स्पा प्राय: गर्मी महिनामा गरिन्छ। यसले  शारीरिक सौन्दर्य वृद्धिसँगै मानसिक तनावबाट पनि मुक्त गर्छ। व्यस्त मानिसहरूका लागि बडी स्पाले सञ्जीवनी बुटीको काम गर्छ। महिनामा एक-दुई पटक गर्न सकिने बडी स्पाले शरीरको सम्पूर्ण रेखदेख गर्नुका साथै सौन्दर्य कायम राख्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ। बडी स्पामा  भिटामिन ई प्रयोग गरिने हुनाले छालाका मसिना रेखाहरू हट्छन्। बडी स्पामा वनस्पति तेल, अण्डाको पहेंलो भाग, गहुँ वा जौको पिठो, बदाम, मिल्क क्रिम, मह, पानी फलफूलको जुस, कागती, मिल्क पाउडर आदि प्रयोग हुन्छन् जुन छालाका लागि उपयोगी पनि छन्। बडी स्पाले नङ, केश र सम्पूर्ण छालालाई सुन्दर एवं कोमल बनाउनुका साथै  विकिनी एरियाबाट अनावश्यक रौ हटाउने तथा मृत कोषलाई स्क्रबद्वारा हटाई स्किन पोलिसिङ गर्ने काम गर्छ। यो प्रक्रियामा शरीरबाट अनावश्यक रौं हटाइनुका साथै ब्ल्याक हेड्स, ह्वाइट हेड्स आदि पनि निकालिन्छ।

बडी स्पाले छालालाई लामो समयसम्म स्वस्थ राख्न मद्दत गर्छ। यसले गर्दा छाला गोरो र चिल्लो देखिन्छ तसर्थ यो सुख्खा छाला हुनेहरूका लागि बढी लाभदायक छ।

बडी स्पामा सम्पूर्ण शरीरको मसाज हुन्छ। यसले रक्त संचार सुचारु हुन्छ। मांसपेशी कसिलो एवं बलियो हुने हुँदा झोल्लिएको छालाबाट छुटकारा पाइन्छ। मोटोपनको समस्या भएकाहरूका लागि बडी स्पा उपयोगी हुन्छ।

बडी स्पाले शरीर तथा मस्तिष्कलाई शान्त एवं थकानमुक्त बनाउँछ।

बडी स्पाले छालालाई सुन्दर देखाउँछ। यो नसा दुख्नेहरूका लागि पनि फाइदाजनक छ।

बडी स्पाले आलस्य हटाई फुर्ती प्रदान गर्छ जसले गर्दा घर तथा अफिसको काम सजिलै सम्हाल्न सकिन्छ।

बडी स्पाले शिरदेखि पाउसम्म रेखदेख गर्छ। एक्सपर्ट ब्युटिसियनसँग गराइएको बडी स्पाले फिगर मेन्टन गर्नुका साथै आफू विशेष व्यक्तित्व भएको अनुभव दिन्छ।

शारीरिक एवं मानसिक सन्तुष्टि प्राप्ति तथा आत्मविश्वास वृद्धिका लागि पनि बडी स्पा उपयोगी छ।

गर्मी र वर्षायामको मेकअप

- सीता पाठक, सौन्दर्यविद्

गर्मी तथा वर्षायाममा फ्रेस रहन गार्‍हो हुन्छ। वर्षायाममा हाम्रो छालाका रोमछिद्र खुल्ने हुँदा मेकअप नटिक्ने एवं टाटेपाटे देखिने हुन्छ तसर्थ गर्मी तथा वर्षायाममा छालाको हेरचाहमा बढी ध्यान दिनुपर्छ।

दिनको चार पटक सादा पानीले अनुहार धुनुपर्छ। रोजवाटरमा फ्रेस गुलाबको पात राखी हावा नपस्ने डब्बामा भिजाउने। दिनको तीन पटक कटनको सहायताले पुछ्ने। यसो गर्दा छालाको बाहिरी तह जोगिनुका साथै छाला सफा एवं कसिलो हुन्छ।

डे मेकअप गर्दा कन्सिलर प्रयोग नगर्ने। ८ घन्टासम्म मेकअप टिकाउनुपरे मात्र वाटर प्रुफ मेकअप गर्ने। दिउँसो मेकअप गर्दा लाइट ओयल फ्री फाउन्डेसन प्रयोग गर्ने। लुज पाउडर प्रयोग गर्ने वा ट्रान्सलुसन पाउडर प्रयोग गर्ने। त्यसो गर्दा पसिना सोसिन्छ र पसिना बग्न पाउँदैन। यो मौसममा म्याट लिपिस्टिक तथा आँखामा वाटर प्रुफ मस्कारा र वाटर प्रुफ लाइनर मात्र प्रयोग गर्ने। आँखाको सेपअनुसार लाइनर लगाउने। चिंकी आँखा भए मोटो लाइनर लगाउने। सानो आँखामा अगाडिको भागमा पातलो, पछाडिको भागमा मोटो आइलाइनर लगाउँदा आँखा ठूलो देखिन्छ भने डार्क आइस्याडो लगाएर लाइनरले ग्यापलाई मिलाउने, आँखाको सुन्दरतामा निखार आउँछ।

साँझ अथवा राति अवसरअनुसार पहिरनको रंग र आफ्नै रोजाइअनुसार आँखाको मेकअप गर्नुपर्छ। सुन्दर व्यक्तिले बढी मेकअप गर्दा अझ नराम्रो देखिने हुँदा सुन्दरता र मेकअप दुवैलाई ब्यालेन्स गर्न सक्नुपर्छ। मेकअप गर्दा बेसको सही छनोट गर्ने। आँखाको मेकअप गर्दा कलरको छनोट  र फेसकट सही तरिकाले गर्ने। चिकबोन ठूलो भए डार्क सेड र लाइट सेड मिलाएर कटिङ गर्ने। लामो फेस छ भने चिकबोनबाट हल्का राउन्ड सेभमा कन्चटमा लाने। राउन्ड सेभ फेसमा हल्का चिकबोनबाट नेकलाइनमा लाने। सही कलर छनोट गरी सही तरिकाले मेकअप गर्दा सुनमा सुगन्ध थपिन्छ।

लिपमा लिपिस्टिक लगाउनुअघि हल्का फाउन्डेसन लगाउने। जसले गर्दा लिपिस्टिक टिकाउन सहयोग पुग्छ। ओठको सेपअनुसार लिपलाइनरले कटिङ गर्ने, सेप मिलाउन हल्का मर्च गर्ने। यसले आर्टिफिसियल देखिँदैन। लिपमा कहिल्यै ब्ल्याक लाइनर प्रयोग नगर्ने। लिपिस्टिकको कलर भन्दा अलिकति मात्र लाइट सेड प्रयोग गर्ने। लिपको फिनिसिङ टच लाइनरले मिलाएर ग्लस लगाउने। ओठ ठूलो वा लामो भए दुवै कर्नरमा कटिङ गर्ने। यसले ओठलाई सानो र चिटिक्क देखाउँछ। ठूलो ओठमा इन कल लाइनर तथा सानो ओठमा आउट कल गर्ने। लिपिस्टिकमा पिंक, पिच, रेड कलर बढी खुल्छ।

वर्षायाममा छाला तैलीय हुने हुँदा राति ओयल फ्री क्लिन्जिङ वा रिमुभरले मेकअप हटाएर सुत्नुपर्छ।  

फाइभ मिनेट्स फेस्टिबल मेकअप

चाडपर्वका अवसरमा धेरैजसो घरबाहिर जानुपर्ने हुन्छ। साँझ अबेरसम्म छालामा ताजापन र फुर्ती कायम रहोस् भनेर घरबाहिर जाँदा मात्र ५ मिनेट मेकअप गरेर पनि मीठो अनुभव गर्न सकिन्छ।  

कलर करेक्सन : मेकअप गर्नुभन्दा पहिले आफ्नो मुहार सफा गर्नुपर्छ र बरफ दल्नुपर्छ। छालालाई दागरहित देखाउन कलर करेक्टर तथा कन्सिलरको सहयोग लिन सकिन्छ। कन्सिलर छालासित म्याच गर्ने हुनुपर्छ वा एकसेड हल्का हुनुपर्छ जसबाट छालाको दाग सहजै लुकाउन सकिन्छ। कलर करेक्टर फाउन्डेसन भन्दा पहिले प्रयोग गर्नुपर्छ र त्यसपछि हल्का लेयर कन्सिलर लगाउनुपर्छ। कन्सिलर आवश्यकताभन्दा बढी प्रयोग गर्नु हुँदैन। फाउन्डेसन र कन्सिलर रगडेर लगाउनु हुँदैन। औंलाले थपथपाउँदै मुहारमा फैलाउनुपर्छ र एकनासको गर्नुपर्छ। आँखामुनि कालो घेरामा हल्का पहेंलो रंगको कलर करेक्टर लगाएपछि त्यसमाथि फाउन्डेसनलाई एकनासले लगाउनुपर्छ र कन्सिलरको हल्का लेयर प्रयोग गरी औंलाले एकनासको बनाउनुपर्छ।

फाउन्डेसन : छालालाई घन्टौंसम्म बेदाग र कोमल देखाउन तथा लामोसम्म कायम राख्न रेगुलर वाटरप्रुफ फाउन्डेसन लगाउनुपर्छ र ट्रान्सल्युसेन्ट पाउडरले त्यसलाई सेट गर्नुपर्छ। आफ्नो छालाको प्रकारलाई ध्यानमा राखी मेट फिनिसिङ वा लङ विचरिङ क्रिम, स्टिक र पाउडर फाउन्डेसनमध्ये कुनै एक छनोट गर्न सकिन्छ। गालाको बीचमा फाउन्डेसन लगाउनुपर्छ र बाहिरतर्फ फैलाउँदै हल्का हातले एकनासको बनाउनुपर्छ। छाला तैलीय छ भने लिक्विडको साटो पाउडर फाउन्डेसन उपयुक्त हुन्छ। यसले छालामा अतिरिक्त चमक र पसिना आएको महसुस हुँदैन। टचअफका लागि आफूसित टिस्यु पेपर र कम्प्याक्ट फाउन्डेसन पनि राख्नु राम्रो हुन्छ।

कर्ली आइल्यासेज : सधैं गुणस्तरीय सौन्दर्य प्रसाधन  प्रयोग गर्नुपर्छ। सजिएको आइल्यासेजले लुक्सलाई सुन्दर देखाउँछ। आइब्रो पेन्सिलको स्ट्रोक्स पनि राम्रो देखिन्छ। आँखामा गाढा नीलो वा कालो रंगको आइस्याडो प्रयोग गर्नुपर्छ। आइल्यासेजमा वाटरप्रुफ ट्रान्सपरेन्ट मस्कारा प्रयोग गर्नुपर्छ  जसबाट आँखा सफा एवं सुन्दर देखिन्छन्। अन्त्यमा आइल्यासेज कलरमा ल्यासेजलाई कर्ल गर्नुपर्छ। यदि ल्यास कर्लर छैन भने हातको औंलाले ल्यासेजलाई तलबाट माथितर्फ लान सकिन्छ। इच्छाअनुसार स्याडो माथि धेरै सिमरको डस्ट गर्न सकिन्छ।

कुललिप लाउट : लिप पेन्सिल र लिपिस्टिकबाट ओठको सेपलाई राम्रो देखाउन ओठ वेक्सिङ र थ्रेडिङ गर्नु राम्रो हुन्छ। कुनै विशेष अवसरका लागि तयार हुनुभन्दा एक दिनपूर्व अपर लिडको थ्रेड गर्नु राम्रो हुन्छ। ओठमा लामो समयसम्म कायम रहने लिपलाइनर र लिपिस्टिक लगाउनुपर्छ। यदि सामान्य लिपिस्टिक लगाउने हो भने पहिले लङलास्टिङ लिपलाइनर प्रयोग गर्नुपर्छ। यसबाट लिपिस्टिक बाहिर फैलदैन। चाडपर्वमा इभनिङ मेकअप गरेपछि लास्ट टच दिँदा ओठमा सिमरयुक्त लिपग्लस टच दिनुपर्छ। दिउँसो घुम्ने योजना छ भने ओठमा हल्का रेड लिपिस्टिक र आँखामा जेट ब्ल्याक आइलाइनर तथा मस्कारा लगाउनु उपयुक्त हुन्छ।

स्टाइल नोट : रेड फ्रेमको गगल्सले पर्सनालिटीलाई कम्प्लिट लुक प्रदान गर्छ। पातलो शरीर भएकाहरूले स्क्वायर नेक भएका पहिरन प्रयोग गर्नुपर्छ, यसबाट शरीर निकै सुन्दर हुन्छ।

बब्ली ब्लु : सेन्टर स्टिच ग्यादर्स भएका ड्रेसका साथमा फ्लोरल हेयर एसेसरिजले टिनएजरहरूको लुकलाई बब्ली बनाउँछ। पर्पल स्टोनको डबल स्टि्रङ एवं क्रिस्टल टचयुक्त गगल्सले पनि जोकसैको सुन्दरता बढाउँछ। स्टाइल नोट मिक्स एण्ड म्याच गर्दा आफ्नो पहिरन आरामदायक महसुस हुन्छ।

 Image