Successfully Copied

छालाअनुसार शृंगार

शृंगार गर्नु पनि एउटा कला हो, उचित शृंगारले व्यक्तित्वमा आकर्षण बढाउँछ। शृंगारको सही ज्ञान छ भने अनुहारमा तुरुन्त निखार ल्याउन सकिन्छ।

शृंगार गर्नु पनि एउटा कला हो, उचित शृंगारले व्यक्तित्वमा आकर्षण बढाउँछ। शृंगारको सही ज्ञान छ भने अनुहारमा तुरुन्त निखार ल्याउन सकिन्छ। उचित शृंगार गरिएको छ भने आत्मविश्वास पनि बढ्छ। शृंगार गर्दा सर्वप्रथम सामान्य छाला, सुख्खा छाला, चिल्लो छाला, मिश्रति छाला वा अति संवेदनशीलमध्ये आफ्नो छाला कुन प्रकारको हो भन्ने ज्ञान हुनु आवश्यक छ  । छालाअनुसार फरक-फरक कस्मेटिक्स प्रयोग हुनुका साथै त्यसमा गरिने शृंगार पनि फरक हुन्छ। त्यसपछि शृंगार सामग्री बक्समा के-के छ थाहा पाउनु आवश्यक छ। एक प्रकारको छाला छ भने सौन्दर्य सामग्री अर्कै प्रकारको हुनु हुँदैन। यस्तो भए शृंगार छालामा खुल्दैन र छालालाई नोक्सानसमेत पुग्छ। उदाहरणका लागि सुख्खा छालामा शृंगार गर्दा मोस्चर प्रयोग गर्नँपर्छ न कि जेल वा एस्ट्रेजेन्ट। त्यसो नहुँदा छालालाई फाइदाको साटो नोक्सान पुग्छ र मेकअप गरेर पनि पछुताउनुपर्ने हुन्छ। त्यसैले आफूसँग छालामा मेल खाने सौन्दर्य सामग्री हुनु आवश्यक छ।

यी सवै सामग्री प्रयोग गर्ने विधि जानकारी हुनु आवश्यक छ। त्यसका लागि छोटो कोर्स गर्न सकिन्छ वा कुनै पुस्तकमार्फत पनि जानकारी लिन सकिन्छ।

शृंगार कसरी गर्ने ?

सामान्य छाला

सामान्य छाला नरम र सुन्दर हुन्छ तर कतिपयको छालामा मौसमअनुसार परिवर्तन आउँछ। यस्तो छाला गर्मीमा चिल्लो र जाडोमा सुख्खा हुन्छ। यसमा शृंगार गर्दा पहिले फाउन्डेसन छनोट गर्ने, चिल्लो छाला छ भने पहिले एस्टि्रजेन्टले पुछ्ने र म्याट फाउन्डेसनलाई छालामा अप्लाइ गर्ने। छाला सुख्खा छ भने मोस्चराइजर लगाएर मात्र फाउन्डेसन अप्लाइ गर्ने। गर्मी छ भने प्रेस्ट पाउडर सधैं आफूसित राख्ने । गर्मीमा टिजोन चिल्लो देखिन्छ जसको कन्ट्रोलका लागि यो आवश्यक छ। उमेर बढ्दै जाँदा सुख्खा छाला पनि बढी सुख्खा हुँदै जान्छ। सुख्खा छालाका लागि डब्बल ड्युटी फाउन्डेसन लिने जसले छालालाई नरम बनाउनुका साथै त्यसमा चमक पनि ल्याउँछ। छाला सुख्खा छ भने अल्कोहल बेस्ड प्रोडक्ट्स प्रयोग नगर्ने, मोस्चर लगाउने र नियमित फेसियल गराउने।

चिल्लो छाला

पटक-पटक छाला चिल्लो देखिन्छ भने फ्रेस लुक देखिँदैन, चिल्लो छालामा सबैभन्दा पहिले जेल सनब्लक लगाउने र जेन्टल टोनर अप्लाइ गर्ने, वाटर वेस्ड मेकअप प्रोडक्ट्स प्रयोगमा ल्याउने। विशेष गरी फाउन्डेसनमा ध्यान दिएर कन्सिलर प्रयोग गर्ने। यसले ओयली इफेक्टलाई कम गर्न सहयोग पुर्‍याउँछ। चिल्लो छालाका लागि पाउडर अति महत्वपूर्ण मानिन्छ।

मिश्रति छाला

यस्तो छालामा टिजोन (नाक, निधार, चिउँडो) वरिपरि चिल्लो हुन्छ। सिजोन नर्मल टु ड्राइ हुन्छ। मौसम र खानाअनुसार पनि छालामा परिवर्तन देखिन्छ। मिश्रति छाला भएकाहरूले बेग्लै फाउन्डेसन आफूसित राख्ने र चिल्लो छाला एवं सुख्खा छालातिर बेग्लाबेग्लै फाउन्डेसन प्रयोग गर्ने। आफूलाई कुन प्रकारको फाउन्डेसन सुहाउँछ ध्यान दिने। टिजोनका लागि आयल कन्ट्रोल पाउडर प्रयोगमा ल्याउने।

संवेदनशील छाला

यस्तो छालामा ब्युटी प्रोडक्ट्स प्रयोग गर्नँपूर्व राम्रोसँग बुझ्नु आवश्यक हुन्छ र यस्तो जानकारीका लागि स्किन डाक्टर वा एक्सपर्ट ब्युटिसियनको सल्लाह लिनुपर्छ। सम्पूर्ण जानकारी लिएर छालाअनुरूप शृंगार गर्दा  कुनै हानी हुँदैन र थप आकर्षक देखिन सकिन्छ।

लिपिस्टिक लगाउनुपूर्व ओठलाई क्लिन्जरले पुछ्ने र गर्मी छ भने लाइट पिंक, पिच कलरको लिपिस्टिक लगाउने। गर्मीमा लिपग्लस अनिवार्य छैन तर पनि आफूलाई लिपिस्टिकभन्दा लिपग्लस सुहाउँछ भने यसको प्रयोग गर्न सकिन्छ। सधैं एउटै किसिमको शृंगार नगरी फरक-फरक शैली अपनाउनुपर्छ। आइमेकअप हाइलाइट गरिएको छ भने लिप मेकअपलाई हल्का गर्ने। यदि लिप मेकअप हेभी छ भने आइमेकअप हल्का राख्ने तर आइमेकअप हल्का गर्दा पनि आइमस्कारा लगाउनुपर्छ।

 Image