नेपाली समाजमा घुमफिर गर्ने संस्कृति बढ्दै गएको छ । दसैं–तिहारजस्ता फुर्सदिला दिनमा मात्र होइन, फुर्सद निकालेर भए पनि वर्षमा एकपटक घरबाट निस्कने क्रम सुरु भएको छ । रमाइलो पक्ष त के भने, यसरी घुम्न निस्कदा सम्पूर्ण परिवार नै सम्मिलित हुने गरेका छन् । अर्थात् पारिवारिक घुमघामको शैली सुरु भएको छ । यसरी पारिवारिक घुमघामको प्रवृत्ति बढेसँगै नयाँ–नयाँ गन्तव्य पनि पहिल्याउन थालिएको छ । भौगोलिक हिसाबले आकर्षक, प्राकृतिक दृष्टिले रमणीय, ऐतिहासिक कोणले महत्वपूर्ण ठाउँहरूमा अहिले आगन्तुकहरूको भीड लाग्न थालेको छ । फरक परिवेशमा पुगेर मन बहलाउन मात्र होइन, नयाँ–नयाँ अनुभव गर्न र थरीथरीका स्वाद चाख्न पनि घुमघाममा निस्कनेहरू बढेका छन् । घुमघामका लागि केही नयाँ गन्तव्यहरू :
त्रिपुराकोट
डोल्पा जिल्ला भन्नेबित्तिकै धेरैले शे–फोक्सुन्डो ताल सम्झन्छन् । यो ताल नेपालकै गहिरो र दोस्रो ठूलो ताल हो । फोक्सुन्डोसँगै यहाँको अर्को आकर्षण त्रिपुराकोट पनि हो । यहाँ सयौं वर्ष पुरानो बाला त्रिपुरा सुन्दरी भगवतीको मन्दिर छ । प्राकृतिक, धार्मिक एवं ऐतिहासिक महत्व बोकेको त्रिपुराकोटमा दसैंमा टीका र जमरा लगाउने आफ्नै साइत हुन्छ । यहाँ परापूर्वकालदेखि नै आफ्नै साइतमा टीका लगाउने प्रचलन छ । ई.सं. १११४ मा त्रिपुरा सुन्दरी मन्दिर उत्पत्ति भएको इतिहासमा उल्लेख छ ।
तान्जे गाउँ
मह काढेको हेर्ने चाहना भए तान्जे गाउँ पुग्नुपर्छ । लमजुङ जिल्लामा पर्ने यो गाउँमा भीर मौरीको मह निकालेको हेर्नकै लागि बर्सेनि विदेशी पर्यटक नेपाल भित्रन्छन् । अग्लो भीरमा झुन्डिएर जोखिमपूर्ण तरिकाले मह निकाल्ने दृश्य पक्कै पनि नौलो लाग्न सक्छ । स्थानीयहरू १० घण्टासम्म खटिएर मह काढ्छन् । मह काढ्नेहरू अग्लो भीरमा चढेर कलात्मक शैली अपनाउँछन् । यहाँ वर्षमा दुई पटक स्थानीयले मह काढ्छन् । यो लोपोन्मुख परम्परा हो ।
अरुण उपत्यका
चराचुरुङ्गीबारे जान्न चाहनेका लागि अरुण उपत्यका उपयुक्त गन्तव्य हुनसक्छ । यो ठाउँ विश्वकै बढी चरा पाइने उपत्यकाका रूपमा परिचित छ । यहाँ ६ सयभन्दा बढी जातिका चरा पाइने अनुमान छ । त्यतिमात्र नभएर नेपालमा मात्र पाइने चराहरू पनि यहाँ भेटिन्छन् । अरुण उपत्यकालाई विश्वकै सबैभन्दा गहिरो उपत्यका मानिन्छ । समुद्र सतहभन्दा ३६ सय मिटरसम्म गहिरो भएको अनुमान छ । यो क्षेत्र चराहरूको सुरक्षित आश्रयस्थल पनि हो ।
अरुण उपत्यकाको भौगोलिक बनावट पनि उत्तिकै आकर्षक छ । यहाँ विभिन्न जातजातिको रहनसहन, संस्कृति र जीवनशैली पनि फरक छ । यहाँ प्रायःजसो सबै धर्म मान्नेहरू बसोबास गर्छन् । अरुण उपत्यका संखुवासभा जिल्लामा पर्छ ।
शैलुङ
लेकाली जनजीवन जान्न इच्छुक हुनुहुन्छ भने शैलुङ उपयुक्त गन्तव्य हुनसक्छ । चौंरी गोठको बास, चौंरीको दूध, दूधबाट बन्ने थरिथरीका मिठाईं र छुर्पीको स्वाद चाख्न शैलुङ नै पुग्नुपर्ने हुन्छ । साथै यहाँ सय वटा थुम्का छन् । तामाङ भाषाबाट नामकरण गरिएको ‘शै’ को अर्थ सय र ‘लुङ’ को थुम्का हो । यहाँ दुर्लभ जडीबुटी पनि पाइन्छन् । शैलुङबाट रमणीय दर्जनौं हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ हिउँ पर्नासाथ साहसिक खेल ‘स्की’ खेल्न आउनेहरूको भीड लाग्छ । यहाँ हरेक १२ वर्षमा एकपटक खुल्ने गदौरीगुफा धार्मिक रूपले चर्चित छ । हिन्दू र बौद्ध धर्मावलम्बीको संयुक्त बसोबास रहेको यहाँ जनैपूर्णिमाअघि बौद्धमार्गीको र बालाचतुर्दशीमा हिन्दूहरूको भीड लाग्छ । दोलखा जिल्लामा अवस्थित शैलुङ खोलाखर्कबाट पैदल यात्रा तय गर्नुपर्छ ।
बुराउसे
हुम्लादेखि रारासम्म पुग्ने पदमार्गमा पर्छ, बुराउसे । यो ठाउँ होमस्टेकै लागि परिचित छ । लामाहरूको बाक्लो बस्ती रहेको यहाँ बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरी होमस्टे सञ्चालनमा ल्याइएको छ । यहाँ होटल तथा लजको सुविधा नभएर होमस्टेको व्यवस्था गरिएको हो । जहाँ बसेर रैथाने जनजीवन नजिकबाट नियाल्न सकिन्छ ।
हुम्ला जिल्लास्थित बुराउसेमा दर्जनभन्दा बढी होमस्टे सञ्चालनमा छन् । मानसरोवर यात्रामा निस्किएकालाई बुराउसे होमस्टेले सहज बनाएको छ । यहाँ बास बस्ने आगन्तुकका लागि स्थानीयले ‘स्याब्रु’ नाच देखाउँछन् । हुम्लाको सदरमुकाम सिमिकोटबाट एक घण्टाको पैदल यात्राबाट बुराउसे पुग्न सकिन्छ । सिमिकोटसम्म भने हवाईयात्रा नै एक विकल्प हो ।
सन्दकपुर
सन्दकपुर इलाम र दार्जीलिङको सीमा जोडिएको ठाउँ हो । समुद्री सतहबाट तीन हजार ३६ सय मिटरको उचाइमा रहेका सन्दकपुरबाट देखिने आसपासका दृश्यहरूले बेग्लै आनन्द दिन्छन् । त्यहाँबाट विश्वकै अग्लो शिखर सगरमाथासहित दर्जनौं हिमशृंखलार सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । पूर्वी नेपालको रहनसहन बुझ्न, अर्थोडक्स चिया र अकबरेको स्वाद चाख्न, लेप्चा जातिको रीतिस्थिति अवलोकन गर्न, झुल्के घामको सुनौलो दृश्य हेर्न सन्दकपुरको यात्रा उपयुक्त हुनसक्छ ।
बेनी बजार
पदयात्रामा रुचि छ भने बेनी बजार उपयुक्त गन्तव्य हुनसक्छ । म्याग्दीको सदरमुकाम बेनीबाट धौलागिरि हिमालको आधार शिविरसम्म यात्रा गर्न सकिन्छ । धौलागिरि स्याङ्चुरी पदमार्ग हुँदै बेनी जानुपर्ने हुन्छ, यो नयाँ मार्ग हो । झिंगाउँबाट पाखापानी, त्यहाँबाट कोटगाउँ, रायखर्क, छरी, फेदी हुँदै धौलागिरि आधार शिविरमा पुगिन्छ । सात दिनको पदयात्रामा त्यहाँको गाउँले जनजीवन नजिकबाट बुझ्ने मौका पाइन्छ । पदयात्रा अवधिमा नाउर, थार जस्ता दुर्लभ वन्यजन्तु पनि देख्न सकिन्छ । यो पदमार्ग बेनीबाट सुरु भई बेनीमै पुगेर टुंगिन्छ । काठमाडौंबाट बसको यात्राबाट एकैदिनमा पुगिन्छ ।
जटापोखरी
हिमतालको दृश्य हेर्न चाहनुहुन्छ भने जटापोखरी पुग्नैपर्ने हुन्छ । यो ताल नरिवलको जटाजस्तै आकारको भएकाले जटापोखरी नामकरण गरिएको हो । यो एक हिमताल हो । यो पोखरीको पानी आधा वर्षभन्दा बढी समय जम्छ । तामाकोसी नदीको प्रमुख सहायक नदीका रूपमा रहेको खिम्ती खोलाको शिरमा अवस्थित यो पोखरी धार्मिक स्थलका रूपमा पनि उत्तिकै प्रख्यात छ । समुद्री सतहदेखि चार हजार दुई सय ५० मिटरको उचाइमा रहेको जटापोखरी पुग्न दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोला पार गर्नुपर्छ । गोकुलगंगा गाउँपालिकामा पर्ने चुचुरेको खहरेबाट पैदल हिँडेर जटापोखरीसम्मको यात्रा गर्न सकिन्छ । खहरेसम्म पुग्न सामान्य दिनमा भने यातायात सञ्चालन हुन्छ । त्यहाँबाट करिब ६ घण्टा उकालो हिँडेपछि मानेडाँडा पुगिन्छ । मानेडाँडाबाट जटापोखरी पुग्न दुई घण्टा लाग्छ ।
पोकली झरना
ओखलढुङ्गा जिल्लास्थित पोकली झरना नेपालकै दोस्रो अग्लो झरना हो । लिखु खोलाको उत्तरपूर्वबाट झर्ने यो झरनाको उचाइ करिब १३० मिटर छ । घना जङ्गलले ढाकेको गौरी वन पोकलीको अर्को आकर्षण हो । उच्च स्थानबाट खोलाको चट्टाने भागमा बजारिँदै झरेको पानीको बेगले छुट्टै आनन्द दिन्छ । अझ चट्टानमा पानी ठोक्किँदा देखिने इन्द्रेणीको दृश्य लोभलाग्दो हुन्छ । ओखलढुंगा पुगेपछि थोलेदाम्बा डाँडा पुग्नैपर्छ । यो डाँडा नेपालको नक्सा बनाउँदा प्रयोग गरिएका सात वटा डाँडामध्ये एक हो । यहाँबाट सगरमाथा, गौरीशंकरलगायतका हिमाली दृश्यहरू देख्न सकिन्छ । पोकली पुग्न सदरमुकामदेखि १२ घण्टा पैदल हिँड्नुपर्छ । राजधानी काठमाडौंदेखि सोझै पोकली झरना पुग्न भने करिब दुई सय किलोमिटरको दूरी पार गरेर एक घण्टा पैदल हिँड्नुपर्छ । काठमाडौंबाट काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुली, रामेछाप हुँदै पोकली झरना पुग्न सकिन्छ ।