Successfully Copied

बालीको वैभव

विश्वकै सबैभन्दा ठूलो विष्णुको मूर्ति, कलात्मक मन्दिरहरू, ठूल्ठूला आधुनिक कृषि फार्म तथा सामुद्रिक किनारमा खेलिने विविध खेल यहाँका विशेषता हुन् ।

नेपालबाट ५ हजार २ सय ६३ किलोमिटर दक्षिण ५ हजार ७ सय ८० वर्ग किलोमिटरमा फैलिएको समुद्रको बीचमा रहेको टापु हो–बाली । इन्डोनेसियाको यो प्रमुख पर्यटकीय क्षेत्रमा ४२ लाख मानिस बस्छन् । यो टापुको नेपालसँग मिल्ने सबैभन्दा ठूलो कुरा भनेको धार्मिक आस्था हो । ८२ प्रतिशत हिन्दू भएको हाम्रो देशझैं बालीमा ८३ प्रतिशत हिन्दू धर्मावलम्बी छन् । प्रत्येक घरमा मन्दिर र प्रत्येक चोकमा देवीदेवताका कलात्मक मूर्ति यहाँका प्रमुख विशेषता हुन् । बाली धार्मिक मात्र नभएर विश्व प्रसिद्ध पर्यटकीय स्थल पनि हो । प्रत्येक वर्ष ७० लाख बढी मानिस विश्वका कुना–कुनाबाट यो टापुको सौन्दर्य नियाल्न पुग्छन् । समुद्री किनार, विश्वकै सबैभन्दा ठूलो विष्णुको मूर्ति, कलात्मक मन्दिरहरू, ठूल्ठूला आधुनिक कृषि फार्म तथा सामुद्रिक किनारमा खेलिने विविध खेल यहाँका विशेषता हुन् । 

त्यति मात्र होइन यहाँका हरेक घर कलात्मक भएका कारण आफै सांस्कृतिक एवं पर्यटकीय महत्व राख्ने उदयाना विश्वविद्यालयमा अध्यापन गर्ने माधे केर्ता बताउँछन् । धार्मिक सामीप्यताका हिसाबले भारत, बंगालादेश, श्रीलंका तथा मालदिप्ससँगै नेपालबाट बाली पुग्नेहरूको संख्या उच्च छ । चीन, कोरिया, अस्ट्रेलिया, जापान, अमेरिका आदिबाट बाली पुग्ने घुमन्तेहरूको संख्या बढी हुन्छ । यति सानो क्षेत्रफल भएको बाली टापुमा किन यत्रा पर्यटक आउ“छन् त ? त्यसको पहिलो कारण यो टापुको सौन्दर्य नै हो । 

सौन्दर्यका साथै यो सहर अति सुरक्षितसमेत मानिन्छ । पछिल्ला १६ वर्षमा यहाँ कुनै किसिमको हिंसात्मक घटना भएको छैन । १२ अक्टोबर २००२ मा पर्यटकहरूको अत्यधिक चहलपहल हुने कुताबीचस्थित एउटा डान्स क्लब छेउमा आत्मघाती बम विस्फोट भएको थियो । उक्त विस्फोटमा विस्फोटन गराउने २ जनासहित २१ देशका २ सय ४ जनाको मृत्यु भएको थियो भने २ सय ९ जना घाइते भएका थिए । उक्त घटनालाई बालीमा भएको अहिलेसम्मकै सबैभन्दा ठूलो हिंसात्मक घटना मानिन्छ । त्यसपछि बालीको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको माधेको भनाइ छ । त्यसपछि अहिलेसम्म बालीमा कुनै आतंककारी घटना घटेको छैन । 

घुमघामका लागि आउने पर्यटकले यहाँ भिसा सुल्क तिर्नु पर्दैन (अन एराइभल भिसा पाइन्छ) । अन्य कामले जानेहरूले भने भिसा शुल्क तिर्नुपर्ने हुन्छ । त्यति मात्र नभएर पर्यटकहरूलाई होटलहरूले दिने हस्पिटालिटी पनि गजवको छ । हुन त बालीको जहाँ गए पनि र जता पुगे पनि पर्यटकीय स्थल नै हो । यद्यपि केही ठाउँ नपुगी फर्कियो भने बालीको यात्रा अधूरो हुन सक्छ । 

तनालट 

सामुद्रिक किनार, ती किनार छेउका मन्दिर तथा सूर्यास्तको रमणीय दृश्य हेर्न तनालट तटमा प्रत्येक साँझ हजारौं पर्यटक पुग्छन् । यहाँको खास विशेषता भनेको समुद्रले हानेका चट्टानको सानो पहाडमा बनाइएका कलात्मक मन्दिरहरू नै हुन् । यी मन्दिरका बारेमा पौराणिक हिन्दू कथन पनि जोडिएको छ । ईस्वी सम्बत् १४ सयतिर पूर्वी जाभाबाट एक पुजारी हिन्दू धर्म फैलाउन बाली पुग्दा स्थानीय बासिन्दाहरूले फटाहा मानी उनको विरोध गरे । त्यसपछि ती पुजारीले आफ्नो शक्तिले ठूलो चट्टान उत्पत्ति गराएर सबैको मन जिते । उक्त कलात्मक चट्टानलाई उनले सूर्यास्तमा मनमोहक देखिने स्थानमा स्थापना गरेका हुन् भन्ने विश्वास रहँदै आएको छ । 

उलवाटा

बालीको तटीय क्षेत्रमा अवस्थित उलवाटा धार्मिक, सांस्कृतिक एवं पर्यावरणीय सबै किसिमले भरिपूर्ण स्थान हो । सामुद्रिक छालले हानेर बनाएको कडा चट्टान माथिको अग्लो ठाउँमा रहेको यो मन्दिर हेर्न हजारौं मानिस पुग्छन् । जंगलको बाटो हुँदै जानुपर्ने उक्त स्थानमा बाँदरहरूका विचित्रका गतिविधिसमेत अवलोकन गर्न पाइन्छ । यो ठाउँको रमाइलो विशेषता भनेको त्यहाँ जाँदा अनिवार्य रूपमा लुंगी लगाउनैपर्ने नियम पनि हो । यहाँबाट हजारौं किलो मिटर टाढासम्मको सामुद्रिक फाँट हेर्न सकिन्छ ।

 

वेसाकिह मन्दिर

बाली पुग्ने जोकोही हिन्दू पूर्वी बालीस्थित विसाखी नपुगी फर्कदैनन् । माउन्ट एङगङको उच्च स्थानमा रहेका यी रहस्यमय मन्दिर हेर्न धेरै सि“डी चढ्नुपर्छ । प्रत्येक मन्दिरको बनोट फरक–फरक छ भने प्रकृति पनि फरक छ । यहा“ एउटा नियम पनि छ–विसाखीका सबै मन्दिर घुम्न पाइन्छ तर मन्दिरभित्रका वस्तुहरू भने हेर्न पाइ“दैन । 

तेगालाल्याङ

तेगालाल्याङ बालीको कृषि क्षेत्र हो । नेपाली पहाडी भूभागजस्तो खेती भएको यो स्थानमा परम्परागत तथा आधुनिक शैली मिसाएर खेती गरिन्छ । विशेष गरी यहाँको धान खेती प्रसिद्ध छ । यो कृषि भूमि तथा खेतीपाती हेर्न हजारौं पर्यटक पुग्छन् । यहाँ पुग्ने पर्यटकहरूलाई स्थानीय बासिन्दाहरूले आफ्नो कला–संस्कृतिद्वारा स्वागत गर्छन् । 

कुताबीच

बाली पुग्ने कुनै पनि पर्यटक कुताबीच नपुगी फर्कदैनन् । १० किलोमिटर लामो सामुद्रिक तटमा दिनभर टहलिएर सूर्यास्त हेर्नेहरूको घुइँचो हुन्छ । यसलाई बालीको प्रमुख पर्यटकीय स्थलका रूपमा लिइन्छ । त्यहाँ सात तारे होटलदेखि अन्तर्राष्ट्रिय स्तरका डान्सबारहरू छन् । दिनभर रमाइला स्थानहरू घुमेर साँझ मनोरञ्जनका लागि रातभर जाग्ने पर्यटक यहाँ आइपुग्छन् । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल देनपरास विमानस्थल नजिकै रहेको यो सामुद्रिक तटलाई थाइल्यान्डको पटयापछिको एसियाको अर्को रमाइलो सामुद्रिक तट मानिन्छ । 

गरुणा विश्व कञ्चना

गरुणा विश्व कञ्चना बालीको एउटा सांस्कृतिक पार्क हो । दुवै हात काटिएका विष्णुको अजंगको मूर्ति यहाँको मुख्य विशेषता हो । देनपसार अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ मिनेटको यात्रामा पुगिने यो स्थान हिन्दू धर्मको संग्रहालय नै हो भन्दा फरक पर्दैन । यहाँ प्रत्येक साँझ भजन–कीर्तन गरिनुका साथै रामायणमा उल्लेख भएका विभिन्न कथा नाटकमार्फत प्रदर्शन गरिन्छ । गरुणा विश्व कञ्चना र बाली एक–अर्काका परिपूरक मानिन्छन् । ब्रह्मा, विष्णु, महेश, गरुड एवं अन्य देवीदेवताका साथै विभिन्न जनावरका मूर्तिले यो सांस्कृतिक पार्कको शोभा बढाएका छन् ।

 Image