Successfully Copied

‘मेरो दुःख पोख्ने साथी गीत हो’ - राधिका अधिकारी

गीतमा जीवन भेटियोस् भन्ने लाग्छ । त्यो कहिले माया भएर पोखिन्छ, कहिले समाजका अन्य घटनाक्रम गीतमा लेखिन्छ ।

 
अहिले केमा व्यस्त हुनुहुन्छ ?

धेरै वर्ष भएछ पहिलो एल्बम आएको । यो बीचमा केही फुटकर गीत रेकर्ड भैरहेका छन् । अब अर्को ‘सोलो एल्बम’ निकाल्नुपर्छ भन्ने लागेको छ । दोस्रो ‘एल्बम’को तयारीमा छु ।

गीत लेख्न के कुराले प्रेरित गर्छ ?

मेरा बुवा कविता लेख्नुहुन्थ्यो । उहाँले  लेखेका कविता पढ्दै हुर्किए । बुवा श्लोक पढ्नुहुन्थ्यो । हामी छोराछोरी बुवास“ग भाका मिलाएर पढ्दै हुर्कियौं । मेरो स्कुल समय साहित्यिक पत्रपत्रिकाका हिसाबले निकै ऊर्वर थियो । यी सबै कुराले लेखनमा प्रेरित ग¥यो । त्यो समय रेडियोमा बज्ने कार्यक्रम, स्कुलमा हुने अतिरिक्त कार्यक्रमले लेखनमा थप मलजल गरे ।

पहिलो एल्बम कहिले निकाल्नुभयो ?

०७२ मा मेरो पहिलो एकल एल्बम आएको हो । ‘किनारा’ मेरो पहिलो एल्बम हो । यसमा अञ्जु पन्त, राज सिग्देल, काव्य आचार्य, एन्जिला रेग्मीलगायतका गायक–गायिकाले स्वर दिएका छन् । त्यसमा सुरेश अधिकारी, सन्तोष श्रेष्ठ र सागर अधिकारीको संगीत छ । एल्बम विन्ध्यवासिनी म्युजिक कम्पनीले बजारमा ल्याएको हो ।


कस्ता गीतहरू बढी लेख्न रुचाउनुहुन्छ ?

गीतमा जीवन भेटियोस् भन्ने लाग्छ । त्यो कहिले माया भएर पोखिन्छ, कहिले समाजका अन्य घटनाक्रम गीतमा लेखिन्छ । खास यस्तै गीत लेख्छु भनेर मनमा गडेको जस्तो गीत आजसम्म लेख्न सकेकी छैन ।

तपाईंका गीतमा बढी दुःख पोखिएको जस्तो सुनिन्छ किन होला ?

म सुख आफ्नासँग बाँड्छु भने दुःख साट्ने मेरो साथी नै शब्द हुन् । ती दुःख कहिले गीत भएर पोखिन्छन् त कहिले लेख–रचना ।

‘मोडलिङ’मा पनि रुचि छ कि ?

त्यति ठूलो सपना नै छैन । तर रहर छ । मेरो यो रहर मेरी आमाका लागि हो । आमाले मेरो पहिलो गीतको म्युजिक भिडियो हेरेर भन्नुभएको थियो, ‘त्यहाँका अक्षर म चिन्दिन, नाच्ने अरुनै छन् । देखिए पो मेरी छोरीको गीत हो यो भनेर मलाई थाहा हुन्थ्यो ।’ म त कामको सिलसिलामा कहाँ–कहाँ हुन्छु । एउटा गीतको भिडियोमा आफैंले ‘मोडलिङ’ गरेर आमालाई उपहार दिने रुचि छ ।

 Image