Successfully Copied

अरु महिलाहरूलाई पनि अघि बढाउने चाहना छ : फुड भ्लगर कान्छीमैया

फुड भ्लगर कान्छीमैया भण्डारीले अरू महिलाहरुलाई पनि अघि बढाउने चाहना रहेको बताएकी छिन् ।

फुड भ्लगर कान्छीमैया भण्डारीले अरू महिलाहरुलाई पनि अघि बढाउने चाहना रहेको बताएकी छिन् । कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित ‘निर्भीक नारी’ को तेस्रो सत्र 'प्रविधिमा अब्बल, जीवनमा सबल' मा कान्छीमैयाले आफू अगाडि बढ्दा अरूलाई पनि अगाडि बढाउन पाए हुन्थ्यो भन्ने लागेको बताइन् । ‘म धेरै परिवर्तन भइसकेँ। बोल्न सक्ने भइसकेँ । गाउँका अझै धेरै महिला पिछडिएका छन् । सुरुमा मलाई आफ्नो परिचय दिन पनि गाह्रो हुन्थ्यो । महिलाहरुलाई अघि बढ्नका लागि सीप तथा तालिम दिनुपर्छ,’ उनले भनिन् । सुरुमा भिडियो बनाउदा गाह्रो भएको उल्लेख गर्दै कसरी गर्ने के भन्ने र सबैले देख्ने होला भनेर डर लाग्ने बताइन् । तर आफ्नै छोराले खिचेको हो भनेर अप्ठ्यारो नमानी निरन्तरता दिँदै गएको उनले सुनाइन् ।

कान्छीमैयाले पहिलोपटक मोबाइल देख्दाको रोचक प्रसंग पनि सुनाइन् ।उनले भनिन्,‘बत्ती आएको ३–४ वर्षपछि मोबाइल देखेँ। तार पनि जोडेको छैन कसरी मान्छे बोलेको सुन्छ भन्ने भयो ।अहिले धेरै परिवर्तन भएको छ । गाउँघरमा अझै त्यस्तै मान्छेहरु पनि छन् । उनीहरुकोलागि केही गर्न पाए र महिलालाई अघि बढाउन पाए भन्ने चाहना भने छ ।’

धादिङको नीलकण्ठ–१२ सांकोस घर भएकी उनले २०५८ सालमा पहिलो पटक बिजुली बत्ती देखेको बताइन् । उनले ती दिन सम्झिँदै भनिन्–‘बत्ती पुग्दा स्वीच राखियो ।मट्टीतेल पनि छैन कसरी बल्छ?भन्ने पनि लाग्यो। स्विच दबाएपछि करेन्ट आउँछ छुँनुहुदैन । छोएपछि यसले तान्छ होला मर्छ पनि भन्थे ।’ उनले कोरोना महामारीका समयमा युट्युब च्यानल सुरु गरेकी हुन् । उनको छोराले युट्युब च्यानल खोल्न सुझाए । उनको 'कान्छी किचेन' नामक युट्युबमा २ वर्षमा ३ लाख ५५ हजार सस्क्राइब्ररहरु भइसकेका छन् । उनले अहिले च्यानलबाट राम्रो आम्दानी भइरहेको बताइन् । उनले पहिलो भिडियोमा माछा र ढिँडो पकाएर बनाएको स्मरणसमेत गरिन् ।

उनले आफ्नो गाउँको उब्जनी गरेको मास, भत्मास, देश विदेश पुर्‍याउने इच्छा व्यक्त गरिन् । उनले भनिन्–‘गुन्द्रुक खान पाएका मान्छेले खान पाएका छैनन् । आफ्नो देशको खानेकुरा पनि विदेश पठाउन पाए हुन्थ्यो नि । ठूलो कुरा के लाग्छ मेरो साथीहरुले अंग्रेजीमा कुरा गर्नुहुन्छ तर नेपालीमा त्यति शब्द मिलाएर कुरा गर्न सकिन । मैले पनि अंग्रेजीमा बोल्न पाए राम्रो हुन्थ्यो । म सँगसँगै अरुलाई पनि अघि बढाउन पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्छ । धेरैले कान्छी किचेनको दिदी र आमा भनेर सोध्छन् खुसी लाग्छ ।'

 Image