Successfully Copied

महिलाहरु हरेक कुरामा अपग्रेड हुनुपर्छ ।

राष्ट्र बैंक र सरकारको नीति नै महिलाहरूलाई प्राथमिकतामा राख्न भनेको छ ।


नमिता दीक्षित
चिफ रिस्क अफिसर, नबिल बैंक
पछिल्लो समय बैंकिङ क्षेत्रमा महिलाहरुको उपस्थिती बाक्लिदै गएको छ । बैंकप्रति महिलाहरुको आकर्षण किन बढिरहेको छ ? महिलाहरुलाई नेतृत्व तहसम्म पुग्नलाई के–कस्ता चुनौतीहरु छन् ? महिलाहरूको स्तरोन्नतिका लागि बैंकहरूले के–कस्ता सुविधा दिँदै आएको छ ? यी र यस्तै विषयमा केन्द्रित रहेर नबिल बैंकका चिफ रिस्क अफिसर नमिता दिक्षितसंग गरिएको कुराकानीको संपादित अंशः


बैंकिङ क्षेत्रमा महिलाको अवस्था कस्तो छ ?
बैंकहरूको ‘इन्ट्री लेभल’ मा महिला कर्मचारीको अनुपात धेरै देख्न सकिन्छ । ५०–६० प्रतिशतको अनुपातमा महिला कर्मचारी छन् । माथिल्लो तह पुग्दै जाँदा भने महिला कर्मचारी कम हुँदै जान्छन् । यसमा एक प्रतिशतको अनुपात पुग्न पनि गाह्रो छ ।


यसको कारण के हो ?
सामाजिक र प्राकृतिक बाधाहरूको कारण महिलाहरू सक्षम भएर पनि पछाडि परेका छन् । विवाह र बच्चा भएपछि घर–व्यवहारमा फस्ने भएकाले उनीहरू आफूलाई ‘अपग्रेट’ गर्न सक्दैनन् । साथै कामलाई निरन्तरता दिन गाह्रो हुन्छ ।


बैंकिङ क्षेत्रमा नेतृत्वमा आउन महिलाले के गर्नुपर्छ जस्तो लाग्छ ?
महिलाहरू आफै जागरुक हुनुपर्छ । घर व्यवस्थापनमा श्रीमान् र परिवारसँग सहयोग माग्नुपर्छ । आफूलाई सधैं अपग्रेड गर्दै लैजानुपर्छ । थोरै ‘डिमान्डिङ’ पनि हुनुपर्छ । पुरुषको तुलनामा महिलाको कामप्रति लगाव बढी हुन्छ । यो तथ्यलाई सबैले बुझ्नुपर्छ ।


बैंकिङ कारोबारमा महिला कत्तिको सचेत छन् ?
पछिल्लो समय महिलाहरू धेरै सचेत हुँदै गएका छन् । बचत गर्ने बानीको विकास भएको छ । बैंकले दिएका सेवा–सुविधाको प्रशस्त लाभ उठाएका छन् । नारी बचत खाता, लकरको सुविधा लिने गरेका छन् । पुरुषहरूको तुलनामा बचतमा महिला नै अग्रसर देखिन्छन् ।


महिलाहरूको स्तरोन्नतिका लागि बैंकहरूले के–कस्ता सुविधा दिँदै आएको छ ?
राष्ट्र बैंक र सरकारको नीति नै महिलाहरूलाई प्राथमिकतामा राख्न भनेको छ । सहुलियत कर्जा, बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था छ । महिला लक्षित विभिन्न योजनाहरू छन् । कर्जादेखि बचतमा आकर्षक ब्याजदर र विभिन्न सेवा सुविधामा छुट छ । महिलालाई ऋण प्रवाह सहजै हुन्छ । यसले महिला उद्योगीहरूलाई अझ प्रेरित गर्छ । 

 Image