Successfully Copied

कान्छीमायाको वेग

नेपाली एथलेटिक्समै सर्वाधिक सफल महिला धाविका कान्छीमाया कोजूले मध्यम दूरीको दौडमा लगातार वर्चस्व कायम राख्दै आएकी छिन् ।

नेपाली एथलेटिक्समै सर्वाधिक सफल महिला धाविका कान्छीमाया कोजूले मध्यम दूरीको दौडमा लगातार वर्चस्व कायम राख्दै आएकी छिन् । गत महिना उनले महत्वपूर्ण दुईवटा उपाधि हात पारिन् । स्तन क्यान्सरसम्बन्धी चेतना जगाउँदै महिला सशक्तिकरणको अभियान चलाउने उद्देश्यले सम्पन्न पिंकाथन हाफ म्याराथनमा कोजुले नयाँ राष्ट्रिय कीर्तिमानसहित उपाधि जितिन् । १ घन्टा १८ मिनेट २८ सकेन्डमा दौड पूरा गरेकी कान्छीमायाले २००६ को बर्लिन म्याराथनमा निर्मला भारतीले बनाएको कीर्तिमान तोडेकी हुन् । महिला सशक्तिकरणका साथै स्वास्थ्य जनचेतनाका लागि आयोजित रेस जित्नुको विशेषता त आफैमा थियो, त्यसका साथै राष्ट्रिय कीर्तिमान समेत तोड्दा उनका लागि पिंकाथन अझ विशेष रह्यो । त्यसैगरी कान्तिपुर पब्लिकेसन्सको २४ सौं वार्षिकोत्सवको अवसरमा सम्पन्न कान्तिपुर हाफ म्याराथनमा पनि उनले जित हात पारिन् ।

कान्छीमाया यो प्रतियोगिताकी सबैभन्दा सफल खेलाडी हुन् । सन् २०११ मा प्रारम्भ भएको यो दौडमा उनी प्रथम संस्करणकी विजेता हुन् । त्यसपछि सन् २०१३ र २०१४ मा पनि प्रथम भएकी कान्छीमायाले यसपल्टको सातौं संस्करणमा फेरि बाजी मारिन् । कान्छीमायाले यो दौड जितेको चारपल्ट भएको छ । दौडको सात वर्षको इतिहासमा उनी प्रत्येकपल्ट बलियो दावेदार रहँदै आएकी छिन् । उनले यसअघि गत पुसमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोतामा पनि १० हजार तथा ५ हजार मिटर दौडमा स्वर्ण पदक हात पारेकी थिइन् ।

 Image