लेखक बन्न धेरै पढ्नुपर्छ
हालसम्म मेरा कथा संग्रह पााच वटा बाल कथा संग्रह एउटा र पाँच वटा नियात्रा संग्रह गरी जम्मा एघार वटा पुस्तक प्रकाशित भइसकेका छन् ।
अनुपम रोशी, साहित्यकार
वर्ष २०७२ मा धेरै पुस्तक प्रकाशन भए । त्यसमध्ये महिलाका कृति भने उति थिएनन् । प्रकाशनमा आएका महिलाका पुस्तकको पनि त्यति चर्चा हुन सकेन । यो वर्ष महिलाका कृतिहरूले नाम चलेका पुरस्कार पनि प्राप्त गर्न सकेनन् । यति हुँदाहुँदै पनि साहित्यकार अनुपम रोशीको चर्चा आकासियो । ‘नाङ्गो मान्छे, ‘कुमारी आमा’ जस्ता कृतिकी लेखिका अनुपमले ‘छोरी मान्छेले बच्चा जन्माउन विवाह गर्नुपर्ने बाध्यता छैन’ भनेर दिएको अन्तर्वार्ता गैरसाहित्यिक व्यक्तिहरूका लागि पनि आश्चर्यको विषय बन्यो । ‘साप्ताहिक’ मा प्रकाशित उक्त अन्तर्वार्ता इन्टरनेटमा भाइरल भएको थियो । उनका कृतिले पनि यस्तै वकालत गरेका छन् । अविवाहित अनुपम आफ्नो निर्णयमा अडिग रहेको बताउँछिन् ।