Successfully Copied

मिलनसार डा. मिलन

नेपालमा नाक, कान, घाँटीका रजिस्टर्ड डाक्टर जम्मा १ सय १० जना छन्, तीमध्ये एक हुन्-डा. मिलन महर्जन ।

नेपालमा नाक, कान, घाँटीका रजिस्टर्ड डाक्टर जम्मा १ सय १० जना छन्, तीमध्ये एक हुन्-डा. मिलन महर्जन । नरम, मिजासिली एवं शान्त स्वभावकी डा. मिलनले छात्रवृत्ति पाएर चीनबाट एमबीबीएस पूरा गरेपछि अष्ट्रेलियाबाट फेलोसिप गरेकी हुन् । धरानको बी.पी. फाउन्डेसनबाट नाक, कान, घाँटी विषयमा एम.डी. गरेकी मिलनले ८ वर्ष काठमाडौं मेडिकल कलेजमा एसिस्टेन्ट प्रोफेसरका रूपमा काम गरिन् । डा. मिलन नेपालगञ्ज जाँदा त्यहाँका बालबालिकाहरूमा कानको विकराल समस्या देखेपछि केएमसीको जागिरै त्यागिन् । घरपरिवारसँग सल्लाह गरेर शिशु नजन्माउने कठोर निर्णय गरिन् र समस्या पीडित, विपन्न बालबालिकाका लागि आर्थिक सहायता तथा समय दिन थालिन् । मिलनले दुई जना छात्रालाई निजी स्कुलमा पढाइरहेकी छिन् भने इयर केयर नेपाल नामक संस्था खोलेकी छिन् । संस्थामार्फत उनले ललितपुरका ३८ वटा सरकारी स्कुलका ८ हजार विद्यार्थीलाई जाँच गरिसकेकी छिन् । मिलन प्राथमिक कान शिक्षा दिने, समस्या भएका अभिभावकलाई भेट्ने तथा आवश्यक भए अप्रेसन गरिदिने काम गर्छिन् । अहिलेसम्म १ सय जना बालबालिकाको निशुल्क अप्रेसन गरि सकेकी डा.मिलन यसैमा रमाइरहेकी छिन् ।

मेहनती शेर्पा

 भौगोलिक संरचना मात्र होइन लुक्लाको वातावरण तथा परिवेश पनि जोकोहीले पचाउन सक्ने हुँदैन । यस्तै परिवेशमा लुक्लामा होटल स्थापना गरी त्यसको व्यवस्थापन गर्ने ३१ वर्षीया पासाङ माया शेर्पाको एभरेस्ट माउन्टेन होटल त्यस क्षेत्रकै उत्कृष्ट होटल मानिन्छ । होटल व्यवसायमा होमिए पनि उनी पढाइमा निकै अगाडि थिइन् । यद्यपि शेर्पा अध्ययनलाई निरन्तरता दिन आफ्नो गाउँबाहिर जान चाहिनन् । सन् २००० मा वैवाहिक जीवनमा बाँधिएकी पासाङले होटल व्यवसायलाई निरन्तरता दिइन् ।

उनलाई सिजनमा भ्याइनभ्याइ हुन्छ । गाइड तथा सौन्दर्यसम्बन्धी तालिम पनि लिएकी पासाङको मेहनतले गर्दा नै यो होटलले ठूलो सफलता हासिल गरेको छ । शेर्पा भन्छिन्, 'उत्कृष्ट सेवा तथा सत्कार यो क्षेत्रको पहिलो आवश्यकता हो । आफ्नो गाउँको मायाले गर्दा यहीँ भुल्न मैले यो व्यवसाय सुरु गरेकी हुँ ।

सौन्दर्यमा ममता

भारतको देहरादुनमा जन्मिएकी ममता राईले स्कुले जीवन त्यहीँ बिताइन् । उनका बुवा भारतीय सेनामा थिए भने आमा गृहिणी । घरमा कडा अनुशासनमा बस्नुपथ्र्याे जुन कुराको छाप उनको जीवनमा अहिलेसम्म परेको छ । नेपाल आएर पिके क्याम्पसमा भर्ना भएपछि उनको विवाह भयो । विवाहपछि ममताले सौन्दर्यसम्बन्धी तालिम लिएर पार्लर संचालन गरिन् । उनको यो यात्रा सुरु भएको अहिले २० वर्ष पूरा भएको छ । यो अवधिमा उनले हजारौं महिलालाई सुन्दर बनाइन् । अहिले उनी पार्लरबाहेक समाज सेवामा पनि लागेकी छिन् । हाल सौन्दर्यकला व्यवसायी संघ ललितपुर जिल्ल्ाा अध्यक्ष ममता आफ्नो कार्यकालमा राम्रा तथा नौला कार्य गर्ने योजनामा छिन् ।

 Image