Successfully Copied

भावनात्मक सम्बन्ध संकटमा 

नचिनेका मानिससँग मित्रता गाँस्दा, उसका हरेक क्रियाकलाप मन पराउँदा, लाइक र कमेन्ट गर्दा, च्याट गर्दा दम्पतीबीच शंका, उपशंका एवं अविश्वास बढाउँछ । सामाजिक सञ्जालको प्रयोग गर्दा गोपनीयताको ख्याल नगर्नाले कतिपय दम्पती सम्बन्धविच्छेदसम्म पुग्छन् ।

मधुविलास खनाल- मनोपरामर्शदाता

सामाजिक सञ्जालले दाम्पत्य जीवनमा कस्तो असर गरेको छ ?

प्रत्यक्ष देखिने खालको छ । सामाजिक सञ्जालको सदुपयोगभन्दा पनि बढी दुरुपयोग भएजस्तो लाग्छ । यसलाई नकार्न सकिँदैन । यसले दम्पतीबीच माया–ममताको अभाव भएको महसुस गराएको छ । भावनात्मक सम्बन्ध संकटमा पारेको छ । त्यसका साथै मानसिक स्वास्थ्यमा समेत असर गरेको छ । गलत बानीको विकास हुने लत लगाएको छ जसले मानसिक रोगी बनाउँछ । लहडमा मनको कुरा पोस्ट गर्दा त्यसको परिणाम दाम्पत्य जीवनमा नराम्रो आउन सक्छ । सम्बन्ध बिगार्न सक्छ ।

सामाजिक सञ्जालको प्रयोगमा दम्पतीले के–कस्ता गल्ती गर्छन् ? जसले उनीहरूबीच आशंका र अविश्वास उत्पन्न गरिदिन्छ । 

सामाजिक सञ्जालमा विभिन्न खालका तस्बिर, स्टाटस अपलोड गर्ने, अरूले अपलोड गरेका सामग्रीमा लाइक तथा कमेन्ट गर्ने, फ्रेन्ड रिक्वेस्ट पठाउँदा वा एसेप्ट गर्दा ख्याल नगर्नाले दम्पतीमा मनमुटाव हुन्छ । नचिनेका मानिससँग मित्रता गाँस्दा, उसका हरेक क्रियाकलाप मन पराउँदा, लाइक र कमेन्ट गर्दा, च्याट गर्दा दम्पतीबीच शंका, उपशंका एवं अविश्वास बढाउँछ । सामाजिक सञ्जालको प्रयोग गर्दा गोपनीयताको ख्याल नगर्नाले कतिपय दम्पती सम्बन्धविच्छेदसम्म पुग्छन् ।

यसको सामाधान के हो त ?

जसको पायो त्यसको, नचिनेका, नजानेका मानिसहरूसँग मित्रता नगाँस्ने, स्टाटस लेख्दा विचार गरेर लेख्ने, कतिपय कुरा मनपर्‍यो भन्दैमा पोस्ट गरिनहाल्ने, लहडमा नलाग्ने । मैले गरेको कार्यले हाम्रो वैवाहिक जीवनमा कस्तो असर पार्ला ? परिणाम कस्तो आउला भन्ने कुरा सोच्नुपर्छ । त्यसका साथै हरेक नागरिक आफैं सचेत हुनुपर्छ । मिडिया, सरकारी तथा गैरसरकारी संस्थाहरूबाट पनि सामाजिक सञ्जालको सही प्रयोग कसरी गर्ने, कसरी चलाउने भनेर जनचेतना जगाउनुपर्छ । जनचेतनामूलक कार्यक्रम चलाउनुपर्छ । विद्यालयमा बालबालिकालाई यसको फाइदा तथा बेफाइदाका बारेमा सिकाउनुपर्छ । परिवार आफै पनि सचेत रहुनपर्छ ।

 

 Image