Successfully Copied

गर्भवतीलाई चाहिन्छ  जाडोमा थप स्याहार

धेरै गर्भवती महिलाहरू चिकित्सकसँग परामर्श गर्न नरुचाउने रतथा कतिले त परामर्शपछि चिकित्सकले लेखेको औषधि पनि सेवन नगरेको पाइन्छ । गर्भावस्थामा आफूखुसी औषधि सेवन गर्नु गलत हो तर चिकित्सकको परामर्शको पालना वा चिकित्सकले प्रेस्क्राइब गरेको औषधि सेवन गर्नुपर्ने हुन्छ । समयमै आवश्यक औषधि प्रयोग नगर्दा रोग

गर्भावस्था आफैंमा एउटा जटिल अनि विशेष अवस्था हो । यस्तो अवस्थामा आमा बन्ने खुसी मात्र जोडिएको हुँदैन्, गर्भसँग सामाजिक, पारिवारिक तथा आत्मीय सम्बन्ध पनि हुन्छ । गर्भावस्था महिलाहरूको नारी र नारीत्व झल्काउने जीवनको एउटा महत्वपूर्ण अवस्था हो । दाम्पत्य जीवनको सफलता अनि नयाँ अनुभवसँगै शारीरिक, मानसिक अनि भावनात्मक परिवर्तनका साथ सबै जिम्मेवारी एकसाथ आउने भएकाले पनि होला, गर्भवती महिलाहरूमा अनेकौं जिज्ञासा पाइन्छ । यस क्रममा अब बललिँदो मौसम तथा समयसँगै थपिएको चिसोमा के गर्ने ? गर्भस्थ शिशुलाई गार्‍हो पो हुन्छ कि ? भन्ने जस्ता जिज्ञासा हुनु स्वाभाविक हो ।

जाडो हुनेबित्तिकै वा वातावरणीय तापक्रम कम हुँदैमामा आत्तिनु हुँदैन, तर मौसमसँगै आफूलाई स्वस्थ राख्न केही सावधानी अपनाउनैपर्छ । चिसो मौसममा पनि हाम्रो शरीरको तापक्रम स्थिर रहनुपर्छ । चिसोमा आफूलाई तातो बनाउन सबैभन्दा पहिले पहिरनमा ध्यान दिनुपर्छ । मौसमअनुसार बाक्लो तथा तातो पहिरन लगाउनुपर्छ । शरीरलाई पूर्णरूपले ढाक्ने तर खुकुलो पहिरन रोज्नु उपयुक्त हुन्छ । गला (घाँटी) छोप्नु तथा मास्क लगाउनु उत्तिकै आवश्यक छ । खुट्टा छोप्न जुत्ता लगाउन सकिन्छ । पहिरनले चिसोका साथै मौसम परिवर्तनले सताउने रुघाखोकी तथा भाइरल संक्रमणहरूबाट पनि जोगाउँछ । विदेशतिर गर्भवतीहरूले रुघाखोकी तथा भाइरल संक्रमणविरुद्ध भ्याक्सिन लगाउने चलन पनि छ । यो मौसममा गर्भवती महिलाहरू धेरै बाहिर बस्नुभन्दा पनि न्यानो तर नगुम्सिने कोठामा बस्नु उपयुक्त हुन्छ ।

जाडो मौसममा पानी भन्नेबित्तिकै सातो जान्छ, यतिबेला पानी छुने, नुहाउने अनि पिउने काममा कमी आउनु स्वाभाविक हो, तर यस्तो अवस्थामा चिसोका साथसाथै अन्य रोगहरूबाट पनि जोगिनुपर्छ । गर्भावस्थामा पाठेघर ठूलो हुन्छ, यसले पिसाब नली (युरेथ्रा) लाई थिच्छ, साथै युरिनस्टासिस पनि हुनसक्छ । त्यसैले गर्भावस्थामा युटिआई हुने सम्भावना बढी हुन्छ । यस्तो स्थितिमा पानी तथा झोल कुरा बढी सेवन गर्नुपर्छ । चिसो पानी पिउन गार्‍हो भए मनतातो पानी पिउन सकिन्छ । यसका साथै कागतीपानी, महपानी तथा सुप पनि खान सकिन्छ ।

त्यस्तै पानी चिसो छ भन्दैमा सरसफाइमा कमी गर्न मिल्दैन । हुन त संक्रमणबाट जहिले पनि जोगिनुपर्ने हुन्छ । यद्यपि गर्भावस्थामा अझ बढी ध्यान पुर्‍याउनुपर्छ । त्यसैले राम्रोसँग हात धुने, सफा र सुकिलो पहिरन लगाउने, शारीरिक सरसफाइ, भित्री अङ्गहरूको सफाइका साथ वातावरणीय सफाइमा पनि ध्यान पुर्‍याउनुपर्छ । चिसो मौसम अनि चिसो पानी भनेर यस्ता कुरामा बेवास्ता गर्नुहँुदैन । खानेकुराहरू पनि सफा गरेर मात्र सेवन गर्नुपर्छ ।

जाडो मौसममा छालाको समस्याले पनि सताउँछ । गर्भवतीहरूको छाला फुस्रो हुन्छ, त्यसमाथि चिसो मौसम, त्यसैले छाला फुट्ने, चिलाउने तथा सुख्खा हुने समस्या बढी नै देखापर्छ । छालाको स्याहार गर्न तेल वा मोइस्चराइजर लगाउन सकिन्छ । गर्भावस्थामा छुट्टै स्याहार होइन, बढी स्याहार चाहिन सक्छ । अन्य समयमा जस्तै जाडोमा पनि गर्भवतीहरूले पोसिलो खाना, फलफूल तथा झोल एवं रेसा भएका खानेकुरा बढी खानुपर्छ । शारीरिक व्यायाम, नियमित स्वास्थ्य परीक्षण, आराम आदि गर्नुका साथै मानसिक तनाव र भयबाट टाढै बस्न सके राम्रो हुन्छ । जति सावधानी अपनाए पनि गर्भावस्थामा बिमारी नहुने, चिसोले नच्याप्ने भन्ने हुँदैन । गर्भावस्थामा बिमारी भए तुरुन्त चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

धेरै गर्भवती महिलाहरू चिकित्सकसँग परामर्श गर्न नरुचाउने रतथा कतिले त परामर्शपछि चिकित्सकले लेखेको औषधि पनि सेवन नगरेको पाइन्छ । गर्भावस्थामा आफूखुसी औषधि सेवन गर्नु गलत हो तर चिकित्सकको परामर्शको पालना वा चिकित्सकले प्रेस्क्राइब गरेको औषधि सेवन गर्नुपर्ने हुन्छ । समयमै आवश्यक औषधि प्रयोग नगर्दा रोग बढ्नुका साथै जटिलता थपिन सक्छ । गर्भवतीहरूले जाडो मौसम आयो भनेर आत्तिनु हुँदैन बरू मौसमअनुसार सावधान हुनु जरूरी छ ।

 Image