Successfully Copied

साउनको खडेरी

साउन लागेदेखि नै जुनुको अनुहारमा चन्द्रमा हराएका हुन् । असार मसान्तसम्म उनको अनुहारमा चन्द्रमा उदाएकै थिए । असारको अन्तिम रात बाह्र बजेसम्म बसेर हाँस्दै हातगोडामा बेहुलीले झैं मेहेन्दी लगाएर साउनलाई हृदयबाटै स्वागत गरेकी थिई ।


साउन लागेदेखि नै जुनुको अनुहारमा चन्द्रमा हराएका हुन् । असार मसान्तसम्म उनको अनुहारमा चन्द्रमा उदाएकै थिए । असारको अन्तिम रात बाह्र बजेसम्म बसेर हाँस्दै हातगोडामा बेहुलीले झैं मेहेन्दी लगाएर साउनलाई हृदयबाटै स्वागत गरेकी थिई ।
साउने संक्रान्तिको दिन नन्द–आमाजू, भान्जाभान्जी आएकाले जुनुको खुट्टा भुइँमा थिएन । आमाजू–नन्दलाई साउनको योजना तीन हातमाथि उफ्रिएर सुनाउँदै थिई जुनु ।
आमाजूले पनि जुनुलाई साउनको कोसेली प्रशस्त ल्याइदिएकी थिइन् । हरियो चुरा, हरियो टीका, हरियो पोते, हरियो नेलपोलिस, कपाल चेप्ने काँटा पनि हरियै थियो ।
साउने संक्रान्तिको दिन जुनु नयाँ दुलही जसरी भित्रबाहिर गरिरहँदा पनि ऋषिको मन अँध्यारिएको थियो । एकपटक पनि जुनुलाई ऋषिले नियालेर हेरेन । हुन त कोरोना कहरदेखि नै ऋषि अल्पभाषी भैसकेको थियो । त्यो दिन त झन् बिहानैदेखि ऋषिको ओठमा बाँध नै लाग्यो । जुनुले त्यो कुरा चालै पाइन, आफ्नै मनको घोडा दगुराइरही ।
डाँडाले घाम निल्नुअघि नै ऋषिको अनुहारको सूर्य डुबिसकेको थियो । साँझपख पाहुना बिदा भए । सुत्ने बेलामा हृदयको गर्तबाट लामो श्वास तान्दै ऋषिले जुनुलाई सम्झाउन थाल्यो–‘जुनु एकाध महिना हात अलि साह्रो पार है । आर्थिक मन्दीले व्यापार ठप्प छ । लगानी उठेको छैन । ऋण तिर्न सकेको छैन । मान्छेहरू सटर बन्द गरेर धमाधम गाउँ फर्किदैछन् । अरूबेला जस्तो अवस्था छैन । खर्च कम गर । नानीको एसईईको नतिजा पनि आयो, कलेज भर्ना गर्नु छ । बीमाको पैसा पनि यही महिना तिर्नु छ । चाडपर्व, पाहुनापाछा के गर्नु यो वर्ष त मेरो हंसले ठाउ“ छोडिसक्यो कसरी धान्ने होला व्यवहार ?’
ऋषिका आँखा जेठ महिनाको इनारजस्तै भएका थिए ।
जुनु अर्को कोल्टे फर्केर फतफताउन थाली–
‘यी कानले पैसा छ भनेको कहिले सुन्न पाएका छन् र अनि यो वर्ष चाहिँ गाह्रो छ भनेको पत्याउनु । तिम्रै आडमा पसल राखेको श्याम दाइको स्वास्नीको फुर्ती रानीको जस्तो छ । उसको जस्तो सुनको रानीहार बनाइदेऊ भनेको छु र बरू नक्कली गहना लगाएर तिम्रै इज्जत जोगाइदिएकी छु, त्यो पनि खुइलिन आँटिसक्यो ।’
यो वर्ष अझ पाँचवटा सोमबार परेका छन् । समूहका सबै साथीले नयाँ–नयाँ हरियो साडी, चुरा, पोते, धागो किन्ने भनेका छन् । एउटा सोमबार लगाउन त दिदीले ल्याइदिनुभयो चुरा र पोते । अरू चारवटा सोमबार के म फेरि त्यही दोहो¥याएर लगाउनु ? छिमेकीका मुखुन्जेल मेरो के इज्जत रहन्छ ? हरेक सोमबार बेग्लाबेग्लै मन्दिर जाने सल्लाह भैसकेको छ । माइक्रो भाडामा लिने भएका छांै । भोकभोकै को हिँड्छ सार्वजनिक गाडीमा ? अनि फलफूल र ड्राइफ्रुट कति महँगो छ । साउनको खर्च त मलाई थोरैमा पनि बीस हजार चाहिन्छ, होइन भने आमाले दिएको त्यो औंठी बेचेर भए पनि साउन मनाउँछु ।’
ऋषिको मन अमिलो भयो । रातभरि ओल्टेकोल्टे फर्किरह्यो । जुनु एकैछिनमा घ्वारघ्वार गरेर घुर्न थाली । ऋषि सिलिङतिर हेर्दै टोलाउन थाल्यो ।
यस्ता मूर्खसँग कति वादविवाद गर्नु ? उमेर पनि त कच्चा छैन, बूढी हुन लागिसकी । कस्तो नबुझेको मेरो मर्का ? बोलौं भने फेरि महाभारत सुरु हुन्छ । हाम्रो झगडाले छोराछोरी र बाआमाको मनमा पहिरो जान्छ के गर्नु यस्तो घटेका बेलामा बेच्न नहुने सेयर जति जम्मै बेचेर भर्ना गर्न पैसो ठिक्क पारेको छु । महँगीले आकाश छोइसक्यो ।
‘अनिकालमा बीउ जोगाउनु, हूलचालमा जिउ’ भन्थे बूढापाकाहरू तर यसको आँखा ।
सधै साउनमा आँखा फुटेको गोरु’ भएको छ के गर्नु ?
यसलाई मात्र पनि के भन्नु ? समाज नै उर्लिएको छ । हाम्रा आमाले पनि साउन त मनाउँथे । यत्रो हल्लाखल्ला त हुँदैनथ्यो । भोलेबाबाको नाममा बोल्न पनि मिलेन । मन्दिर नजाऊ भन्न पनि मिलेन । आफैले बुझेर घरमै न्यासध्यान गरी चोखो लुगा लगाएर, चोखो खाए त भैहाल्थ्यो नि ।
शिवै आएर सम्झाए पनि टेर्ली जस्तो लाग्दैन ।
हे शिव † मेरो दुःख हर प्रभु । कसरी यो टाउको अड्याउनु यो परिस्थितिमा । आखिर मेरो पीडा स्वास्नीले त बुझ्दिन भने म कसलाई भनौं ।’
बिहान पूर्वबाट झलमल्ल घाम उदाए पनि जुनुको अनुहारमा अ“ध्यारो छाएकै थियो । जुनुले रातिदेखि मौनव्रत धारण गरेकी थिई । ठ्यास्स ल्याएर भातको थाल ऋषिको अगाडि राखिदिई । ऋषि नबोली भात खान थाल्यो ।
जुनु मात्र हो र दाल, तरकारी पनि सबै रिसाएका रहेछन् । दालमा नुनको खोलो पसेछ । तरकारीको जिउमा आगो सल्केछ । केही नबोली ऋषिले दालको कचौरामा खलल्ल पानी खन्याएर पानीदालस“ग दुई गास अन्न जबर्जस्ती निल्यो ।
पहिलो सोमबार ब्रम्हमूहर्तमा नै हल्लिखल्ली भयो टोलमा । समूहका नारी परीझैं भएर हिँडे ।
जुनु पनि पुरानो साडी सपक्क पारेर घरका ऋषिसँग संवाद बन्द गरेर पशुपतिनाथलाई खुसी पार्न गई ।
हप्ता दस दिनपछि केही सीप नलागेर ऋषिले खोजखाज गरेर दस हजार ल्याएर जुनुको हातमा थमाइदियो । जुनुको पारा उही थियो । भनिन्–यो दस हजारले के आउँछ, चाहिँदैन मलाई यो पैसा राख्नु आफै । मेरो बुद्धि पनि कस्तो यस्ता हरि कंगालसँग के आश गर्नू ।’
घरमा पुनः मूर्दाशान्ति छायो ।
दालमा नुनको खोलो पस्न छोडेन । तरकारीमा डढेलो लाग्न पनि छोडेन। ऋषि आकुलव्याकुल भएर त्यो दिन भातै नखाई पसल हिँड्यो । ऋषिको मन पसलमा पनि अडिएन । ऋषिको कानमा जुनुको हरिकंगाल शब्द गुञ्जन थाल्यो ।
ऋषि गएपछि जुनु पनि औंठी बोकेर न्यूरोडतिर दगुरी । पहेंलो धातु बेचेर हरियो साडी, हरिया चुरा, हरियो धागो चाहिएजति मन फुकाएर किनी जुनु भूगोलपार्क नजिकै आउँदै थिई ।
मोबाइलमा घण्टी बज्यो । ऋषिको रहेछ । ओठ लेपार्दै फोन नउठाई खुरुखुरु अगाडि बढ्दै गई । फोन आइरहेको थियो । न्यूरोड गेटभन्दा दाहिनेपट्टि पुगेपछि सुष्मासँग जम्का भेट भयो । सुष्माले नयाँ डिजाइनका नक्कली सुनका गहना झोलाबाट झिकेर देखाई ।
जुनुको मन पनि लोभियो । जाबो पाँच हजार हाल्दा यस्ता राम्रा गहना आउने रहेछन् किन चाहियो सुनको ।
म पनि किन्छु । आखिर ऋषिले यो जुनीमा सुन किनेर दिन सक्ने होइन । माइतीले दिएको औंठी भएर पो मेरा इच्छाहरू पूरा गर्न पाएँ । जुनुले पनि सुष्माको जस्तै नक्कली सुनका गहना किनी ।
जुनु भित्रभित्र मक्ख परी । आखिर मैले कति बुद्धि पु¥याएँ जाबो औंठी राखेर के गर्नु ?यत्रा सामानहरू आए, पैसा पनि छ । म कति बाठी । जुनुले आफैंलाई स्याबासी दिन थाली । आफ्नो बुद्धिलाई सलाम गर्दै गाडी चढ्न लाग्दा पुनः मोबाइल बज्यो । छोरीको रहेछ । मख्ख पर्दै जुनुले फोन उठाई । छोरी चिरिएर रोएको आवाजले जुनुको मुटु ढक्क फुल्यो । छोराछोरीको कोकोहोलोले जुनु झन् आत्तिन थाली । हतार–हतार पठाओ चढेर घर पुग्दा घरभरि छिमेकी र पुलिस भित्रबाहिर गरेको देखेर जुनु झसङ्ग भई । एक सासमा गेटमा पुगेर भित्र पस्न खोज्दा प्रहरीले रोक्यो ।
जुनु चिच्च्याउन थाली–‘यो मेरो घर हो । मलाई किन भित्र जान नदिने ?
के भयो मेरो घरभित्र ? के मैले थाहा पाउने हक छैन?’
पुलिसलाई धकेलेर भित्र पस्दा जुनुको हातका सामान भुईंभरि छरिए । चुरा झरम्म फुटे । सोच्दै नसोचेकी जुनुले आफ्नै जीवनमा साउने खडेरी देखी ।


 Image