Successfully Copied

महिला फुटबल

नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको ३३ वर्षे लामो इतिहासमा यसपटक अनपेक्षित जित हात परेको छ । हालसम्म ६ वटा अन्तर्राष्ट्रिय फाइनल (३ साफ, २ साग, १ हिरो गोल्डकप) स्पर्धामा सहभागिता जनाएको नेपाली महिला फुटबल टिम साफमा प्रायः भारतको सिकार हुँदै आएको थियो ।

नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको ३३ वर्षे लामो इतिहासमा यसपटक अनपेक्षित जित हात परेको छ । हालसम्म ६ वटा अन्तर्राष्ट्रिय फाइनल (३ साफ, २ साग, १ हिरो गोल्डकप) स्पर्धामा सहभागिता जनाएको नेपाली महिला फुटबल टिम साफमा प्रायः भारतको सिकार हुँदै आएको थियो । यही फागुन २८ गतेदेखि विराटनगरको सहिद रंगशालामा भएको महिला साफ च्याम्पियनसीप र सन् २०२० मा जापानमा हुने ओलम्पिक छनोटको तयारीका लागि यो टिमले गत महिना उडिसाको भुवनेश्वरमा सम्पन्न हिरो गोल्डकप प्रतियोगितामा सहभागिता जनाएको थियो । जसमा आफूभन्दा उच्च वरियताका भारत र इरानलाई पराजित गरेपछि नेपाल फाइनलमा पुग्यो । चार टिम सम्मिलित प्रतियोगितामा नेपालको प्रदर्शन बहादुरीपूर्ण रह्यो । शतप्रतिशत जितसहित ९ अंक बनाएको म्यानमारसँग कुल ६ अंक बनाएको नेपालले पहिलो खेलमा म्यानमारसँग ३–० को पराजय बेहोरेको थियो । 

त्यसयता उत्कृष्ट पुनरागमन गरेको नेपालले भारतविरुद्ध २–१ को ऐतिहासिक जित निकाल्यो । नेपाली महिला फुटबलको सिनियर टिमले भारतलाई हराएको यो पहिलो अवसर हो । सबैभन्दा तल्लो वरियताका कारण नेपाललाई कमजोर मानिएको हिरो गोल्डकपमा भारत र इरानलाई पछाडि पार्दै फाइनल यात्रा तय गरेको नेपालले आफूभन्दा स्तरीय र बलिया टिमविरुद्ध सुधारिएको प्रस्तुति मात्र दिएन फाइनलसम्मकै यात्रा तय गर्‍यो । यसबाट हौसिएका प्रशिक्षक हरि खड्का अब फागुन २८ देखि सुरु भएर १० दिनसम्म चल्ने पाँचौं साफ वुमेन्स च्याम्पियनसीपको उपाधि चुम्न कम्मर कसेर लागेको बताउँछन् । 

अघिल्ला चारमध्ये तीन संस्करणको फाइनल खेलेको नेपालले पहिलोपल्ट साफ वुमेन्स च्याम्पियनसीपको आयोजना गर्ने अवसर प्राप्त गरेको हो । सन् २०१४ मा इस्लामावादमा भएको फाइनलमा भारतले नेपाललाई ६–० ले हराएको थियो । दक्षिण एसियाली खेलकुदमा दुवै पटक नेपाल र भारत फाइनलमा पुगे पनि नेपाल कांस्य पदकमै रोकियो । सन् २०१६ मा सिलोङमा भएको बार्‍हौं सागको समूह चरणमा नेपालले भारतसँग गोलरहित खेल्दै ऊसँगको हारमा विराम लगाएको थियो । लगातारको असफलताका कारण भारतीय टिमविरुद्ध नेपाली खेलाडीको मनोबल पनि कमजोर भएको थियो । यसरी खस्किँदै गएको मनोबल उच्च पारिदिएको छ यसपटकको हिरो गोल्डकपमा भारतविरद्धको जितले । 

यसले नेपाली टिममा छुट्टै उत्साह एवं उमङ्ग भरिएको टिम क्याप्टेन निरु थापा बताउँछिन् । प्रशिक्षक हरि खड्का भने जितका लागि टिमवर्क र एक–अर्काप्रतिको विश्वासका साथै खेलाडीमा उच्च मनोबलको अत्यन्तै खाँचो हुने भएकाले सर्वप्रथम यी कुरामा गम्भीर रूपमा ध्यान पुर्‍याउनुपर्ने कुरा बताउँदै भन्छन्–यी सम्पूर्ण कुरामा हाम्रो टिम साइजमा आइसकेको छ । अब प्रशिक्षणद्वारा खारिनुपर्छ जसका लागि हामी दिनरात मेहनत गर्दैछौं ।

फाइनलमा नेपाली महिला टिम

वर्ष                   स्थान प्रतिद्वन्द्वी    प्रतियोगिता    गोल   
सन् २०१० ढाका भारत  साफ च्याम्पियनसीप       १–३ 
सन् २०१०    कक्स बजार  भारत दक्षिण एसियाली खेलकुद       ०–१
सन् २०१२   कोलम्बो भारत  साफ च्याम्पियनसीप     १–३
सन् २०१४  इस्लामावाद भारत  साफ च्याम्पियनसीप     ०–६
सन् २०१६  सिलोङ भारत दक्षिण एसियाली खेलकुद   ०–४

         सन् २०१८         भुवनेश्वर              म्यानमार            हिरो गोल्डकप               १–३

                    

हरि खड्का

प्रशिक्षक, राष्ट्रिय महिला फुटबल टिम

महिला फुटबल टिमको अहिलेसम्मको इतिहास हेर्दा धेरै अन्तर्राष्टिय प्रतियोगितामा नेपाल भारतसँग हारेको देखिन्छ । भारतविरुद्ध खेल्नुपर्‍यो भने मैदान टेक्नुपूर्व नेपाली खेलाडीमा हारको मानसिकता हावी भैसकेको हुन्थ्यो । जुन चुनौतीलाई चिर्न सकिएको छ भुवनेश्वरमा सम्पन्न हिरो गोल्डकपको जितद्वारा । मानसिकता बलियो बनाउनु र आत्मविश्वास भर्नुलाई मुख्य उपलब्धि मानेको छु । म आएपछि टिमलाई आत्मविश्वासी बनाउने मेरो योजनामा केही हदसम्म सफलता मिलेको छ । नोभेम्बर २०१८ मा म्यानमारको यंगुनमा भएको ओलम्पिक छनोटको प्रारम्भिक चरणमा भारतविरुद्ध निडर रूप देखाएको नेपालले निरु थापाको गोलले अग्रता लिएको थियो तर पहिलो हाफमै भारतले गोल गरेपछि खेल १–१ मा टुंगिएको थियो । घरेलु टिम म्यानमारविरुद्ध सावित्रा भण्डारीको पेनाल्टी गोलका कारण नेपालले तेस्रो मिनेटमै अग्रता लिए पनि १५ मिनेटभित्र गोल बेहोरेपछि त्यो खेल पनि १–१ मा टुंगिएको थियो । भुवनेश्वरमा सावित्राले सात मिनेटभित्रै २ गोल गरेपछि नेपालले २–० को अग्रता लियो । दोस्रो हाफमा भारतको चर्को दबाब झेल्नुपरे पनि २–१ को ऐतिहासिक जितसँगै भारतलाई उसकै घरमा हराउने मेरो सपना केटीहरूले पूरा गरिदिए । त्यही उत्साह र आत्मविश्वासले इरानविरुद्ध ३ गोल गर्न सफल भयो नेपाली महिला टिम । अबको हाम्रो योजना–सपना भनेको पाँचौं साफ वुमेन्स च्याम्पियनसीपको उपाधि चुम्नु हो ।

 

 Image