Successfully Copied

ट्राउट पालनमा युवा व्यवसायी

सफा, चिसो र बगिरहने पानीमा ट्राउट पाल्न सकिन्छ । सामान्यतया १२ सयदेखि २३ सय मिटर उचाइसम्म यसको व्यावसायिक पालन सफल मानिएको छ ।


व्यावसायिक रूपमा रेन्बो ट्राउट माछा पाल्नेको संख्या बढ्दै गएपछि यसको बजार पनि विस्तार हुन थालेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाको आकर्षण यो व्यवसायमा बढी देखिन्छ । अहिले सबैभन्दा धेरै बाग्मती र गण्डकी प्रदेशमा ट्राउट माछापालन गरिएको छ भने कोशी प्रदेशमा पनि यसको सुरुवात भइसकेको छ । बाग्मतीका रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे र दोलखामा व्यावसायिक ट्राउट पालन गरिन्छ । त्यस्तै गण्डकीका कास्की, पर्वत, बाग्लुङ र लमजुङमा ट्राउट पाल्ने किसानको संख्या बढ्दै गएको छ । कोशीका सोलुखुम्बु, तेह्रथुम र इलाममा भने ट्राउट पाल्नेहरूको संख्या विस्तारै बढ्दो छ । रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र धुन्चे रसुवाका प्रमुख महेन्द्र भण्डारीका अनुसार यसको व्यावसायिक पालन भने नुवाकोटका गोपाल लामाले सन् १९९० बाट सुरु गरेका हुन् । लामाले ट्राउटका भुरा मत्स्य अनुसन्धान केन्द्र त्रिशूलीबाट ल्याएका थिए । उनले सुरु गरेपछि ककनी क्षेत्रका रेस्टुरेन्ट र होटलमा यसको पालन थालियो, पछि अरु व्यवसायी पनि थपिँदै गए । काठमाडौंबाट साढे २२ किलोमिटरको दूरीमा रहेको ककनीमा पछिल्लो समय सडकको अवस्थाले ट्राउट पाल्नेहरूको संख्या केही घटेको छ । तर, यहाँ सार्वजनिक बिदाका दिन परिवारसहित घुम्न जाने र ट्राउटको स्वाद लिएर फर्किनेको भीड लाग्छ ।




अहिले सबैभन्दा धेरै ट्राउट सिन्धुपाल्चोकमा पालिएको छ, जसमा युवाकै आकर्षण बढी छ । उदाहरण हुन्, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका ३८ वर्षीय उत्तममणि भण्डारी । मेलम्ची खोलामा आएको बाढीले हेलम्बु–२ किउलका रिसोर्टसहितको फार्म बगाएपछि उनीसहितकोसमूहले ठूलो क्षति बेहोर्नुपर्‍यो । जग्गासहित १० करोडभन्दा बढी लगानी डुब्यो । तर यो समूहले हिम्मत हारेन, फेरि हेलम्बु–७ स्थित महांकाल ठूलोढुंगामा ट्राउट फार्म सुरु गरेको छ । उनी ७ वर्ष दुबई बसेर फर्किएका हुन् । यता आएपछि जयराम भण्डारी र इन्द्र भण्डारीसँग मिलेर उनले ट्राउट पालन सुरु गरे । अहिले १२ रोपनी जग्गा भाडामा लिएर एक लाख २५ हजार भुरा राखिएको छ । लस्करै ४० वटा रेसवे पोखरी निर्माण गरिएको छ । ट्राउट पालनमा उनीसँगै पूर्ववडाध्यक्ष खेतनाथ घिमिरे, कृष्ण घिमिरे, विवेक पौडेल, वेदमणि भण्डारी र नीलबहादुर खड्का छन् ।
रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र धुन्चेका प्रमुख महेन्द्र भण्डारीका अनुसार ५३ जिल्लामा ट्राउट पालनको सम्भावना छ । अहिले ४१ जिल्लामा ट्राउट पालन प्रविधिको विस्तार भएको छ । ट्राउट पाल्ने किसानको संख्या देशभर १ सय ५० हाराहारी छ । ५० जनाले व्यावसायिक रूपमा ट्राउट पालेका छन् । यसको पालनमा ३५ देखि ५० वर्ष उमेर समूहका बढी छन्, जसमा ६० प्रतिशतभन्दा बढी पुरुष नै रहेको प्रमुख भण्डारी बताउँछन् । गत वर्ष मात्र ६ सय ७१ मेट्रिक टन ट्राउट उत्पादन भएको थियो । यो वर्ष गत वर्षभन्दा बढी हुने अनुमान छ ।

सफा, चिसो र बगिरहने पानीमा ट्राउट पाल्न सकिन्छ । सामान्यतया १२ सयदेखि २३ सय मिटर उचाइसम्म यसको व्यावसायिक पालन सफल मानिएको छ । कंक्रिटको संरचना बनाउनुपर्ने भएकाले यसको सुरुवाती लगानी भने महँगो हुन्छ । तीन वर्षसम्म त्यति धेरै मुनाफा हुँदैन । चौथो वर्षबाट मुनाफा दिन सुरु हुने प्रमुख भण्डारी सुनाउँछन् । ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, कास्कीमा रहेका मत्स्य अनुसन्धान केन्द्र र निजी क्षेत्रबाट पालन गरिएका ट्राउट फार्ममा माछाका भुरा तयार गरिन्छ । नुवाकोट, सिन्धुपाल्चोक, दोलखाको मुख्य बजार काठमाडौं हो । कास्कीको पोखरा र आसपास पनि ट्राउट खपत हुन्छ । त्यहाँबाट केही मात्रामा काठमाडौं आउँछ । किसानले प्रतिकेजी एक हजारभन्दा बढी मूल्य लिएर यसको बिक्री गर्दै आएका छन् । काभ्रेको बनेपा, पनौती र नुवाकोटको ककनीसम्म ट्राउट पुग्छ । अहिले काठमाडौंका रिसोर्ट तथा ठूला होटलहरूमा यसको खपत बढी हुने गरेको छ ।
नेपालमा ट्राउट पालनमा आकर्षण बढ्न थालेको एक दशक भयो । वैदेशिक रोजगारीमा गएर फर्किएका युवाहरू यसमा बढी आकर्षित भएका र उनीहरूले रेस्टुरेन्ट, रिसोर्टसँगै ट्राउट फार्म चलाएको प्रमुख भण्डारीले सुनाए । हिजोआज उपभोक्ताले अनलाइन अर्डरमार्फत पनि घरमै ट्राउट माछा मगाएर स्वाद लिन सक्ने सुविधा छ । त्यसका लागि फार्महरूले अनलाइन सेवा उपलब्ध गराएका छन् । रेन्बो ट्राउटमा काँडा कम हुने भएकाले धेरैले रुचाउने गरेका छन् ।

तस्बिरहरू- प्रकाशचन्द्र तिमिल्सेना

 Image