Successfully Copied

‘कान्तिपुर हाफ म्याराथन’को ११ औं संस्करण

यस वर्षको म्याराथनको नारा ‘लेट्स गो ग्रिन टुगेदर’ रहेको थियो ।


चार हजार सात सय जनाको सहभागितामा कान्तिपुर हाफ म्याराथनको ११ औं संस्करण काठमाडौंमा सम्पन्न भयो । थापाथलीस्थित ‘कान्तिपुर मिडिया ग्रुप’को कार्यालय परिसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले बन्दुक पड्काएर म्याराथनको शुभाराम्भ गरेका थिए ।

उनले ‘कान्तिपुर मिडिया ग्रुप’ ले म्याराथनमार्फत वातावरण संरक्षणको क्षेत्रमा योगदान पु¥याएको बताए । कान्तिपुरले हरेक विकृति र विसंगतिविरुद्ध निरन्तर आवाज उठाउँदै आएको उनको भनाइ थियो । यस वर्षको म्याराथनको नारा ‘लेट्स गो ग्रिन टुगेदर’ रहेको थियो ।


हाफ म्याराथन (२१.१ किमि), कलेज रन (७ किमि), कर्पोरेट रन (५ किमि) र ह्विलचियर रन (३ किमि) गरी चार विधामा म्याराथन आयोजना गरिएको थियो ।
‘सिटी म्याराथन’को अवधारणामा राखिएको ‘कान्तिपुर हाफ म्याराथन’ मा ‘कलेज रन’ पहिलो पटक राखिएको थियो । प्रतियोगितालाई नेपाल एथलेटिक्स संघले वार्षिक क्यालेन्डरमा राख्दै आएको छ ।
विकेश घिमिरे र सुनिता महर्जनले ‘कान्तिपुर हाफ म्याराथन’को ‘कर्पोरेट रन’तर्फको उपाधि जितेका थिए । ११ औं संस्करणअन्तर्गत कर्पोरेट रनतर्फको निर्धारित ५ किलोमिटर दूरी घिमिरेले १४ मिनेट ३६ सेकेन्ड ३ मिलि सेकेन्डमा पूरा गरेका थिए भने महर्जनले निर्धारित दूरी २३ मिनेट २३ सेकेन्ड ९० मिलिसेकेन्डमा पूरा गरेकी थिइन् ।


पुरुषतर्फ १४ मिनेट ४६ सेकेन्ड सात मिलिसेकन्डको टाइमिङ निकाल्दै विकाश पोखरेल दोस्रो भएका थिए । त्यस्तै, १५ मिनेट ६ मिलिसेकन्डको टाइम निकाल्ने अनिश लामा गुरुङ तेस्रो भएका थिए । कर्पोरेट महिलातर्फ बिनिता महर्जनले २३ मिनेट ३० सेकेन्ड २९ मिलिसेकेन्डको टाइमिङ निकाल्दै दोस्रो भएकी थिइन ।


यसैगरी, एलिना श्रेष्ठले २६ मिनेट ७ सेकेन्ड ४९ मिलिसेकन्डको टाइमिङ निकाल्दै तेस्रो भएकी थिइन । कर्पोरेटतर्फ विजेतालाई केएफसी र ह्याम्स हस्पिटलका तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । ‘कर्पोरेट्स रन’ तर्फ पहिलो दोस्रो र तेस्रो हुनेले केएफसीबाट फूड गिफ्ट भौचर पाएका थिए । ‘हाफ म्याराथन’ पुरुष र महिला दुवैका विजेताले एक लाख रुपैयाँ पुरस्कार पाएका थिए । दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौं हुनेले पाँच हजार रुपैयाँ पाएका थिए ।


कान्तिपुर हाफ म्याराथनको प्रमुख प्रायोजक ग्लोबल आईएमई बैंक रहेको थियो । सिटिजन लाइफ इन्स्योरेन्स, एपेक्स मेडिकल एन्ड इन्जिनियरिङ, केएफसी चिकेन, पिज्जा हट, होन्डा मोटरसाइकल, एनटीएनसी, नेपाल खाद्य संस्था, गमला घर, वेलडन एडभरटाइजिङ, हाम्रो बजार डटकम, ह्याम्स हस्पिटल पार्टनरका रूपमा रहेका थिए ।

तस्बीर - महेशमान प्रधान

 Image