Successfully Copied

पासाङ फिल्म वैशाख १० देखि हलमा प्रदर्शन हुँदै

फिल्म ३० औँ पासाङ ल्हामु दिवसको अवसर पारेर देशभर प्रदर्शन गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।


‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ फिल्म वैशाख १० गते देखि हलमा प्रदर्शन हुने भएको छ । बुधबार प्रिमियर सो सँगै आयोजित पत्रकार सम्मेलनमा देशभरका क्युएफएक्स हलहरुमा फिल्म प्रदर्शन हुने पासाङ ल्हामु फाउन्डेशनले जानकारी दिएको छ ।

राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको यथार्थतामा आधारित रहेर अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले दुई दशक वढी समय मेहनत गरेर फिल्म तयार पारेको फाउन्डेसनका अध्यक्ष दावा फुटी शेर्पाले जानकारी दिइन् । ७२ मिनेट फिचर रहेको फिल्मको निर्माता शेरोन वुड र आङ दोर्जे शेर्पा रहेका छन् । २०२२ मार्चमा सान्ता बाबा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियरमा रिलिज भएको यस फिल्म ३० औ पासाङ ल्हामु दिवसको अवसर पारेर देशभर प्रदर्शन गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनले बुधबार सिभिल मलको हलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे लगायत उच्च व्यक्तित्वहरुको उपस्थितिमा नेपालमा पहिलो पटक फिल्मको प्रिमियर गरेको छ । फिल्मले पासाङ ल्हामु शेर्पाको दुखद र प्रेरणादायी यात्राको वर्णन गर्दछ । नेपाली समाजमा दुर्गमका एक अशिक्षित, आदिवासी महिलाले अघि बढ्न गरेको संघर्ष, यसको अवरोध र समाज देखि परिवारसम्मको सहयोग लगायतका विषय जोडेर समाजलाई रुपान्तरणको सन्देश फिल्मले दिएको छ ।

पटक–पटक सगरमाथा आरोहणको दृढ प्रयास गर्नु र वाधा अवरोधहरुलाई जितेर सफलता गर्नु नै फिल्मको मुख्य सन्देश बनेको छ । यो फिल्म अन्तर्राष्ट्रिय क्षेत्रमा भएका ३० वटा फिल्म फेस्टिबलमा प्रदर्शन भई सकेको छ । टेलुराइड, कोलोराडो, बान्फ, क्यानडा र बेलायतको केन्डल माउन्टेन फेस्टिबल र अन्य प्रतिष्ठित फेस्टिबलहरू सहित १४ वटा पुरस्कार समेत जितिसकेको छ ।

पासाङ ल्हामु जस्ता साहसी महिलाबाट सपनाहरु बुन्न सक्ने, सफलता प्राप्त गर्न बाधाहरू सामना गर्न सक्नु नै महिलाको एउटा उदाहरणीय साहस फिल्ममा देखाइएको छ । विद्यार्थी, अभिभावकहरु र वृद्धवृद्धा सम्म जनचेतना पुग्ने लक्ष्यले फिल्म प्रर्दशन क्युएफएक्समा मात्र नभएर लुक्ला, नाम्चे लगायतका सातै प्रदेशका मुख्य–मुख्य शहरहरुमा प्रदर्शन गर्ने फाउन्डेसनले जनाएको छ ।

 Image