Successfully Copied

सोङक्रङको सुगन्धित पानी

राजकीय थाई विहारमा भिक्षु–भिक्षुणी, गुरुमा र आनीले सुगन्धित पवित्र पानी छ्यापाछ्याप गरेर मनाएका छन् ।



नेपालीले नयाँ वर्ष मनाएजस्तै थाई नागरिकले पनि थाई परम्परानुसार लुम्बिनीमा नयाँ वर्षको पर्व ‘सोङक्रङ’ मनाएका छन् । राजकीय थाई विहारमा भिक्षु–भिक्षुणी, गुरुमा र आनीले सुगन्धित पवित्र पानी छ्यापाछ्याप गरेर मनाएका छन् ।
लुम्बिनीको शान्ति दीप बेबी बुद्धमा पूजाआजा गरियो । उक्त अवसरमा बेबी बुद्धलाई धार्मिक विधिपूर्वक पूजाआजा गरी स्नान गराइयो । डेढ मिटर लामो पित्तलको पाइपबाट पानी झारेर बेबी बुद्धको पाउ भिक्षु–भिक्षुणी र उपासक–उपासिकाले धोएर पवित्र बनाएका थिए । उक्त अवसरमा भिक्षु–भिक्षुणीले पुष्पवर्षा गरेका थिए । रोयल थाई विहारमा सुगन्ध र फूल मिसाइएको पवित्र पानी छ्यापेर आपसी सद्भाव, करुणा र मैत्री साटासाट गरिएको थियो ।समग्र मानव जीवन र प्राणीको सुख–शान्ति र कल्याणका लागि परित्रान पाठ गरेका थिए ।


थाइल्यान्डमा राष्ट्रिय रूपमा विभिन्न कार्यक्रम गरेर मुलुकभर ५ दिनसम्म नयाँ वर्ष मनाइन्छ । त्यसैअन्तर्गत यहाँ कार्यक्रम गरिएको हो । हरेक वर्ष अप्रिल १३ मा थाई नयाँ वर्ष मनाइन्छ । सोङक्रङ उत्सवको सबैभन्दा प्रसिद्ध पक्ष भनेको पानी फाल्ने हो । रङ नराखेको पानीमा सुगन्ध र फूल राखेर छ्यापाछ्याप गरी उत्सव मनाइन्छ । उक्त अवसरमा रोयल थाई मोनास्ट्रीका प्रमुख तथा नेपाल–भारत थाई धर्मदूत भिक्षुका उपाध्यक्ष भिक्षु फ्राराज बोधीविदेश भाजरासुदीले नेपाल र थाइल्यान्डले नयाँ वर्षलाई उत्सवका रूपमा मनाउनुले दुवै मुलुक सांस्कृतिक रूपले पनि नजिक रहेको बताए । यसले आपसी मित्रता र एकता अझ सुढृढ हुँदै गएको उनले बताए ।

उत्सवमा लुम्बिनीस्थित चीन, म्यानमार, श्रीलंका, कम्बोडिया, भारत, जर्मन र भियतनामलगायत मुलुकका भिक्षु सहभागी थिए ।

 Image