Successfully Copied

तिहारका पाँच दिन

तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।


अच्युतमान सिंह प्रधान ‘उत्सुक’


नेपाल संस्कृति एवं चाडपर्वहरूको धनी देश हो । हामी विभिन्न चाडपर्व मनाउँछौं । हाम्रा जातजाति, भौगोलिक परिवेशअनुसार भिन्नाभिन्नै चाड–पर्व छन् । सबै चाडपर्वका आ–आफ्नै महत्व तथा विशेषता हुन्छन् । यस्ता चाडपर्वले हाम्रो संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।
तिहार हिन्दु धर्मावलम्बीहरूको दसैंपछिको सबैभन्दा ठूलो पर्व हो । यो हिन्दूहरूको दोस्रो महत्वपूर्ण चाड हो । हिन्दू धर्मावलम्बीले यो पर्वलाई दीपावली (दिवाली) का रूपमा धूमधामका साथ मनाउँछन् । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कात्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई ‘यमपञ्चक’ पनि भनिन्छ ।
यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ । यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वासछ । त्यो घरमा कहिल्यै अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ ।
परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान–सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिनसम्म यमराज आफ्नी बहिनी यमुनाको घरमा बस्ने धार्मिक विश्वास छ । यसरी रहँदा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयु, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मनाउँदै आएको परम्परा छ । त्यस्तै, यी पाँच दिन इन्द्रादि दश दिक्पालले राजा बलिका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ ।
यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पूजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसी–भैलो खेल्दै सेल रोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।
काग तिहार
यमपञ्चकको पहिलो दिन अर्थात् कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार हो । यस दिन काग पूजा गरिन्छ । काग अत्यन्त चतुर पक्षी हो । काग सर्वभक्षी प्राणी हो । कागले अन्न बालीमा लाग्ने कीरा–फट्याङ्ग्रा खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय पनि हो ।
कुकुर तिहार
यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार पर्छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ।कुकुरलाई आज्ञापालक एवं रक्षक र भैरवको बाहनका रूपमा पनि लिइन्छ । कुकुर तिहारमा हामी उसलाई मन पर्ने खाना खुवाई पूजा गरी माला लगाइदिन्छौं ।

गाईतिहार र लक्ष्मीपूजा
यमपञ्चकको तेस्रो दिन गाईतिहार र लक्ष्मीपूजा हो । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर घर, कोठा–चोटा पवित्र तुल्याउने हिन्दूहरूको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूपमा मान्छन् । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ ।
कार्तिक कृष्ण औंसीको रातलाई अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर–घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतीकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ ।
यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागका रूपमा मनाइन्छ । वर्षका चार महत्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ । यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ ।
यसै दिन अर्थात्१९६६कार्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौंको धोबीधारामा महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मिएका थिए । लक्ष्मीपूजाका दिन जन्मिएका हुनाले यिनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिएको हो ।
गोरु तिहार
यमपञ्चकको चौथो दिन गोरु तिहार वा गोवर्धन पूजा हो । यस दिन घरघरमा गाईको गोबरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसै दिन नेपालीहरूले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरूको पालनहारी गोरूको पनि पूजा गर्छन् ।

भाइतिहार (भाइटीका)
यमपञ्चकको पाँचौं दिन भाइतिहार (भाइटीका) हो । तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान–दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।
भाइटीकाको अघिल्लै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई भाइटीकाको निम्तास्वरूप पान–सुपारी, फूल आदि दिने चलन छ । भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने जनविश्वास छ । टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ ।
भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ कहिल्यै उडेर जाँदैन भने दूबो सधैं हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका उर्ध्वाकार रेखामा सिधा लगाइदिन्छन् । सप्तरङ्गी टीकामा पहेंलो, नीलो, सुन्तले, सेतो, हरियो, रातो र कालो रङ हुन्छन् ।
भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी पनि लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता पनि झल्काउँने विश्वास गरिन्छ । दिदीबहिनीले पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार नगद वा उपहार दिन्छन् । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानीपोखरीस्थित मन्दिरमा पूजाआजा गर्छन् ।
रानीपोखरीको बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन खुल्ला गरिन्छ । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूले भाइटीकाको दिन यस मन्दिर परिसरमा पुगेर एक–अर्कालाई भाइटीका लगाउने प्रचलन रहँदै आएको छ । यस दिनमा दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइले त्यही मन्दिरमा पुगेर टीका लगाउँछन् । यसर्थ यस दिन टीका लगाउनेहरूको मन्दिर परिसरमा ठूलो भीड लाग्छ ।
तिहारले एकातिर मानव एवं पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।

 Image