Successfully Copied

मिथिला थाली

नेपाल र भारतका मिथिला क्षेत्रमा बसोबास गर्ने मैथिलीहरूको परम्परागत खाना हो–मिथिला थाली ।


सेफ सन्तोष साह

नेपाल र भारतका मिथिला क्षेत्रमा बसोबास गर्ने मैथिलीहरूको परम्परागत खाना हो–मिथिला थाली । असली मिथिला थाली शाकाहारी भए पनि पछिल्लो समय यसको मेनुमा परिवर्तन भइरहेको पाइन्छ । सेफ सन्तोष साहले दाइ सेफ दिलीप साह र भान्से लक्ष्मण भण्डारीको समन्वयमा मिथिला थाली सञ्चालन गरिरहेका छन् ।
मिथिला थालीमा बिरियाको साग, कडीबडी, आलु चोखा, आलुको भुजिया, तरुवा (आलु, परवल, भान्टा, लौका), तिरौली–फुलौरी, चामलको भात, तरकारी, रहरको दाल र रोटी हुन्छ । चामलको पिठोमा तिल र नुन मिसाएर तिलौरी तयार हुन्छ । थालीको अर्को परिकार तरुवा हो । आफूलाई मन परेको कुनै पनि तरकारीलाई तावामा डामेर तरुवा बनाइन्छ ।
कडीबडी पनि मुख्य परिकारमा पर्छ । यो परिकार चनाको दाल पिसेर डल्लो बनाई दही र मरमसलाको झोलमा पकाइन्छ । चनाको साटो प्याजको पकौडा जस्तो बनाएर हाल्ने चलन छ । कडी भनेको दहीको झोल र बडी भनेको तारेको दालको डल्लो हो । बिरिया बेथेको सागबाट बनाइन्छ । तराईमा यो परिकार विशेष गरी बर्खामा खाने चलन छ । बर्खामा तरकारी नपाइने भएकाले बिरियालाई सुक्खा बनाएर राखिएको हुन्छ । त्यसबाहेक मिथिला थालीमा आँप र लप्सीको अचार, तिलको चटनी र एक गिलास लस्सी पनि सँगै आउँछ ।

तावा फिस

सामग्री
एक किलो रहु माछा, आधा चम्चा मस्टर्ड पाउडर, एक चम्चा कागतीको रस, नुन स्वादअनुसार, अदुवा, १ चम्चा लसुन पेस्ट, चप, खुर्सानीको धूलो आधा चम्चा, जिरा पाउडर आधा चम्चा, तोरीको तेल १ सय ग्राम, गरम मसला पाउडर–१ चम्चा, मसिनो गरी काटेको धनियाँ, तीन चम्चा बेसन र चार चम्चा चामलको पिठो ।
बनाउने विधि
माछालाई पातलो स्लाइसमा काट्ने र सबै सामग्री हालेर हलुका तरिकाले मिक्स गरी एक घन्टा छोपेर राख्ने । मधुरो आगोमा तावामा डाम्ने र हल्का रातो भएपछि फर्काउने, दुवैतर्फ पाक्न दिने । एकै रूपमा सबै स्लाइस पिसलाई डामेर निकाल्ने । यसरी तयार भएको माछालाई साँधेको भुजा (मुरही) र सलादसँग खान सकिन्छ ।


मटन कटिया
आवश्यक सामग्री
आधा किलो मटन, एउटा सिंगो लसुन, ५० ग्राम अदुवा पेस्ट, २–३ टुक्रा सुक्खा रातो खुर्सानी, १–२ टुक्रा तेजपत्ता, मरिच, २ टुक्रा ल्वाङ, एक टुक्रा दालचिनी, दुई टुक्रा सानो इलाइची, एक चम्चा धनियाँका दाना, एक चम्चा जिरा, तीन सय ग्राम प्याज, एक चम्चा बेसार, एक चम्चा गरम मसला, आधा चम्चा सौफ, पाँच सय, पाँचदेखि छ चम्चा तोरीको तेल, एक चम्चा घिउ र नुन स्वादअनुसार ।
बनाउने विधि
माटोको भाँडोलाई २० मिनेटभन्दा बढी समय पानीमा भिजाएर राख्ने । त्यसपछि हल्का तताएर भित्रपट्टि थोरै तोरीको तेल लगाउने । भाँडामा मसला, लसुन र अदुवा पेस्ट राख्ने । दुई–तीन टुक्रा सुकेको रातो खुर्सानी राखेपछि तेजपत्ता, कालो मरिच, ल्वाङ, दालचिनी, अलैंची, धनियाँको दाना, जिरा, काटेको प्याज, बेसार, गरम मसला, सौफ र नुन भाँडामा राख्नुपर्छ । यसपछि मटनको आधा भागलाई भाँडामा राख्ने र त्यसमाथि ५–६ चम्चा तोरीको तेल राख्ने । बाँकी मटनलाई पनि राखेर भाँडोलाई ढकनीले ढाक्नुपर्छ । अब तातो कोइला वा दाउराको आगोमा मटन कटियालाई डेढदेखि दुई घण्टा पकाउनुपर्छ । यस क्रममा २–३ पटक मटनलाई राम्ररी चलाउने, मसला सबै मासुमा राम्रोसँग मिसियोस् । पकाइरहेका बेलामा एउटा सिंगो लसुन राख्ने र १ चम्चा घिउ मिसाउने । अन्तमा, पाँच मिनेट जति नछोपी पकाएपछि मटन कटिया तयार हुन्छ ।

 Image