Successfully Copied

तीजमा दर

व्रतका बेला सामान्यतया साबुदानाको खीर खाने गरिन्छ । यसको पुलाउ पनि बनाउन सकिन्छ । यो परिकार कतिपयका लागि नौलो हुनसक्छ ।

मञ्जुला कुँवर ठाकुर

योग प्रशिक्षक, जीवन विज्ञान

साबुदानाको पुलाउ 

व्रतका बेला सामान्यतया साबुदानाको खीर खाने गरिन्छ । यसको पुलाउ पनि बनाउन सकिन्छ । यो परिकार कतिपयका लागि नौलो हुनसक्छ । 

सामग्रीः घिउ–चार चिया चम्चा, साबुदाना–आधा किलोग्राम, मसिनो गरी काटेको गाजर, सिमी, काउली र अलिकति हरियो केराउ (मटरकोसा), भुटेको काजु, भुटेको बदाम,क्रस्ड छ–सात वटा करीपत्ता, मसिनो गरी काटेको हरियो खुर्सानी, हरियो धनियाँ, स्वादअनुसार नुन र एक चिम्टी चिनी ।

विधि : साबुदानालाई राम्ररी पखालेर एक घण्टासम्म भिजाउने, हल्का फुलेपछि साबुदानालाई जालीमा राखेर छान्ने, छानिसकेको साबुदानालाई दुई घण्टासम्म त्यत्तिकै राखिदिने र समय–समयमा चलाइरहने ।

पकाउने विधि: सबैभन्दा पहिले कराहीमा घिउ तताउने, त्यसमा छ–सात वटा करीपत्ता फुराउने, काटेको तरकारीलाई कराहीमा हाली केहीबेर चलाएपछि साबुदानालाई पनि त्यसैमा मिसाउने, स्वादअनुसार नुन हालेपछि केहीबेर आगोको सानो आँचमा छोपी चलाउँदै पकाउने । पाक्ने क्रममा साबुदानाको रंग हल्का परिवर्तन हुन्छ । अन्तिममा मसिनो गरी काटेको खुर्सानी, भुटेको काजु, भुटेको बदाम र धनियाँ हालेर एकपटक चलाइदिने । त्यसपछि साबुदानाको पुलाउ तयार हुन्छ ।

तोफु चिल्ली

सामग्री : तोफु–दुई सय ग्राम, तेल–छ चिया चम्चा, भेंडेखुर्सानी, सुकेको प्याज, हरियो प्याज, गोलभेंडा (गुदी निकालेको), सुकेको खुर्सानीको पेस्ट–एक चम्चा, सोया सस–एक चम्चा, टोमाटो केचप–एक चम्चा, कागतीको रस–आधा चम्चा, मरिचको धूलो आधा चम्चा, स्वादअनुसार नुन ।

तयारी विधि : उमालेको तातो पानीमा तोफुलाई दुई–तीन मिनेटजति डुबाउने, राम्रोसँग पखालेपछि तोफुलाई आफ्नो इच्छानुसारको साइजमा टुक्रा पार्ने । त्यसैगरी भेंडेखुर्सानी, सुकेको प्याज, गोलभेंडालाई पनि टुक्रा बनाउने । 

पकाउने विधि : तोफुलाई तेलमा हल्का फ्राइ गरेर निकाल्ने । अर्को फ्राइ प्यानमा एक चम्चा तेल हालेर लसुन फुराएपछि खुर्सानीको पेस्ट, काटेको भेंडेखुर्सानी, सुकेको प्याज, गोलभेंडा हालेर केहीबेर चलाउने । 

त्यसमा फ्राइ गरेको तोफु , स्वादअनुसार नुनको मात्रा, टोम्याटो केचप, सोया सस, धूलो मरिच र एक चम्चा कर्नफ्लोर (पानीमा घोलेको) हालेर चलाउने । त्यसपछि पाकेको तोफु चिल्लीमा हरियो प्याजले सजाउने । यसरी तोफु चिल्ली तयार हुन्छ ।

पकाएको गोलभेंडाको अचार

सामग्री : तोरीको तेल पाँच चिया चम्चा, एक किलोग्राम गोलभेंडा, भुटेर पिनेको मेथी र जिराको धूलो दुई चिया चम्चा, आधा चिया चम्चा टिम्मुरको धूलो, एक चिया चम्चा कागतीको रस, एक चिम्टी चिनी, लसुन अदुवाको पेस्ट, खुर्सानीको धूलो र नुनको मात्रा स्वादअनुसार ।

विधि : उसिनेर बोक्रा छोडाएको गोलभेंडालाई ग्राइन्ड गर्ने, कराहीमा तेल तताउने, आठ–दस दाना मेथी फुराउने, थोरै बेसार, धूलो खुर्सानी, लसुन–अदुवाको पेस्ट, टिम्मुरको धूलो, अघि भुटेको जिरा र मेथीको धूलो हालेर केहीबेर चलाउने । त्यसपछि ग्राइन्ड गरेको गोलभेंडा हालिदिने, स्वादअनुसारको नुनको मात्रा र एक चिम्टी चिनी हालेर अचारको तेलमाथि नआउन्जेल पकाउने । अन्तिममा कागतीको रस हालेपछि काटेको धनियाँले सजाउने ।त्यसपछि गोलभेंडाको अचार तयार हुन्छ । यी सबै परिकारलाई दरका रूपमा दहीका साथमा खाँदा अझ स्वादिष्ट हुन्छ ।

 

 Image