Successfully Copied

शीतल पेय 

बढ्दो तापमानसँगै शरीरलाई थप तरल पदार्थ र शीतलताको आवश्यकता पर्छ । गर्मी मौसममा अल्छी, सुस्ती, खानपानमा अरुचि बढ्छ । कतिपयमा बान्ता हुने, रिंगटा चल्ने, एलर्जी हुने, खाना नपच्ने आदि समस्या देखा पर्न सक्छन् ।

बढ्दो तापमानसँगै शरीरलाई थप तरल पदार्थ र शीतलताको आवश्यकता पर्छ । गर्मी मौसममा अल्छी, सुस्ती, खानपानमा अरुचि बढ्छ । कतिपयमा बान्ता हुने, रिंगटा चल्ने, एलर्जी हुने, खाना नपच्ने आदि समस्या देखा पर्न सक्छन् । 

गर्मीमा चिसो पेयको माग उच्च हुन्छ । धेरैले गर्मीबाट बच्न बजारमा पाइने बोतलका पेय पिउँछन् । जुन स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन । विभिन्न अध्ययनले यस्ता पेय पदार्थले शरीरमा भएको पानीको मात्रा झनै कम गराई शरीर डिहाइड्रेट बनाउने पुष्टि गरिसकेको छ । यस्तोमा घरमै बनाउन सकिने पेय पिउनुपर्छ । जसले शरीरका लागि फाइदा मात्र गर्दैन शरीरमा शीतलताको आभास गराउनुका साथै ऊर्जासमेत प्रदान गर्छ । 

कागती पानीको सर्बत

यो गर्मीबाट बच्न र सजिलै बनाउन सकिने पेय पदार्थ हो । कागती भिटामिन ‘सी’ को स्रोत भएकाले यसले पाचन प्रणालीलाई राम्रो गराउनुका साथै शरीरलाई हाइड्रेट राख्छ । यसले शरीरलाई शीतलता र ऊर्जा प्रदान गर्छ । 

दहीको लस्सी

लस्सी गर्मीमा शीतल दिने अर्को पेय पदार्थ हो । यसले हाम्रो पाचन प्रणाली स्वस्थ राख्छ । लस्सीलाई घरमै बनाएर पिउन सकिन्छ । यो दहीमा चिनी, सुकमेलको धूलो मिसाएर राम्रोसँग फिटेर बनाउन सकिन्छ । 

मोही

गाउँघरमा लोकप्रिय मोही गर्मीमा उपयोगी पेय पदार्थ मानिन्छ । मोही त्यत्तिकै पनि पिउन सकिन्छ । यसलाई स्वादिष्ट बनाउन जिरा र पुदिना पाउडर, बिरेनुन, हिङ मिलाएर पनि पिउन सकिन्छ । यसले गर्मीबाट त बचाउँछ नै पेट र पाचनसम्बन्धी समस्या हुनबाट बचाउँछ । यसमा प्रोटिन, क्याल्सियमलगायतका पोषण तत्व पाइन्छन् ।

पुदिना सर्बत

पुदिना सर्बत बनाउन सजिलो छ । पुदिनाको पात पिसेर जिरा, बिरेनुन, चिनी मिसाएर यो पेय पदार्थ बनाउन सकिन्छ । शरीरलाई डिहाइड्रेसनबाट बचाउन यो पेय उपयोगी हुन्छ । यसको सेवनले शरीरमा गर्मीको असर कम गराउँछ । साथै ‘लु’ लाग्ने, बान्ता हुने, ग्यास्ट्राइटिसजस्ता समस्याबाट छुटकारा दिन्छ । 

तरबुजाको जुस 

गर्मीमा तरबुजाको सेवन अति उपयोगी हुन्छ । ९६ प्रतिशत पानीको मात्रा हुने तरबुजामा एन्टिअक्सिडेन्टको गुण र पोटासियमजस्ता खनिज तत्व पाइन्छ । यसको जुस शरीर हाइड्रेट राख्न र शीतल बनाउन सबैभन्दा राम्रो विकल्प हो ।

नरिवल पानी

नरिवल पानी बजारमा सजिलै पाउन सकिन्छ । यसले शरीरमा पानीको मात्रा पूरा गर्नुका साथै यसमा भएको पोषणले शरीर स्वच्छ र शीतल बनाउँछ ।

जलजिरा

जलजिराको पाउडर बजारमा उपलब्ध छ । यसको पाउडर पानीमा घोलेर पिउन सकिन्छ । स्वादका लागि पुदिना, कागती, हरियो धनिँया, अदुवा, बिरेनुन, हिङ, मरिच आदि मिसाउन सकिन्छ । जलजिरा शरीरका लागि लाभदायक हुन्छ । यसले पाचनतन्त्रलाई बलियो बनाउन मद्दत गर्छ । 

 Image