शाहना बोहोरा, प्रहरी जवान
गत वर्ष चैत २५ गते ललितपुरको कृष्ण मन्दिर परिसरमा दुई दाजुभाइको हत्या गरी भाग्न लागेका आरोपीलाई पक्राउ गरेकी २० वर्षकी शाहनाको साहस निकै प्रेरणदायी बनेको छ । हत्यामा संलग्न आरोपित जो हातमा खुकुरी लिएर भाग्ने प्रयासमा मन्दिर परिसरमा दौडेका थिए, शाहनाले आफ्नो ज्यानको परवाह नगरी पक्राउ गरेकी थिइन् ।
घटनाको दिन शाहना नियमित आफ्नो ड्युटीमा खटिएकी थिइन् । हत्या भएको सूचना प्राप्त भएपछि टोलीसहित घटनास्थल पुगिन् । आरोपित भागिसकेकाले उसलाई रोक्न उनी तुरुन्तै पछाडि लागिन् । भाग्दै गरेका आरोपित एकपटक लडे । त्यसपछि पछाडि फर्केर हातमा रहेको खुकुरी शाहनालाई देखाउँदै फेरि भाग्न खोजे । तर उनी पछाडि हटिनन् । उनले नियन्त्रणमा लिएरै छोडिन् ।
‘मैले आरोपित समातेपछि धेरै जनाले डर लागेन भनेर सोधे,’ उनले भनिन्, ‘त्यतिबेला डर लागेको थिएन मेरो ध्यान अपराधीलाई समात्नुपर्छ भन्ने मात्र थियो । मलाई मेरो काम र कर्तव्यभन्दा ठूलो केही लागेन ।’
उनको साहसिक कार्यपछि नेपाल प्रहरीले नगद र सम्मानपत्र प्रदान गरेको थियो । जिल्ला प्रशासन कार्यालयबाट पनि उनी सम्मानित भइन् ।
‘पुरस्कारले अझ हौसला थप्ने काम गर्यो । मैले मेरो कर्तव्य पूरा गरेको सन्तुष्टिलाई ठूलो उपलब्धि मानेकी छु,’ उनले भनिन् ।
त्यसको केही समयपछि शाहना आफ्नो गाउँ जाँदा उनको साहसलाई लिएर सार्वजनिक भएका समाचारबाट गाउँभरि उनको चर्चा भएको गर्वका साथ सुनाउँछिन् । सबैले आफ्नो प्रशंसा गरेको बताउँछिन् । ‘त्यतिन्जेलसम्म म नेपाल पुलिसमा कार्यरत छु भन्ने गाउँमा धेरैलाई थाहा थिएन, समाचार, भिडियो देख्नु भएछ । त्यसैले गाउँ गएको बेलामा सबैले बधाई दिनुभयो,’ उनले भनिन्, ‘त्यसरी नै काम गरेर अगाडि बढ भन्नुभएको थियो ।’ आफ्नो काम गर्ने स्थानमा होस् वा गाउँघरमा सबैले प्रोत्साहन गर्दा खुसी लागेको उनले सुनाइन् ।
शाहनाको संघर्ष
सुदूरपश्चिमको कैलाली घोडाघोडी नगरपालिका–३, नारायणपुरको सामान्य परिवारमा उनको जन्म भएको थियो । उनले गाउँकै विद्यालयबाट १२ सम्मको अध्ययन गरेकी थिइन् । उनका बुवा भारतमा काम गर्थे । आमाले घर सम्हालेर छोराछोरी हुर्काएकी थिइन् । त्यही संघर्षले उनलाई जिम्मेवार बन्न सिकायो ।
शाहनाले सानैदेखि देश रक्षाका लागि खटिने सपना बुनेकी थिइन् । प्लस टु सकेर बसेकी शाहना नेपाल प्रहरीमा प्रवेश गर्न ठूलो मेहनत गरिन् । प्रहरी जवानका लागि फर्म खुलेको देखेर भरिन् र परीक्षाको तयारी गरिन् । उनको त्यो सपना पहिलो प्रयासमै पूरा भयो । ‘मलाई सबैभन्दा खुसी लागेको क्षण नै मेरो नेपाल प्रहरीका नाम निस्केको दिन थियो । आफूले सानैदेखि सोचेको सपना पूरा हुँदा निकै खुसी लाग्ने रहेछ,’ उनले भनिन् । सहनाको पहिलो प्रयासमै सपना पूरा भएको देखेर परिवारमा पनि खुसी छायो ।
त्यसपछि उनी तालिमका लागि गइन् । २०८१ सालमा नेपाल प्रहरीमा भर्ना भएकी उनले करिब नौ महिनाको तालिम पूरा गरिन् । अहिले प्रहरी सेवामा काम गरेको करिब डेढ वर्ष पूरा हुँदैछ । तालिमको समय सुरुका दिनमा गाह्रो भए पनि पछि भने सहज भएको सुनाउँछिन् ।
शारीरिक अभ्यास, अनुशासन, कठिन प्रशिक्षणका बीच उनी आफूलाई तयार बनाएर अघि बढेकी छिन् । ‘तालिमले गर्दा नै जोखिमपूर्ण परिस्थितिमा पनि नडराई अगाडि बढ्न आत्मविश्वास बढेको मैले महसुस गरें,’ उनले भनिन् ।
नेपाल प्रहरीले हरेक क्षेत्रमा महिलालाई प्रोत्साहन गर्ने हँुदा आफूलाई आफ्नो कामप्रति गर्व लाग्ने गरेको सुनाउँछिन् । ‘नेपाल प्रहरीमा हरेक कुरामा महिलालाई प्रोत्साहन गरेको देख्दा खुसी लाग्छ,’ उनले भनिन्, ‘मैले गरेको कामलाई मूल्यांकन गरेर सम्मान गर्दा धेरै हौसला पाएकी छु, भविष्यमा अझ राम्रो काम गर्ने इच्छा छ ।’
निष्ठाका साथ देशको सेवा गरी अगाडि बढ्ने उनको लक्ष्य छ । सुरुवाती दिनमा नै शाहनाले गरेको कामले एउटा उदाहरण भने स्थापित गरिसकेको छ । देशको सेवा गर्ने संकल्प उमेरले होइन, जिम्मेवारीप्रतिको निष्ठाले निर्धारण गर्छ भन्ने उनले प्रमाणित गरिसकेकी छन् ।
तस्बिरहरु: महेशमान प्रधान