Successfully Copied

सिर्जनशील सरस्वती

सरस्वती राईको कोठाभित्र विभिन्न रङका धागो, प्वाँख, हातले बुनेका धेरै आकृति सजिरहेका छन् । आफ्नो सीप र क्षमताले त्यही कोठाबाट सरस्वतीले दिनहुँ आफ्ना सपनालाई आकार दिइरहेकी छन् ।

आरती पौडेल
सरस्वती राईले काठमाडौंको गोकर्णेश्वरमा बसेर आफ्नो व्यवसाय गरिरहेकी छिन् । उनको कोठाभित्र विभिन्न रङका धागो, प्वाँख, हातले बुनेका धेरै आकृति सजिरहेका छन् । आफ्नो सीप र क्षमताले त्यही कोठाबाट सरस्वतीले दिनहुँ आफ्ना सपनालाई आकार दिइरहेकी छन् । उनले बनाएका ड्रिम क्याचरहरू धेरै ग्राहकको रोजाइमा पर्ने गरेका छन् । त्यसैले उनले बनाएका ड्रिम क्याचरहरू नेपालमा मात्र नभएर क्यानडा, ग्रीस, रोमानिया, हङकङ, अमेरिका आदि विभिन्न देशमा पुगेका छन् ।
सरस्वतीका बुवा हस्तकलामा पोख्त थिए । उनले काठमाडौंमा नै हेम्प अर्थात् गाँजाको डाँठबाट निकालिने प्राकृतिक रेसाको प्रयोग गरेर विभिन्न सामग्री बजाउँथे । उनले ठमेलको एक होलसेल पसलका लागि सामान तयार पार्थे । ती सामग्री ठमेलमार्फत विदेश निर्यात हुन्थे । सरस्वती सानैदेखि आफ्नो बुवाको कामलाई नियालिरहेकी हुन्थिन् । सरस्वतीको बाल्यकाल सामान्य तरिकाले नै बितेको थियो । सरस्वतीले धागो बुन्ने, रङ लगाउने, डिजाइन मिलाउने काम सबै सीप बुवाको काम देखेर नै सिकेकी थिइन् । ‘काम सिक्न खोज्दा झर्को नमानी सिकाउनुहुन्थ्यो । त्यसैले बुवाले गरेको काम र दिएको हौसलाले काम सिक्न सहज भयो,’ उनले भनिन् ।
सन् २००३ नेपाली हस्तकला र हेम्पसँग मिसाएर ड्रिम क्याचरलाई सरस्वतीका बुवाले नयाँ स्वरूप दिएका थिए । ‘सुरुवाती दिनमा विदेशीहरू ड्रिम क्याचर मन पराउँथे । विदेश पनि लैजान्थे । तर नेपालीहरू पहिलासम्म पनि खासै जोडिनु भएको थिएन,’ उनले भनिन्, ‘केही समयमा नेपालमा पनि ड्रिम क्याचर किन्ने र सजाउने ट्रेन्ड बढ्यो ।’ त्यतिबेला आफूले अध्ययन गरी बुवालाई सघाउँदै आएकी थिइन् ।
२०७० सालमा उनका बुवाको निधन भयो । त्यसपछि उनले विदेश जाने सोच बनाइन् । ‘केही साथी विदेश गएका थिए । केही नेपालमै जागिर गर्थे । तिमीलाई आफूसँगै सीप भएर कति सजिलो भएको छ । राम्रो गरेकी छौ भन्थे,’ उनले भनिन्, ‘त्यो कुराले विदेशमा पनि कठिन रहेछ भन्ने भयो । त्यसपछि नेपालमै बुवाको कामलाई निरन्तरता दिन्छु भनेर लागें ।’
त्यसपछि उनले व्यवसायलाई आफ्नै तरिकाले अघि बढाउन थालिन् । सुरुमा होलसेलमार्फत काम गरे पनि सन् २०२३ देखि उनी सामाजिक सञ्जालमार्फत सक्रिय भएर आफूले बनाएका सामग्रीहरूको भिडियो राख्न थालिन् । ग्राहकहरूलाई उनका सामानले निकै आकर्षण गर्‍यो । उनलाई धेरै अर्डर आउन थाले । अहिले पनि टिकटक र अन्य सोसल मिडियामा उनका भिडियोमा निकै धेरै भ्युज आउँछन् । ‘ड्रिम क्याचर बाई सरस्वती’ नामको उनको टिकटक आइडीलाई धेरैले मन पराइरहेका छन् । जहाँ उनले फरक–फरक रङका ड्रिम क्याचर बनाउँदै गरेको र बनेपछि सजाएको भिडियो पनि देखिन्छन् ।
उनले बनाएका ड्रिम क्याचरदेखि अन्य सामानले हजारौं मानिसको ध्यान तानेको छ ।


अनलाइनमार्फत बेच्न सुरु गर्दा ग्राहकहरू त्यति राम्रो ड्रिम क्याचर देखाएको मात्र हो कि भनेर सोध्ने गरेको उनले सुनाइन् । ‘ग्राहकहरू सुरुमा स्क्याम त होइन भनेर डराउँथे । तर एकपटक किनिसकेपछि फेरि जन्मदिन, उपहार र घर सजावटका लागि अर्डर गर्न थाले,’ उनले भनिन् । अहिले सामान बिक्री गर्न पहिले भन्दा सहज भएको उनले सुनाइन् ।
साइज र डिजाइन हेरेर ड्रिम क्याचरको मूल्य निर्धारण गर्ने गरेको उनले सुनाइन् । ‘ड्रिम क्याचर एक सय रुपैयाँदेखि सुरु हुन्छ । ठूलो र फरक डिजाइनका लागि तीन हजार आठ सय रुपैयाँसम्म पर्छ,’ उनले भनिन् । ग्राहकको चाहनानुसार डिजाइन तयार पार्ने गरेको उनी सुनाउँछिन् ।
ड्रिम क्याचरमा बनाउन निकै कठिन हुने उनी सुनाउँछिन् । ‘त्यसमा प्रयोग हुने प्वाँख तयार पार्न निकै कठिन हुन्छ । प्वाँखलाई सफा गर्ने, सुकाउने, रङ लगाउने र टिकाउ बनाउने काम आफैं गर्नुपर्छ,’ उनले भनिन्, ‘केही गल्ती भयो भने धेरै दु:ख गरेर बनाएको सामान नै बिग्रन्छ ।’ आफ्नो व्यवसायमा परिवारको सहयोग रहेको उनी सुनाउँछिन् ।
सरस्वतीलाई कामको मुख्य आधार ‘क्वालिटी’ र ‘इमानदारी’ हो भन्ने लाग्छ । ग्राहकले तिरेको मूल्यअनुसार सन्तुष्टि दिनु नै आफ्नो कर्तव्य रहेको उनी सुनाउँछिन् । सोही कारणले एकपल्ट सामान किनेका ग्राहकले बारम्बार सामान किन्ने गरेको उनले सुनाइन् । ‘धेरै पहिलेदेखिका ग्राहकहरू छन् । व्यवसाय गर्ने मान्छेलाई सबैभन्दा खुसी लाग्ने क्षण नै ग्राहकहरूको विश्वास लाग्ने रहेछ,’ उनले भनिन् ।
सानो कोठाबाट सुरु भएको उनको व्यवसायले अहिले १२ जनालाई रोजगारी दिएको छ । ‘आगामी दिनमा पनि आफ्नो व्यवसायमा अझ राम्रो तरिकाले लैजान मन छ,’ उनले भनिन्, ‘मेरो काम व्यवसाय मात्र नभएर बुवाको सपना, सम्झना, हस्तकलाप्रतिको प्रेम र नेपाली सीपको पहिचान हो जस्तो लाग्छ ।’
सरस्वती नेपाली सामग्रीलाई नयाँ स्वरूप दिँदै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने सपना देखिरहेकी छन् । ‘अब मेरो सोच भनेको नेपाली सामानलाई नयाँ ढंगले नेपाली ग्राहक र विश्व बजारसम्म पुर्‍याउने छ,’ उनले भनिन् ।

 Image