Successfully Copied

धागो र कुरुसको सिर्जनामा रिदिमा

रिदिमाको कामप्रतिको लगाव, संघर्ष र आत्मविश्वासले अहिले उनले बुनेका सामानहरू विभिन्न देशमा पुगेका छन् ।


आरती पौडेल

रिदिमा सानैदेखि पढाइमा अब्बल थिइन् । संखुवासभामा जन्मिएकी उनी बाल्यकालदेखि नै काठमाडौंमा बसेर अध्ययन गरिरहेकी थिइन् । उनको परिवारका सदस्य भने मोरङ बस्ने गर्थे । केही वर्षअघिको कुरा हो, उनी कक्षा ११ को परीक्षा सकेर फुर्सदमा थिइन् । त्यही समय साथीका हातले बुनेका रंगीन सामग्री देख्दा रिदिमालाई पनि खाली समयमा यस्तो कला सिक्न पाए हुन्थ्यो भन्ने लागेको थियो । उनकी साथीले पनि सिक्न हौसला दिइन् । त्यसपछि रिदिमाले गाउँमा बस्ने आफ्नी आमासँग क्रोसेट सिक्ने रहर भएको सुनाइन् ।

सुरुमा आमाले आफ्नी छोरीले नयाँ काम सिक्ने चाहना राखेकीले गाउँबाटै धागो र कुरुसहरू किनेर पठाइदिइन् । सुरुको केही समय उनले युट्युब हेरेर धागो चलाउन सिकिन् । त्यसपछि रिदिमा र उनकी साथी मिलेर अनलाइन बिजनेस खोल्ने सोच बनाए । दुवैले १/१ हजार रुपैयाँ लगानी गरेर काम सुरु गरे । ‘हामीसँग लगानी गर्नका लागि धेरै पैसा थिएन । त्यही पनि काम गर्ने रहर लागेर दुवैजना मिलेर अगाडि बढेका थियांै,’ उनले भनिन् । सुरुका दिनमा उनीहरूले आफन्त, साथीभाइका साथै विभिन्न स्थानमा पुगेर आफ्नो सामानका बारेमा प्रचार गर्थे । र अर्डरअनुसार बनाउने बताउँथे । अलिअलि अर्डर पनि आइरहेको थियो ।
उनीहरूले आफ्नो पेजमार्फत सामाजिक सञ्जालमा आफूहरूले बनाएको सामानको भिडियो राख्न थालेका थिए । यसले उनीहरूले बनाएको सामानको अर्डर आउन ठूलो सहयोग गरेको थियो । ‘सबैले थाहा पाऊन् । हाम्रो बिजनेस ग्रो होस् भनेर नै भिडियो, फोटो बनाएर टिकटक, इन्स्टामा राख्थ्यौं ।’
रिदिमाले हरेक तरिकाले मेहनत गरिरहेकी थिइन् । उनलाई सानैदेखि नाच्न मन लाग्थ्यो । समय–समयमा आफ्नो टिकटक एकाउन्टमा नाचेको भिडियो हाल्थिन् । विस्तारै उनले आफ्नो टिकटक आइडीबाट पनि आफूले धागोबाट बनाएका टप्स, कार्डिगन लगाएर फरक शैलीमा राख्न थालिन् । ‘धेरै भन्दा धेरै ग्राहकसम्म हामीले बनाएको सामान पुगोस् भनेर आफ्नै टिकटक आइडीबाट पनि भिडियो हाल्न थालेकी थिएँ । कार्डिगन, टप्स लगाएर डान्स गर्दै पनि राख्थें । धेरैले मन पराउनु भयो,’ उनले भनिन्,‘मेरो पर्सनल एकाउन्टमा नै अर्डरको धेरै म्यासेज आउन थाल्यो । साथी र मेरो सम्बन्धमा नराम्रो कहिल्यै नहोस् भनेर मैले साथीलाई हामीले क्रेट गरेको एकाउन्ट हेन्डिल गर्न दिएँ ।’


त्यसको केही समयमा उनीहरू एक्लाएक्लै काम गर्न थाले । रिदिमाले संघर्ष गर्दै गइन् । उनी कार्डिगन र टप्स बनाउन मात्र सीमित भइनन् । स्वेटर, डल, बुके पनि बनाउन थालिन् । उनले बनाएका हरेक सामान ग्राहकहरूले मन पराउन थाले । रिदिमाले आफूले बनाएको कपडामा भिडियो बनाएर आफ्नो टिकटक आइडी ‘क्रोसेट विथ रिदिमा’ मा राखेका केही भिडियोमा मिलियन भ्युज समेत कटेको छ । काठमाडौं बस्दा घरबाट पैसा पठाएर पढ्ने, कोठाभाडा तिर्ने र रासन खर्च गर्ने गरेकी रिदिमा विस्तारै आफूले कमाएको पैसाले सबै काम गर्दै गइन् । ‘मैले बिजनेस गर्न भन्दा अगाडिसम्म हरेक कुराका लागि पैसा घरबाट नै पठाउनुपथ्र्थो । पछि आफैले कमाएर घरबाट पठाउनु परेन,’ उनले भनिन् । रिदिमामा आत्मविश्वास पनि बढ्दै गयो । गाउँमा बसेकी आमा र बहिनीलाई आफूसँगै ल्याउने निर्णय गरिन् । ‘पहिलेदेखि नै आमाबुवाबाट टाढा बसें । अब आफैले कमाएर बहिनीलाई राम्रो स्कुलमा पढाउँछु । घरपरिवारलाई खुसी दिन्छु भन्ने सोचेर काठमाडौं ल्याएँ,’ उनले भनिन्, ‘सुरुका दिनमा आमाहरूलाई काठमाडौं ल्याएँ । तर मेरो कमाइले पुग्छ कि पुग्दैन भन्ने चिन्ताले सताउँथ्यो । तर राम्रो भएको छ । पछाडि फर्केर कहिल्यै हेर्नुपरेको छैन ।’


रिदिमा सुरुका दिनमा एक्लै एउटा सानो कोठामा बसिरहेकी थिइन् । आफैले कमाउन थालेपछि र आफ्नो परिवार काठमाडौं ल्याएपछि आफ्नै मेहनतले राम्रो ठाउँमा बसेकी छिन् । रिदिमाका बुवा विदेश छन् । तर हरेक तरिकाले रिदिमालाई हौसला दिँदै आइरहेका छन् । ‘परिवारको साथ र सहयोग नै सबैभन्दा ठूलो कुरा रहेछ । जुन मैले पाएकी छु । एकदमै खुसी लाग्छ,’ उनले भनिन् । रिदिमाको आम्दानीको स्रोत व्यवसाय मात्र भने होइन । उनले सामाजिक सञ्जालमार्फत पनि आम्दानी गर्दै आएकी छिन् । ‘भिडियो बनाउने, इडिट गर्ने काममा व्यस्त हुँदा फुर्सद हुँदैन । । तर भिडियो राख्दा फेसबुक र युट्युबबाट पनि राम्रो पैसा आउँछ,’ उनले भनिन् ।
रिदिमा हरेक समय मेहनत गरिरहन्छिन् । उनलाई एउटा कार्डिगन बनाउन दुई दिन लाग्छ । रिदिमा अनिँदो बसेर काम गरेका धेरै रात छन् । ‘ग्राहकहरूले भनेको समयमा पुर्‍याउनुपर्‍यो । त्यसैले कहिले राति ४ बजेसम्म पनि काम गरेर बसेका क्षणहरू छन्,’ उनले भनिन् ।


रिदिमाको कामप्रतिको लगाव, संघर्ष र आत्मविश्वासले अहिले उनले बुनेका सामानहरू विभिन्न देशमा पुगेका छन् । उनले अहिले तीन जनालाई रोजगार दिइरहेकी छिन् । आफूलाई खुसी लाग्ने क्षण धेरै रहेको सुनाइन् । ‘मेरो नामबाट, मैले गरेको कामबाट मलाई सबैले चिनेको देख्दा निकै खुसी लाग्छ,’ उनले भनिन्, ‘आफ्नो गाउँघरमा मात्र नभएर विदेशमा भएका नेपालीले पनि मेरो काम देखेर प्रशंसा गर्दा खुसी लाग्छ ।’
सानो उमेरबाट नै मेहनत गर्दै अगाडि बढेकी रिदिमा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेकी छिन् । २१ वर्षकी उनले भविष्यमा आफ्नो व्यवसायलाई ठूलो बनाउने सोच रहेको सुनाइन् । ‘आफ्नो कामलाई निरन्तरता दिने सोचमा छु । आफ्नै ठूलो सप खोल्ने मन छ,’ उनले भनिन् । 

 Image