कोभिड–१९ महामारीका कारण देशभर लकडाउन थियो । मानिसहरू घरभित्र मात्र सीमित थिए । अञ्जना थापा इन्स्टाग्राम चलाउँदै थिइन् । स्क्रोल गर्दै जाँदा उनले एउटा क्राफ्टिङ भिडियो देखिन् । भिडियो हेरेपछि उनलाई पनि त्यस्तै सामग्री बनाउन मन लाग्यो । उनले आवश्यक सामान जुटाइन् र आफ्नै शैलीमा क्राफ्ट तयार पारिन् । संयोगवश, उनले बनाएको सामग्री भिडियोमा देखाइएको भन्दा अझ आकर्षक बन्यो । त्यही क्षणले अञ्जनालाई हस्तकलाप्रति अझ आकर्षित गरायो ।
अञ्जना लकडाउनको समयदेखि मात्र उदाएकी भने होइनन् । उनी सानैदेखि हस्तकलादेखि विभिन्न क्रियाकलापमा अब्बल थिइन् । उनी कलात्मक सिर्जनामा सधंै अगाडि थिइन् । पेन्टिङदेखि हस्तकलाका सामग्री बनाउन उनलाई सानैदेखि रुचि थियो । त्यसैले अञ्जना आफ्नै क्षमता, कला र संघर्षले अहिले वेडिङ एम्ब्रइडरी, पेन्टिङ, साथै हस्तकलाका विभिन्न सामग्री आफैले बनाएर बिक्री गर्दै आएकी छिन् । ‘आफूले सानैदेखि मन पराएको काममा नै बिजनेसका रूपमा ग्रो गर्न पाउँदा खुसी लागेको छ,’ उनले भनिन् ।
अञ्जनाकी ममी पनि हस्तकलामा निकै अब्बल छिन् । लकडाउनको समयमा उनले आमाको सहयोग र युट्युबको भिडियो हेरेर हस्तकलाका सामग्रीहरू बनाउन सिकेकी थिइन् । त्यसपछि अञ्जनाले बालबालिकाका स्कट, पेन्टिङ, स–साना जुत्ता बनाएर बेच्थिन् । उनले बनाएका सामग्री ग्राहकहरूले निकै मन पराउँथे । सुरुवाती दिनमा घर वरपरका ग्राहकहरूले नै सामान मन पराएर अर्डर गर्थे,’ उनले भनिन्, ‘बनाउनेबित्तिकै व्यापार हुने भएपछि सोसल मिडियामा राख्नै परेन ।’ विस्तारै उनले आफैले नयाँ डिजाइनका सामान सिर्जना गर्न थालिन् । अरुकोभन्दा फरक सामग्री बनाउन थालेकी उनले अहिले अरूको भन्दा फरक खालका हस्तकला सामग्री बेच्दै आएकी छिन् ।
व्यवसाय गरेको सुरुवाती दिनमा आफूले निकै संघर्ष गरेको अञ्जना सुनाउँछिन् । ‘सुरुका दिनमा आवश्यक परेका सामग्री खोज्न निकै गाह्रो हुन्थ्यो । सामान खोज्दा नभेटिने, भेटिए पनि निकै महँगो पथ्र्यो । मेरो बजेटभन्दा पनि महँगा सामान भेटिन्थे,’ उनले भनिन्, ‘चाहिएको सामान खोज्न निकै ठाउँ खोज्नुपर्ने र समय पनि त्यसरी नै खर्च हुने खालको बाध्यता थियो ।’ तर आफ्नो क्षमता र काममा विश्वास राखेकी अञ्जनाले हार खाइनन् । सुुरुमा विभिन्न चुनौती भोगे पनि अहिले भने अञ्जनाले आफ्नै कला र क्षमताले गर्दा सबैले मन पराइरहेका छन् ।
अञ्जनाको अनलाइनमार्फत नेपालमा मात्र नभएर अमेरिका, अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड्सलगायत अन्य देशमा ग्राहकहरूले फरक–फरक डिजाइनमा सामान अर्डर गर्छन् । ‘विदेशबाट आफन्त आउँदा मगाउने ग्राहक धेरै छन् । आफूले बनाएका सामान अरुभन्दा फरक र निकै राम्रो भनी बारम्बार अर्डर गर्दा खुसी लाग्ने रहेछ,’ उनले भनिन् । उनले बनाएका प्रडक्टलाई नेपालमा मात्र नभएर विदेशमा पनि मन पराइरहेका छन् ।
पाटन कलेजबाट एमबीएस पूरा गरेकी २७ वर्षकी अञ्जनाको क्षमता र कलालाई धेरैले प्रशंसा गरिरहेका छन् । उनले आगामी दिनमा आफ्नो कामलाई निरन्तरता दिएर अगाडि बढ्ने सोच रहेको सुनाइन् । ‘लकडाउनबाट काम गर्न सुरु गरेपछि बीचमा केही समय छोडेकी थिएँ । अब भने कामलाई निरन्तरता दिएर अगाडि बढ्ने सोचमा छु,’ उनले भनिन् । अञ्जनाले वेडिङ एम्ब्रोइडरी, एनिभर्सरी फ्रेम, बर्थ डे गिफ्ट, पास्नी गिफ्ट, पेन्टिङहरू बनाउँछिन् र उक्त सामानहरू धेरै बिक्री हुने बताइन् । अञ्जनाको ‘एबिटी क्राफ्टिङ’ नामको अनलाइन सप छ । जसलाई सन् २०२५ पूर्णरूपमा निरन्तरता दिँदै आएकी छिन् ।
एउटा सामान्य डिजाइनको क्राफ्ट तयार पार्न एकदेखि दुई दिन र नयाँ डिजाइनको केही सामग्री बनाउन भने एक हप्ता लाग्ने गरेको उनले सुनाइन् । सामानको मूल्य, डिजाइन र साइजअनुसार एक हजारदेखि १० हजारसम्म हुने उनले सुनाइन् ।
आफ्नो परिवारको सहयोगले नै आफूले काम गर्न सकेको उनी बताउँछिन् । ‘परिवारको साथ र सहयोगले गर्दा नै मैले व्यवसाय गर्न सफल भएकी छु । मेरो सफलताको पछाडि परिवारको ठूलो हात छ,’ उनले भनिन् । काठमाडौंमै जन्मे–हुर्केकी अञ्जनाले आफ्नै व्यवसायबाट आउने आम्दानीले सानो परिवार सहज रूपमा खर्च धान्न पुगिरहेको छ ।
उनी सामाजिक सञ्जालले पनि ठूलो भूमिका खेलेको सुनाउँछिन् । ‘पुराना ग्राहकहरू पनि धेरै छन् । भिडियो बनाई टिकटकमा राख्ने भएर विदेशबाट पनि अर्डर आउँछ ।’ उनले आफ्नो व्यवसायको नाम ‘एबिटी क्राफ्टिङ’ बाट भिडियोहरू सामाजिक सञ्जालमा राख्ने गर्छिन् ।
आफ्नो काममा चुनौती पनि रहेको उनी सुनाउँछिन् । ‘कति दु:ख गरेर आफैले डिजाइन सिर्जना गरेपछि अरुले त्यही डिजाइन कपी गरेर कम मूल्यमा बेचेको समेत देखिन्छ,’ उनले भनिन्, ‘डिजाइन, क्वालिटी र बनाइमा धेरै फरक हुन्छ ।’ उनले कोरेका चित्र, क्राफ्टिङले जसरी मौलिकता भरेको हुन्छ । त्यसरी नै भावनात्मक रूपले मानिससँग जोडिरहेको छ ।
‘एम्ब्रोइडरी, क्रोसेट र चित्रकलाले मलाई साधारण कपडा र सामान्य वस्तुहरूबाट अमूल्य क्षण र सम्झनाहरू सिर्जना गर्न प्रेरित गर्छन्,’ उनले भनिन्, ‘मैले कसैको महत्वपूर्ण दिनलाई हस्तकलामार्फत सधैका लागि जीवन्त राख्न सकें भन्ने हुन्छ ।’ उनले बनाएका हस्तकलाका सिर्जनामा भावना, सम्झना र जीवनभर रहिरहने भिन्न–भिन्न कथा समेटिएका छन् । त्यसैले पनि अञ्जना आफ्नो काम निकै मन पर्ने सुनाउँछिन् । ‘आफूलाई मन परेको कामलाई निरन्तरता दिएमा सफलता अवश्य प्राप्त हुन्छ भन्ने कुरामा विश्वास गर्छु,’ उनले भनिन् ।