Successfully Copied

समाज जगाउने सितारा

सामाजिक जागरण र स्थानीय विकासमा अहोरात्र खट्ने उनको जोस अझै घटेको छैन । भन्छिन्–‘अझ धेरै काम गरी कुनाकाप्चाका महिलालाई जागरुक बनाऊँ ।’

गत मंसिरको एक दिन उनको नजर फेसबुक भित्ताको एउटा पोस्ट ठोकियो । आँखाको क्यान्सर र ब्रेन ट्युमरले ग्रसित आफ्नै पालिकाकी एक महिलाको काठमाडौंमा पुनः शल्यक्रिया गर्नुपर्ने भएकाले सहयोगार्थ आह्वान गरिएको विवरण थियो त्यो । साथमा झन्डै १२ वर्षयता पटक–पटक शल्यक्रिया गर्दाका केही थान तस्बिर र बैंक खाता नम्बर । यो देखेपछि हतुवागढी गाउँपालिका–१, घोडेटार बजारकी सितारा राईको मन एकैछिन चैनले बस्न मानेन ।
बजारमा सहयोग उठाउने भनी आफूले नेतृत्व गर्दै (अध्यक्ष) आएको हतुवागढी महिला विकास केन्द्र संस्थाका साथीहरूसँग सल्लाह गरिन् । घरधन्दा र पसलबाट समय निकालेर बजारका घरैपिच्छे धाइन् । सय, डेढसय, हजार रुपैयाँका दरले ५३ जनाबाट ३३ हजार संकलन भएपछि संस्थाकी सचिव सविता सुवेदीसित पुस २१ गते बिरामीको बैंक खातामा जम्मा गरिदिइन् । आफ्नै मुटुको शल्यक्रिया गराउन काठमाडौं हिँडेकी उनले भनिन्, ‘हिजोसम्म उठेको सहयोग पठाएर आज म पनि आफ्नै उपचार गराउन हिँडेकी छु ।’ काठमाडौंमा छोरा, बुहारी र नाति आफ्नो बाटो कुरिरहेको सुनाइन् ।
गाडी सदाझैं दूधकोशी नदी आडैको चुहार भन्ने ठाउँमा हतुवागढीसहित भोजपुरको दक्षिणी बेल्टबाट झरेका यात्रु बोकेर उदयपुरको बेलका उक्लिँदै थियो । सबैजसो यात्रुको गन्तव्य सुनसरी र मोरङ । त्यही गाडीमा मधेस झर्दै गरेकी उनले चाहिँ काठमाडौं पुग्नुथियो । व्यक्तिगत, सामाजिक र राजनीतिक जीवनमा संघर्ष र चुनौतीका थुप्रै उकाली–ओराली काटेकी उनलाई पछिल्ला वर्ष कोलेस्टेरोल, सुगर र मुटु रोगले सताइरहेको छ । तर उनको सक्रियता अनवरत छ–दूधकोशी बगेझैं ।
भूगोलका आधारमा हेर्ने हो भने पूर्वीपहाडी जिल्ला भोजपुरको दक्षिणी भेग हतुवाक्षेत्र ६० को दशक अघिसम्म विकास र सचेतनाका हिसाबले औसतभन्दा पछाडि नै रह्यो । कच्ची नै भएपनि अहिले गाउँ–गाउँमा सडक पुगेको छ । कोशीको तिरैतिर र अक्करको भिरैभिरै हिँडेर नुनतेल लिन मधेस झर्नुपर्ने बाध्यता लगभग टरेको छ । राष्ट्रिय प्रसारण लाइनको विद्युतीकरण विस्तार हुँदैछ । अँध्यारोमा पनि गाउँले राति पूर्णिमाको जूनसितै उज्यालो छर्न थालेका छन् । टोल–टोलमा सरसफाइ र शौचालयको चेतना बढेको छ । घरको चौघेरोमा मात्रै सीमित हुनुहुँदैन भन्ने सचेतना महिलाहरूमा देखिन थालेको छ । सन्तानलाई लेखपढ गराउनुपर्छ भन्ने सोच अभिभावकमा फैलिँदै गएको छ । यही सामाजिक जागरण र स्थानीय विकासलाई गति दिन अहोरात्र खट्ने श्रेयको एक हिस्सा हुन् उनी ।

महिलाले नेतृत्व र जागरण गर्नुपर्छ भन्ने प्रेरणा उनमा कहाँबाट प्राप्त भयो ? यसको बलियो जवाफ उनीसित छैन । भन्छिन्, ‘२०३६ सालमा विद्यार्थी संगठनको पदाधिकारी भएकी थिएँ, सायद त्यतिबेलादेखि नै केटीहरू घरबाहिर निस्कनुपर्छ, संगठन गर्नुपर्छ, संगठित हुनुपर्छ भनेर सिकियो भन्ने लाग्छ ।’ अभियानहरूमा जोडिँदै र काम गर्दै जाँदा ज्ञान, सीप, क्षमता र नेतृत्व गर्ने जिम्मेवारीको दायरा थपिँदै गयो ।
साबिक सिन्द्राङ गाविसमा जन्मेर हुर्केकी उनको जमानामा पढाइलेखाइलाई त्यति महत्व दिइँदैनथ्यो । घरको जेठो सन्तान भएकाले घरधन्दा, मेलापात र गोठालो गर्नुपर्थ्यो । ‘महिनामा मुस्किलले सात दिन जति स्कुल गइन्थ्यो होला,’ उनले भनिन् । तर यसरी जीवन चल्दैन भन्ने चेतना भएपछि २०४१ सालदेखि तत्कालीन रानीबास गाविसमा पर्ने घोडेटारमा दोकान (होटल) सुरु गरिन् । २०७४ मा राज्य पुनःसंरचना गर्दा साबिकका रानीवास, सिन्द्राङ, खैराङ, होमताङ, पात्लेपानी र हसनपुर गाविसलाई गाभेर बनाइएको हाल हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार पहिलेदेखि नै दक्षिणी भोजपुरको प्रशासनिक र व्यापारिक केन्द्र मानिन्थ्यो । मान्छेहरूको थोरबहुत चहलपहल हुने हुँदा दोकान उनलाई जीविकोपार्जन गर्ने आधार बन्यो । त्यसपछि घर बनाइन् । च्यादर किनेर छाउन नसक्दा पानी परेर झन्डै भत्किएको थियो ।
दोकानमा खाजा खाने बहानामा सबै राजनीतिक दलका नेता र कार्यकर्ताहरू जमघट हुने गर्थे । उनले राजनीतिक र सामाजिक सक्रियतालाई पनि निरन्तरता दिइन् । बजेट माग्ने, कार्यक्रम गर्ने, महिलालाई स्थानीयस्तरमा संगठित गर्ने, कहिले क्षमता विकास त कहिले सीप विकासका तालिम गराउने, हिंसा, दुर्व्यवहार र अन्यायमा परेकालाई प्रहरी प्रशासनसम्म पुगेर न्यायिक प्रक्रियामा साथ दिन थालिन् ।
साबिकका गाविसमा गएर १०/२० हजार बजेट छुट्याउने र कार्यक्रम गर्ने मेसो मिलाउँथिन् । घन्टौंहिँडेर भोजपुर सदरमुकामस्थित तत्कालीन जिल्ला विकास समिति धाउँथिन् । ‘बजेट थोरै हुन्थ्यो, त्यही पाउन पनि झगडा गर्नुपर्थ्यो,’ उनी सम्झन्छिन् । बल्लतल्ल कार्यक्रम आयोजना गरेपनि महिलालाई सहभागी गराउन कठिन थियो । श्रीमान् र घरका अगुवाले घरधन्दा र मेलापातभन्दा बाहिर निस्कन दिँदैनथे । कतिपय महिला भने छलफल, भेला, बैठक, तालिममा जान अप्ठेरो पनि मान्थे ।
महिला हिंसाका घटनालाई सकेसम्म घरसमाजमा नै दबाउने गरिन्थ्यो । त्यस्ता घटना प्रहरीमा उजुरी गर्नुपर्छ भन्ने थिति बसाल्न उनी पीडित महिलाको पक्षमा हुन्छिन् । कारबाहीमा परेकाको हल्लाखल्ला गराउँथिन् । ‘घटनाबारे मैले थाहा पाए भने प्रहरी चौकीमा लगेर थुनाउँछ, बेइज्जत हुन्छ भनेर श्रीमती कुट्न छोडेको छ भनेर सुन्थे,’ उनले भनिन् । चौकी, प्रशासन, बैठक धाउनुपरेका बेला दिनरात नभनी दोकान र औषधि पसल नै बन्द गरेर खट्थिन् ।
४० को दशकमा र अहिले महिलाहरूको जनजीवनमा धेरै सुधार आएपनि पर्याप्त नरहेको उनी सुनाउँछिन् । तालिम–गोष्ठीमा जानुपर्छ, महिला समूह बनाउनुपर्छ, बैठक गर्नुपर्छ, बोल्नुपर्छ, अघि सर्नुपर्छ, सरसफाइ गर्नुपर्छ, शौचालय बनाउनुपर्छ, अस्पताल जानुपर्छ, तरकारी बेचेर भए पनि दुईचार पैसा कमाउनुपर्छ भन्ने सचेतना बढेको छ । सबैका हातमा फोन र इन्टरनेटको पहुँचले गर्दा पनि सहज छ । ‘फेसबुकमा तालिम हुँदैछ भनेर पोस्ट गरिदियो भने हेरेर आफै सम्पर्कमा आउँछन्, पहिलेजसरी घरैमा सीमित हुनुपर्छ भन्ने सोचाइ छैन,’ उनले भनिन्, ‘छोराछोरी पढाउँछन्, छोराछोरीले पनि बुझाउँछन्, अहिले महिलाहरू मैले जित्नुपर्छ भन्ने सोचाइ राख्छन्, प्रोत्साहन अझै चाहिएकै छ ।’
उनले द्वन्द्वकालको दोहोरो मार खेपिन् । माओवादी पक्ष दोकानमा निःशुल्क खाना खान र चन्दा माग्न आउँथे । पाल्दै गरेको सुँगुर बेचेर पनि चन्दा दिइन् । द्वन्द्वकालको उत्तरार्धतिर घोडेटार माथिको हतुवागढीमा नेपाली सेनाको ब्यारेक बस्यो । सैनिकहरू महिला र केटीलाई आफ्नीश्रीमती हो भनेर ढाँट्दै हिंसा र यौन शोषण गर्ने घटना बढे । ‘सोझासाझा छोरी–चेलीलाई लोभलालचामा पारेर शोषण गर्थे, त्यसो नगर भन्दा एउटा सैनिकले तँलाई ड्युटीको बेलामा सुट गर्छुभन्यो, मेरै छिमेकीहरू साक्षी छन्,’ उनले सुनाइन् ।
आफू पढ्दै, दोकान गर्दै, घर बनाउँदै, सामाजिक कामलाई निरन्तरता दिन सहज थिएन । श्रीमान्सँगको सम्बन्ध पनि टिकेन । आमा भएपछि बच्चालाई डोकोमा बोकाएर एसएलसी परीक्षा दिन भोजपुर सदरमुकाम गएकी थिइन् । एसएलसी पास गरेपछि मातृशिशु कार्यकर्ताको जागिरका लागि परीक्षा दिइन् । आफूले पढ्ने अवसर नपाएपनि छोराका लागि जिम्मेवारीको सबै भार एक्लैले उठाइन् । सानैदेखि धरान, काठमाडौंतिर होस्टेल राखिन् । दोकानको कमाइले मात्रै नधान्ने भएपछि औषधि पसल पनि राखिन् । ‘त्यतिले पनि नपुगेर ऋणपान गर्दै, जग्गाजमिन बेच्दै पढाएँ,लोकसेवापास गरेर छोरा अहिले शाखा अधिकृतको जागिरे छ, इज्जत छ,’ उनले भनिन् । आफू भने अहिले घर–व्यवहार धान्न घरैमा जुत्ताचप्पलको पसल गर्छिन् । बंगुर पाल्छिन् ।

घोडेटारलाई सडक सञ्जालमा जोड्न २०६० सालयता उनको उत्तिकै योगदान छ । छिमेकी धनकुटा जिल्लाको पाख्रीबाससम्म मध्यपहाडी राजमार्ग जोडिएकाले त्यहाँबाट मुगा, सुनबालुवा (अरुण नदी), हुँदै घोडेटारमा सडक विस्तार गर्न बनेको समितिमा पदाधिकारी भएर सम्बन्धित निकायहरूमा डेलिगेसन धाउने, डेलिगेसन जाँदा ३२ जनासम्मको टोलीलाई खाना पकाइदिने, विभिन्न गाविसबाट २०/५० हजारका दर बजेट जुटाउने, जनश्रमदान र नेपाली सेनाबाट गोरेटो खन्ने, खनाउने काममा सक्दो खटिन् । जनश्रमदानमा धेरैजसो महिलाहरू भेला हुन्थे । उनीहरूको नेतृत्व गर्थिन् । मानिसले खन्दा भिर, पहरा छिचोल्न सहज थिएन, सवारी चल्ने सम्भावना हुन्थेन । २०६६ सालमा अरुण नदी हुँदै एक्स्काभेटर भोजपुर खण्ड तारेको एक वर्षपछि बल्ल घोडेटार सडक सञ्जालमा जोडियो । यसपछि गाउँ–गाउँ सडक सञ्जाल पुग्यो ।
६१ वर्षीया राई अहिले पनि पालिका र वडाबाट बजेटको चाँजोपाँजो मिलाएर दुई वर्षअघि दर्ता गरेको महिला विकास केन्द्रबाट महिला सशक्तीकरणका कार्यक्रम गर्न अघि सर्छिन् । चुहारदेखि धरानसम्म अढाई घण्टाको यात्रामा उनले सम्झिएको फेहरिस्त सुनाइन् । अन्त्यमा भनिन्, ‘म त भन्छु–अझ धेरै काम गरी कुनाकाप्चाका महिलालाई जागरुक बनाऊँ, अरुलाई सहयोग गरूँ ।’

 Image