४० वर्षीया बुनु रानालाई नर्स बनेर बिरामीको सेवा गर्ने सानैदेखिको सोख थियो । उनले हात्तीको स्याहार गर्नुपर्ला भनेर कहिल्यै सोचेकी थिइनन् । एसएलसीमा दुवै पटकको प्रयास असफल भएपछि बिरामीको सेवा गर्ने सोख टुट्यो । जागिर गर्ने हुटहुटीले हात्तीको सेवा गर्नुपर्यो ।
बुनु धनकुटाको देब्रेवासमा बाआमाका चार सन्तानमध्येकी सबैभन्दा कान्छी हुन् । २०५९ सालको एसएलसी परीक्षामा फेल भएपछि पढाइमा उनको मनै गएन । उनी बाआमालाई घरधन्दा र मेलापात सघाउँदै घरैमा थिइन् । यत्तिकैमा विवाहको कुरा चल्यो । सुनसरीको पश्चिम कुशाहा बस्ने जेठी दिदीतिरका भिनाजुले आफ्नै भाइका लागि ससुरालीसित सालीको हात फैलाए । भिनाजुको यो प्रस्ताव सुरुमा उनलाई मन परेन । ‘पहिलो त मलाई सैनिक प्रहरी फिटिक्कै मन पर्दैन थियो, त्यसमाथि एकै परिवारको दिदीबहिनी कसरी एकै परिवारको दाजुभाइसँग विवाह गर्ने, यो ठीक होइन भनेर मानिन,’ उनले सुनाइन्, ‘दिदीभिनाजुले सम्झाएपछि र मैले चाहेको सहजता पाउँछु भनेर मनाएपछि मागी विवाह भयो ।’ २०६४ सालमा विवाह हुँदा उनी १७ वर्षकी थिइन् । विवाहपछि पश्चिम कुशाहा नै आइन् । उनका श्रीमान् कोशीटप्पु वन्यजन्तु आरक्षभित्र सैनिक ब्यारेकमा कार्यरत थिए । ब्यारेक नजिकै दिदीभिनाजुको घर भएकाले उनी उनीहरूसँगै बस्न थालिन् ।
विवाहपछि हरेक खर्चबर्चमा श्रीमान्को भर पर्नुपर्थ्यो । माइतीमा फोन गर्नलाई सय रुपैयाँ रिचार्ज कार्ड किन्न होस् वा मन लागेको खानेकुरा खान । हरेक कुरामा श्रीमान्कै भर परिरहनु उनलाई उचित लागेन । ‘मलाई यो खान मन लाग्यो, यो चाहियो, ल्याइदिनु भन्दा कहिलेकाहीँ नल्याइदिने भएपछि जसरी हुन्छ जागिर खानुपर्छ, आफ्नो खुट्टामा उभिनुपर्छ भन्ने भयो,’ उनले भनिन् । जेठो छोरा जन्मिएपछि पारिवारिक आवश्यकता र खर्चबर्च पनि झनै बढिरहेको थियो ।
दिदीभिनाजुकैमा बसेर छोरो हुर्काउँदै गर्दा २०६६ सालमा कोशीटप्पुमा ‘गेम स्काउट’ को विज्ञापन खुलेको थाहा पाइन् । उनलाई जसरी हुन्छ जागिर खानु थियो । आवेदन दिइहालिन् । प्रतिस्पर्धा गरेर करारमा जागिर सुरु गरिन् । २०६८ सालमा लोकसेवा आयोगले कोशीटप्पुको हात्तीसारका लागि महिला माहुतेको विज्ञापन खुलायो । दुईजनाले प्रतिस्पर्धा गरेकामा उनले नाम निकाल्न सफल भइन् । गेम स्काउट पदमा दुई वर्षको करारमा जागिर खाइसकेपछि उनी महिला माहुते भएर स्थायी सरकारी जागिरे भइन् ।
आफूभन्दा धेरै गुणा ठूलो हात्तीलाई आफ्नो अधीनमा ल्याउनु चानचुने कुरा थिएन । उनी कोशीटप्पुकै प्रथम महिला माहुते थिइन् । हात्तीलाई पुरुषले मात्रै पहरा गर्न सक्छन् भन्ने पूर्वाग्रही सोचलाई चिर्दै काम गर्नुपर्ने चुनौती थियो । पुरुष माहुतेहरूको सहयोग लिएर हात्तीको आनीबानी थाहा पाइन् । हात्तीसँग सञ्चार गर्न सिकिन् ।
हात्तीलाई अह्रन–खटन गर्न उसमाथि चढेर खुट्टाले कानमा ईशारा दिनुपर्छ । ‘हिक’ भनेपछि रुख ढाल्छ । ‘छौं’ भनेपछि पछाडि हट्छ । ‘अगत’ भनेपछि अगाडि बढ्छ । सामान खसेको छ र माथि उठाउनुपर्नेछ भने ‘उपर दे’ भनेपछि माहुतेलाई दिन्छ । पर्यटकहरूलाई आशीर्वाद दिन लगाउँदा खानेकुरा आएको छ भने आफै खान्छ, पैसा दिएको छ भने माहुतेलाई दिन्छ । खुट्टामा बाँध्नुपर्यो भने ‘छम’ भनेपछि दुवै खुट्टा जोडेर उभिन्छ । यी कुराहरू दुई महिनाको तालिमबाट सिकिन् । पछि विस्तारै हात्तीसँग घुलमिल हुन थालिन् । एक्लै हात्ती चराउन जान थालिन् । माहुतेहरूले पालैपालो कोशीटप्पुको पश्चिम कुशाहा सेक्टरका हात्तीलाई घाँस काट्ने, खुवाउने, दिसा सोहोर्ने, नुहाइदिने, दानापानी खुवाउने, खीर पकाएर खुवाउने, चराउन जंगल लैजाने गर्नुपर्थ्यो । उनी विस्तारै हात्तीको संसारमा रमाउन थालिन् । महिला माहुते भएपछिका १२ वर्ष कति चाँडै बिते उनले पत्तै पाइनन् ।
दुःख नभएका भने होइनन् । हात्ती चढेको बेला खसेर हात भाँचिएको थियो । निको भएर काममा फर्किन एक महिना लागेको थियो । गाह्रो काम भएकाले श्रीमान्ले जागिर छोड्न पनि भनेका थिए । उनी प्रतिस्पर्धा गरेर पाएको जागिर छोड्ने पक्षमा थिइनन् । ‘छोड भन्नुभएको बेला बरु श्रीमान् छोड्छु तर दुःख गरेर काम गर्छु भनेर अडान लिएँ,’ उनले भनिन्, ‘किनभने महिला आफू सक्षम भइयो भने खर्चका लागि अरुसँग हात फैलाउनु परेन, आफू सक्षम भएपछि परेको बेला एक बचन बोल्दा पनि अरुले सहयोग गर्ने भए ।’ माहुतेको काम गर्दा कान्छो छोरालाई जन्म दिइन् । छोरा जन्मेको ६ महिनापछि हात्ती स्याहार्ने काम थालेकी थिइन् ।
महिला माहुतेको जागिर खान थालेपछि पढाइलाई पनि निन्तरता दिइन् । आफूभन्दा सिनियरहरूले पढ्नका लागि प्रेरित गरिरहन्थे । २०५९ सालमा एसएलसी फेल भएपछि छोडेको पढाइ २०७६ सालबाट सुरु गरिन् । त्यही साल एसईईको परीक्षा दिएर पास भइन् । २०७९ सालमा ‘प्लस टु’ पास गरिन् । ‘सिनियर सरहरूले पढ्नुपर्छ भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘पढेर प्लस टु पनि पास गरेको भएर दरौगामा भिड्न पाएँ, नभए त मैले पढाइ छोडिसकेकै थिएँ ।’ दरौगा बन्न प्लस टु गरेको हुनुपर्थ्यो । महिला माहुते हुनका लागि साधारण लेखपढ मात्रै भए पुग्थ्यो । ‘अब हरेक जागिर खाँदा शैक्षिक योग्यताको पनि महत्व बढ्न थालेको छ,’ उनले भनिन् ।
गत वर्ष लोकसेवा आयोगले हात्तीसारका लागि महिला दरौगा (माहुते भन्दा माथिल्लो पद) माग गर्यो । जसमा देशैभरिका ७ जना स्थायी महिला माहुते र २ जना करार महिला माहुते गरी नौ जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा उनले नाम निकालिन् । दरौगा पदमा महिला उनी मात्रै छिन् । पहिले पश्चिम कुशाहाका हात्तीको हेरचाह गरे मात्रै हुन्थ्यो । दगौरा भएपछि कोशीटप्पुभरिका हात्तीको स्याहारसुसारका लागि जिम्मा लिनुपर्छ । माहुतेहरूलाई अह्राउखटाउ गर्नुपर्छ । कुशाहामा ६ वटा, पथरी सेक्टरमा २ वटा, उदयपुरको भागतपुरमा २ वटा र चितवनमा काजमा पठाइएका ३ वटा गरी १३ वटाको रासन, दानापानी, उपचार, हेरचाहको नेतृत्व गर्नुपर्छ । उनले आफूमाथिका नायब सुब्बा र शाखा अधिकृतलाई रिपोर्टिङ गर्नुपर्छ । आत्मनिर्भर बन्ने लक्ष्यले जागिरमा लागेकी उनी अहिले नेतृत्व तहमा छिन् ।
सरकारले हरेक वर्ष प्रतिव्यक्ति १ लाख रुपैयाँ नगद प्रदान गर्ने उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने यस वर्षका १० जनामध्येमा उनी परेकी थिइन् । ०८१ भदौ २२ गते पुरस्कारको घोषणा गरिएको थियो । उनले यसअघि पनि उत्कृष्ट कर्मचारी पुरस्कार तीन पटक प्राप्त गरिसकेकी छन् । ‘पुरस्कार पाउँदा गर्व लाग्छ, पैसा पाएँभन्दा पनि नाम आयो नि त मेरो,’ उनले खुसी व्यक्त गरिन्, ‘पहिले गरेको दुःखको प्रतिफल पाइरहेकी छु, साह्रै खुसी लाग्छ ।’
उनका श्रीमान् सैनिकबाट अवकाश लिएपछि मलेसियामा गएका छन् । जेठो छोरा स्कुल पढ्ने भैसकेका छन् । उनले दुई वर्षका कान्छा छोराको हेरचाह गर्दै हात्तीसार शाखाको जिम्मेवारी सम्हाल्छिन् ।
उनले जागिर खाएपछि बुनु–दशरथले कुशाहामा घर–घडेरी र इटहरीमा जग्गा जोडे । दुवै ठाउँका घर–घडेरी र जग्गा बुनुकै स्वामित्वमा छन् । महिलाहरू आत्मनिर्भर हुन सके परिवारको उन्नति र प्रगतिमा टेवा पुग्ने उनको बुझाइ छ । यसका लागि महिला आफैले अग्रसरता देखाउनुपर्ने र परिवारले पनि साथ दिनुपर्ने सुझाउँछिन् । ‘मैले विगतमा भोगेजस्तै दुईचार रुपैंयाँ खर्च गर्न अरुको घोचपेच सहनुपर्ने महिला समाजमा अझै हुनुहुन्छ, उहाँहरूलाई आयआर्जन गर्ने अवसर दिनुपर्छ,’ उनी भन्छिन्, ‘महिलाको आयआर्जन क्षमताले घरपरिवारमा धेरै राम्रो गर्छ, समाजको सामु निर्णय गर्ने हैसियत राख्छ ।’