आरती चटौत सञ्चार क्षेत्रमा लोकप्रिय नाम हो । सञ्चार क्षेत्र र महिला सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय काम गरेकी चटौतको पहिचान यतिबेला उत्कृष्ट व्यवस्थापकका रूपमा पुगेको छ । नेपाल व्यवस्थापन संघले हालै उत्कृष्ट व्यवस्थापकको अवार्ड प्रदान गरेसँगै उनको चिनारी थपिएको हो । महिला सशक्तीकरणदेखि सीमान्तकृत र पिछडिएका वर्गको निरन्तर आवाज उठाउँदै उनले व्यवस्थापकको पनि भूमिका निभाइरहेकी छन् । नेपाल टेलिभिजनमार्फत उनले आवाजविहीनहरूको आवाज बोल्न थालेको लामो समय भइसकेको छ । टेलिभिजनमा कार्यक्रम प्रस्तोताको तालिम लिएर प्रवेश गरेकी उनी अधिकृत हुँदै यतिबेला नायब महाप्रबन्धकको जिम्मेवारीमा छन् । नेपाल विद्याभूषण प्राप्त गर्ने प्रथम सञ्चारकर्मी उनले कसरी भुइँमान्छेका कथाहरू भन्न थालिन् ? सञ्चार क्षेत्रमा प्रवेश गर्ने कुनै सोचविना नै नेपाल टेलिभिजनमा करारका रूपमा प्रवेश स्थायी हुँदै नायव महाप्रबन्धकको उनको यात्रा रोचक छ ।
संघर्षका लागि संघर्ष
नेपाल टेलिभिजनमा उनले संघर्ष कार्यक्रमबाट आफूलाई स्थापित गरिन् । त्यो त यस समाचारमूलक कार्यक्रम ‘परिवृत्त’ महिलासम्बन्धी कार्यक्रम ‘जागृति’ को अनुभव उनले गरिसकेकी थिइन् । संघर्षबाट भने भुइँमान्छेहरूको सारथि बनिन् । आवाजविहीनहरूको आवाज बनिन् । भारतको चेन्नईमा ‘ब्रोडकास्ट जर्नालिजम’ को डिग्री प्राप्त गरेपछि उनलाई लाग्यो प्रतिनिधिमूलकभन्दा पनि आवाजविहीनहरूको आवाज बन्नुपर्छ । यौन व्यवसायी महिलाको संघर्षको पहिलो कार्यक्रममले नै उनलाई परिचितसँगै स्थापित पनि बनाइदियो । यसका लागि उनी रत्नपार्कका गल्लीदेखि पुलमा ग्राहकका रूपमा आफैंलाई उभाइन् । यौन व्यवसायी महिलालाई साथी बनाइन् । खाजाका लागि पैसा खर्च गरिन् । उनीहरूको सम्पूर्ण गतिविधि रेकर्ड गरेर देखाइन टेलिभिजनमार्फत । त्यसबेला टेलिभिजनको लोकप्रियता भएका कारण संघर्षको पहिलो कार्यक्रमले नै उनी चर्चित भइन् । कार्यक्रमको नाम पनि स्वीकार भयो । त्यसो त संघर्ष नाम राख्नकै लागि उनले संघर्ष नै गरेकी थिइन् । माओवादी द्वन्द्वकाल चर्किएको थियो । सबैको मुखमा संघर्ष नै थियो । संघर्ष राख्नहुँदैन भनेर बहस नै भयो । तर आरतीलाई लाग्थ्यो संघर्ष बाहेकका नामले आफ्नो कार्यक्रमको मर्म बोक्दैन । उनले भनिन्, ‘मेरो संघर्ष कार्यक्रममको नाम पहिलो कार्यक्रमले नै पास गराइदियो, त्यसपछि म संघर्षमा संघर्षशील मानिस खोज्न थालें ।’ टेलिभिजनले नै उनलाई महिलाहरुलाई संघर्ष देखाइदिएको हो रिपोर्टिङमा हिँड्न थालेपछि उनले बुझेकी हुन् साँच्चिकै महिलाहरु त संघर्षशील हुँदा रहेछन् । लुकेर बसेको यौनिक अल्पसंख्यकलाई अधिकारका लागि लड्न, खुलेर बोल्न सिकाइन् समाजमा उनीहरुलाई गरेको बहिष्कार विरुद्ध टेलिभिजनमार्फत आवाज उठाइन् । त्यसबेला आरतीलाई लागेको थियो यौनिक अल्पसंख्यकको गल्ती के छ र किन उनीहरु लुकेर बस्ने ? उनीहरुलाई बाहिर ल्याउनुपर्दछ भनेर अल्पसंख्यकको आवाज उठाउन सहयोग गरिन् । त्यो कार्यक्रम प्रभावकारी पनि रह्यो । उनलाई लाग्छ कार्यक्रममार्फत थुप्रै अल्पसंख्यक बाहिर आउन र आफ्ना अधिकारको माग गर्न थालेका छन् । कार्यक्रम प्रसारण पश्चात धेरैले अधिकार र सहयोग प्राप्त गरेका छन् । समाजमा विद्यमान कुरीति कुसंस्कारविरुद्ध सशक्त रुपमा आवाज उठाउँदै गरेको संघर्षका कारण लैगिंक हिंसा विरुद्धको अभियानको रुपमा स्वकारेको छ । कतिले पढ्ने अवसर पाए यसको लेखाजोखा छैन आरतीलाई । आरती भन्छिन् ‘मेरो कार्यक्रमले थुप्रै मानिसहरुको जीवन परिवर्तन आएको छ, यो नै एउटा सञ्चारकर्मीको कर्म र धर्म हो।’ प्रस्तोकर्ताका रुपमा टेलिभिजन प्रवेश गरेकी आरतीले कार्यक्रम निर्माण भन्दा पनि टेलिभिजनका ५ वटै च्यानलहरुको वार्षिक कार्यक्रम तयार गर्नेदेखि बजेट व्यवस्थापनमा खटिन्छिन् । उनी हरेक च्यानलको प्रस्तृति कसरी समावेशी र नागरिकको जीवन स्तर उकास्ने तर्फ उन्मुख हुन सक्छन् भन्ने मनन गर्छिन् ।
महिला मुद्दामा बहस
टेलिभिजनमा महिला लक्षित कार्यक्रम ‘जागृति’ सञ्चालन हुन्थ्यो । सञ्चालक दीपा गौतम तालिमको सिलसिलामा विदेश गएपछि आरतीको नाम सिफारिस भयो । आरतीले भनिन् ‘मलाई महिलाको विषयमा कुनै रुचि छैन ।’ रुचि नहुँदा नहुँदै पनि उनले सञ्चालन गरिन, उनको चौतर्फी आलोचना भयो । विषयवस्तु नबुझी कार्यक्रम सञ्चालन गरेकी भनरे महिलाअधिकारकर्मीहरुले टेलिभिजनमा चिठी समेत लेखे । उनले त्यो कुरा स्विकारिन् उनले साँच्चिकै महिलाको विषय बुझेकी थिइनन् । महिलाहरुको अवस्था उनीहरुको समस्या उनलाई थाहै नै थिएन । सलोनी सिंहलाई भेटेपश्चात हो उनले लैगिंक असमानताको विषयमा बुझेको । कमजोरीलाई सुर्धार्दै अध्ययन अनुसन्धान गर्दै लैगिंकता बुझ्न थालिन् । कार्यक्रम सञ्चालनमा उनको प्रखरता आउन थाल्यो । ‘जागृति कार्यक्रममाा उनले प्रतिनिधिपात्रहरु र अभियानकर्ताहरु मात्र हुन्थे’ उनले भनिन्‘ यसले उनलाई कार्यक्रममलाई न्याय गरेन,जो पीडित हो उसैको आवाज आउनुपर्दछ भनेर संघर्षको सुरुवात भएको हो ।’ महिला मुद्दामा लामो समयदेखि बहस गरिरहेकी उनी नेपालमा महिलाहरुको उपलब्धिलाई सकारात्मक रहेको देख्छिन् । महिलाहरुको अधिकारको क्षेत्रमा कानुनमा थुप्रै परिवर्तन भएको बताउछिन् । छोटो समयमा उपलब्धि भए पनि महिलालाई अंश र वंशको अधिकार प्राप्तिका लागि लड्नुपर्ने बिडम्बना रहेको उनको भनाई छ । उनी भन्छिन् ‘महिला क्षेत्रमा उल्लेखनीय उपलब्धि भएको हो तर अंश र वंशमा अझै पनि महिला अधिकार प्राप्त नहुनु दुखको कुरा नै हो । ’ महिलाहरुको संख्या कम भएकै कारण हस्तक्षेपकारी भूमिका हुन नसकेको उनको भनाई छ । उनका अनुसार हरेक क्षेत्रमा महिलाहरुको उपस्थिति जबसम्म महिलाहरुको ५१ प्रतिशत पुग्दैनन् तब सम्म महिलाहरुले हस्तक्षेप गर्न सक्दैनन् ।
सञ्चारक्षेत्रमा महिला
नेपालमा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तरमा महिला र मिडिया विषयमा थेसिस गरिन् । सञ्चारमाध्यममा महिलाको अवस्था बुझ्ने मौका पाइन् । पत्रकारितामा महिलाहरुको हरेक बिटमा उत्कृष्ट रुपले कलम चलाउन सक्ने क्षमता देखेकी छन् उनले । तर परम्परागत मुल्य र मान्यताका कारण् महिलाहरुले अझै घरभित्रको जिम्मेवारी निभाउनुपर्दा पत्रकारिता क्षेत्रमा महिलालाई टिक्न सहज नभएको उनको भनाई छ । जहाँ कार्यलय समय निश्चित हुँदैन, त्यहाँ महिलालाई घरपरिवार सम्हाल्दै काम गर्न चुनौती नै देख्छिन्, उनी । उनका अनुसार महिलाहरु लामो समय टिक्न नसक्नु महिलामैत्री समाचार कक्ष नहुनु हो । त्यसो त महिलाहरुलाई पुरुष भन्दा पनि बढी काम गरेर प्रमाणित गर्नुपर्ने अवस्था छ । उनी भन्छिन् ‘महिलामैत्री सञ्चारमाध्यम नभएकाले पनि लामो समयसम्म महिलाहरु चाहेर पनि यो क्षेत्रमा टिक्न सकेका छैनन् ।’ सञ्चारको हरेक तहमा घर देखि कार्यक्षेत्र लैंगिकमैत्री हुनु नै यसको निकास हुन भन्ने कुरामा उनी दृढ छन् ।