Successfully Copied

स्मार्ट प्यारेन्टिङ के हो ?

‘स्मार्ट प्यारेटिन्ङ नेपाल’ की सहसंस्थापक प्रतिमा लामाका अनुसार प्यारेन्टिङ भनेको गर्भधारण (कन्सिभ) गर्नुभन्दा पहिलेकै तयारी हो । ‘बच्चा कन्सिभ हुँदा आमा र बुवाको मुड कस्तो छ, उनीहरूबाट जन्मिने बच्चामा त्यसैको प्रभाव पार्छ भन्ने विभिन्न अध्ययन–अनुसन्धानबाट पुष्टि भइसकेको छ,’ उनी भन्छिन्, ‘गर्भावस्थामा महिला मानसिक


एउटा प्रचलित भनाइ छ–‘बच्चा जन्माउनु र अभिभावक बन्नु फरक कुरा हो ।’ हाम्रो समाजमा अभिभावकत्व निभाउनका लागि आफैंले बच्चा जन्माउनुपर्छ भन्ने छ । तर, अभिभावकत्व निभाउन आफैंले बच्चालाई जन्म दिनुपर्छ भन्नु सही होइन । हाम्रो वरिपरि, परिवारमा वा समाजमा बच्चाहरू हुन सक्छन् । उनीहरूले ठूलालाई हेरेर केही न केही सिकिरहेका हुन्छन्, त्यसैले उनीहरूका लागि कोही न कोही अभिभावकको भूमिकामा रहेका हुन सक्छन् । शिक्षा एवं मानव संसाधन विकास केन्द्र (सीईएचआरडी) ले पनि ‘बायोलोजिकल प्यारेन्टस्’ लाई मात्र अभिभावक नभनिने बताएको छ ।


प्यारेन्टिङको तयारी
‘स्मार्ट प्यारेटिन्ङ नेपाल’ की सहसंस्थापक प्रतिमा लामाका अनुसार प्यारेन्टिङ भनेको गर्भधारण (कन्सिभ) गर्नुभन्दा पहिलेकै तयारी हो । ‘बच्चा कन्सिभ हुँदा आमा र बुवाको मुड कस्तो छ, उनीहरूबाट जन्मिने बच्चामा त्यसैको प्रभाव पार्छ भन्ने विभिन्न अध्ययन–अनुसन्धानबाट पुष्टि भइसकेको छ,’ उनी भन्छिन्, ‘गर्भावस्थामा महिला मानसिक र आर्थिक रूपमा सबल हुनुपर्छ । यस अवधिमा धेरैभन्दा धेरै खुसी हुनुपर्छ । परिवार र श्रीमान्ले पनि त्यो वातावरण बनाइदिन जरुरी छ ।’
हाम्रो समाजमा अझै पनि विवाह समयमै हुनुपर्छ, बच्चा बेलैमा जन्माउनुपर्छ भन्ने मानसिकता छ । तर, विवाहपछिको जोडी अभिभावक बन्न योग्य बनिसकेका छन् वा छैनन् भन्ने कुरा धेरैले बुझेका हुँदैनन् । ‘समाज र परिवारका कारण नचाहँदा नचाहँदै बच्चा जन्माउन बाध्य छन्, त्यसको प्रत्यक्ष असर बच्चामा पर्छ,’ लामा भन्छिन्, ‘रहरले जन्माएको बच्चा रहरले नै हुकाईन्छ र करले जन्माएको हुर्काइ नै करले हुन्छ ।’


अभिभावक नै रोल मोडल
अहिलेका धेरैजसो अभिभावक आफ्ना बालबालिकासँग बढी अपेक्षा राख्छन् । फलस्वरूप बालबालिकामा अभिभावकले भनेको नमान्ने, नटेर्ने बानीको विकास हुन्छ । लामा भन्छिन्, ‘कतिपय अभिभावक आफ्ना अधूरा सपना बच्चामा थोपर्ने गर्छन् । उनीहरूको इच्छा छ वा छैन बुझ्ने प्रयास पनि गर्दैनन् ।’ हरेक बालबालिकाको क्षमता फरक–फरक हुन्छ । उनीहरूको क्षमता र सामर्थ्य अभिभावकले नै तय गरिदिन्छन् । बालबालिकाको उमेरअनुसार उनीहरूको वृद्धि विकास हुन्छ, तर यो नबुझीकन अभिभावकले व्यवहार गर्ने उनी बताउँछिन् ।
बच्चालाई सुधार्नका लागि आफू सुध्रिनुपर्छ भन्ने ज्ञान कमैलाई मात्र हुने गरेको लामाको भनाइ छ । ‘प्यारेन्टिङ भनेको बच्चालाई कसरी सुधार्ने भन्ने गलत धारणा छ,’ उनी भन्छिन्, ‘आफू परिवर्तन हुन नचाहने तर बच्चालाई परिवर्तन गर्न खोज्ने धेरैजसो अभिभावक छन् । आमाबुवाले फुर्सद हुनासाथ मोबाइल चलाएपछि बालबालिकाले पनि फुर्सद पाउनेबित्तिकै मोबाइल हेर्छन् ।’ उनका अनुसार सुत्ने बेलामा कथा पढेर सुनाउँदा बालबालिकामा पढ्ने र सुन्ने बानीको विकास हुन्छ । धेरै अभिभावक बालबालिकाले पढ्दैनन् भनेर गुनासो गर्छन् । बालबालिकाले नपढे आफैले पढेर सुनाइदिनुपर्छ । बालबालिकाका लागि आमाबुवा नै रोल मोडल बन्नुपर्ने लामा बताउँछिन् ।

बालबालिकालाई बुझौं
पछिल्लो समय धेरै अभिभावक आफ्ना बालबालिकाले कुरा नसुन्ने, भनेको नमान्ने, झगडा गर्ने गुनासो गर्छन् । तर, आफूअनुसारको व्यवहार गर्दा अभिभावकले बालबालिकाहरूलाई चिन्न नसक्ने प्यारेन्टिङका क्षेत्रमा काम गर्ने विज्ञ बताउँछन् । त्यसैले अभिभावकले आफ्ना नानीबाबुलाई बुझ्ने प्रयास गर्नुपर्छ भन्छिन्, लामा । ‘जबसम्म चिनिँदैन तबसम्म अभिभावक र बालबालिकाबीचको सम्बन्धले निकटता पाउँदैन,’ उनी भन्छिन्, ‘बालबालिकाहरूले अटेन्सन खोजेका हुन्, माया खोजेका हुन् । उनीहरूले राम्रोसँग व्यक्त गर्न मात्रै नसकेका हुन् । उनीहरूले देखाउने भनेको इमोसनको माध्यमबाट नै हो ।’
‘स्मार्ट प्यारेटिन्ङ नेपाल’ कै अर्की सहसंस्थापक सुनीता नापित बालबालिकाले जिद्दी गरे भन्दैमा उनीहरूको स्वास्थ्यलाई नकारात्मक असर पार्ने खानेकुरा खुवाउनै नहुने सल्लाह दिन्छिन् । ‘यसले उनीहरूको व्यवहार परिवर्तन हुनसक्छ । त्यसैले अभिभावकको रोल निभाउनु सक्नुपर्छ,’ उनी भन्छिन्, ‘बालबालिकालाई हुर्काउँदा उनीहरूलाई व्यक्तिगत रूपमा स्वीकार गर्नुपर्छ । तर, अभिभावक नै हाबी भइरहेका हुन्छन् । उनीहरूले परिणामभन्दा पनि वर्तमान समयमा थुमथुम्याउने काम मात्र गरिरहेका छन् ।’


सचेत बन्दैअभिभावक
नेपालमा अभिभावकत्वसम्बन्धी तालिम दिने वा कसरी बालबालिकालाई हुर्काउने भन्ने सिकाइँदैन । नापित भन्छिन्, ‘बालबालिकाहरू पढ्न विद्यालय जान्छन्, शिक्षकहरूका लागि तालिम दिने विभिन्न संघसस्था छन् तर अभिभावकलाई अभिभावकत्व सिकाउने कुनै संघसस्था छैनन् ।’ अहिले अधिकांश अभिभावकले कामकाजी भएका कारण आफ्ना सन्तानप्रति पर्याप्त समय दिन सकिरहेका छैनन् । त्यसकारण बालबालिकामा विभिन्न किसिमका समस्या देखिँदै आएका छन् । ती अभिभावकका लागि अभिभावकत्व कसरी निर्वाह गर्ने, कहाँ गल्ती भइरहेछ भन्ने कुरा स्मार्ट प्यारेन्टिङ नेपालमा सिकाइने उनी बताउँछिन् ।
अहिले प्यारेन्टिङ चाहिन्छ भन्ने जमात बढ्दै गएको लामाको भनाइ छ । ‘अभिभावकभन्दा अहिलेका बालबालिका स्मार्ट छन् । अपडेटका हिसाबले उनीहरू एक स्टेप अगाडि छन् । उनीहरूलाई हुर्काउन अभिभावकहरू अझ एक स्टेप अगाडि जानुपर्छ,’ भन्छिन्, ‘तब मात्र उनीहरूले आफ्ना बालबालिकालाई सही बाटो देखाउन सक्छन् ।’


‘स्मार्ट प्यारेन्टिङ नेपाल’ ले के गर्छ ?
यहाँ बालबालिकाहरूको चौतर्फी विकासमा जोड दिइन्छ । यसमा उनीहरूको शारीरिक, मानसिक, बौद्धिक, सामजिक एवं भावनात्मक विकास पर्छन् । हरेक महिना अभिभावकत्वसम्बन्धी क्विज कन्टेस्ट आयोजना हुन्छ । शिक्षाविद्, बालविशेषज्ञ, बालमनोविद्, पोषणविद्हरूसँगको सहकार्यमा बालबालिकाको समग्र विकास कसरी गर्ने भन्ने विषयमा कार्यक्रम गरिन्छ । त्यसका लागि अभिभावकले पहिले सदस्यता लिनुपर्छ । साथै, स्मार्ट प्यारेन्टिङ नेपालको फेसबुक र वेबसाइटबाट अभिभावकहरू जोडिन सक्नेछन् । 

 Image