Successfully Copied

घरेलु हिंसाका कारण र निवारण

कुनै एक व्यक्तिले अन्यलाई वा महिलालाई शारीरिक, मानसिकएवं धार्मिक रूपमा प्रताडित गर्नु नै हिंसा हो ।


सुनीता गाइसी


हाम्रो समाजमा महिला समानताको नारा लगाउने धेरै भेटिन्छन् । तर, आफ्नै घरभित्र हुने गरेका घरेलु हिंसालाई उनीहरूले बेवास्ता गरिरहेका हुन्छन् । यसले घरभित्र पनि महिलाहरू विभिन्न हिंसाबाट पीडित हुँदै आएका छन् ।कुनै एक व्यक्तिले अन्यलाई वा महिलालाई शारीरिक, मानसिकएवं धार्मिक रूपमा प्रताडित गर्नु नै हिंसा हो । जहाँसम्म घरेलु हिंसाको कुरा छ–यसमा बालबालिकाविरुद्धका सबै हिंसा, बाबुआमा वा युवामाथि हुने हिंसा आदि पर्छन् । परम्परागत रूपमा घरेलु हिंसालाई शारीरिक हिंसाका रूपमा परिभाषित गरिएको पाइन्छ । यो एकप्रकारको अपराध हो । घरेलु हिंसा ऐन–२०६६ मा व्यवस्था भएअनुसार महिलामाथि हुने शारीरिक, मानसिक, यौनजन्य र आर्थिक हिंसा गर्ने जोकोहीलाई सजायको व्यवस्था छ । एक तथ्यांकअनुसार दक्षिण एसियामा ५० प्रतिशत महिला जीवनमा कुनै न कुनै समयमा घरेलु हिंसाको शिकार हुने गरेका छन् ।

घरेलु हिंसा हुनुका विभिन्न कारण छन् । तीमध्ये परम्परागत कुरीतिलाई अझै पालना गर्नु, पितृसत्तात्मक सामाजिक संरचना, गरिबी, अशिक्षा, जनचेतनाको कमी, महिलाहरूलाई आफ्नो हक–अधिकारबारे जानकारी नहुनु, महिलाहरूले आफूमाथि भएको हिंसाविरुद्घ आवाज नउठाउनु र समाजमा बदनामीको डरले हिंसाका घटना बाहिर नआउनु घरेलु हिंसाका प्रमुख कारण हुन् । यसैगरी, समाजले महिलालाई समानताको नजरले हेर्न नसक्नु, कानुनमा समानताको अधिकार लेखिए पनि व्यवहारमा लागू हुन नसक्नु, महिलालाई आत्मरक्षासम्बन्धी तालिम नदिनु, उनीहरूलाईकमजोर पार्न खोज्नु पनि महिला हिंसा हुन् । त्यसैगरी छोरा र छोरीलाई फरक किसिमले व्यवहार गर्नु,समानताका पक्षमा बनेका कानुनको कडाइका साथ पालना नहुनु, महिला हिंसाविरुद्ध महिलाहरू नै एकजुट हुन नसक्नु र समाजमा प्रचलित विभिन्न कुप्रथा(देउकी, झुमा, बा“धा प्रथा, छुवाछूत, लैंगिक विभेद) आदि कारणले पनि घरेलु हिंसा हुन्छन् ।

घरेलु हिंसालाई बन्देज गर्ने थुप्रै कानुन भएपनि यो घट्नुको साटो दिनहुँ बढ्दो छ । यसलाई बेलैमा नियन्त्रण गर्न नसकिए विकराल रूप लिन सक्छ । यसो त महिलामाथि घरेलु हिंसा पुरुषबाट मात्रै भएको हुँदैन । यो महिलाद्वारा महिलामाथि पनि हुने गरेको पाइन्छ । सासूले बुहारीमाथि, नन्दले भाउजूमाथि गरिने हिंसा यसअन्तर्गत पर्छन् । त्यसैले महिलामाथि हुने घरेलु हिंसा कम गर्न सबैभन्दा पहिला महिला सचेत र एकजुट हुन जरुरी छ । यस्ता खालका हिंसालाई कम गर्ने थुप्रै उपाय छन् । महिलाका सम्बन्धमा बनेका नियम–कानुनलाई कडाइका साथ पालना गर्नु, हिंसाविरुद्घ जनचेतना फैलाउनु र महिलाले पनि आफूमाथि भएको हिंसाविरुद्घ आवाज उठाउनु महिला हिंसा कम गर्ने केही उपायहरू हुन् ।

यसैगरी, हिंसा पीडित महिला आफ्नो बेइजत हुन्छ भनी मौन बस्नु हुँदैन । पीडकलाई कानुनको कठघरामा उभ्याउनुपर्छ र समाजले पनि त्यस्ता महिलालाई हौसला र साथ दिनुपर्छ । महिलाहरूलाई पनि आत्मरक्षासम्बन्धी विभिन्न किसिमका तालिम दिनुपर्छ जसले उनीहरू हरेक पाइलामा सुरक्षित हुन सक्छन् । महिला र पुरुषबीच रहेका विभिन्न असमानताका खाडलहरू पुर्दै समाजलाई शिक्षित र सभ्य बनाउन सक्रिय हुनुपर्छ । समाज रूपान्तरणको प्रक्रियामा छोरा र छोरीबीचको भेदभाव हटाउनुपर्छ । दुबैलाई समान रूपमा शिक्षा दिनुपर्छ । हाल भैरहेको छोरी भ्रूण हत्या तत्कालै रोक्नुपर्छ । यो क्रम बढ्दै जाने हो भने भविष्यमा महिलाको संख्या कम हुँदै जान्छ र यसले अरु नकारात्मक कुराको सिर्जना गर्न सक्छ । नेपालमा विद्यमान विभिन्न कुसंस्कार, कुपरम्परालाई हटाउँदै जानुपर्छ । खासगरी, छाउपडी, छुवाछूत, देउकी, झुमा, दाइजो प्रथाको अन्त्य गर्न सक्नुपर्छ ।

महिलालाई दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार गर्नु हुँदैन । सामाजिक नीति–नियमहरू महिलामैत्री हुनु जरुरी छ । हिंसा गर्ने व्यतिm वा समूहलाई समाजबाटै बहिष्कार गर्नुपर्छ । महिलालाई विभिन्न तालिम दिएर आर्थिक रूपमा सशक्त बनाउनुपर्छ । महिला हिंसा घटाउन पुरुषहरूलाई पनि जनचेतनामूलक कार्यक्रममा सहभागी गराउनुपर्छ । पीडकलाई कडा सजाय दिनुपर्छ । महिलाले पनि आफूलाई कमजोर ठान्नु हु“दैन । यी माथिका उपायहरू अपनाएमा महिला हिंसामा कमी आउन सक्छ । मानव समाजको उत्पत्तिलाई खोतल्ने हो भने सुरुको समाज मातृसत्तात्मक थियो । समाजमा महिलाको स्थान उच्च थियो । तर, पितृसत्तात्मक मानसिकताको विकास भएस“गै महिलामाथि अत्याचार, शोषण, दमन र उपेक्षा बढेको हो । यसलाई तत्कालै चिर्न अब टड्कारो भइसक्यो ।

 Image