देउताले नि ढोग्ने भए छाती हो आमाको
वैकुण्ठभन्दा ठूलो काख हो आमाको
माइत जान दिनुस् स्वामी वर्ष दिनको तीजमा
खल्लो हुन्छ माइतीलाई छोरी विना बरिलै ।।
तीज पर्व होस् वा दसैं–तिहार, महिलाविना कुनै पनि पर्वको कल्पना गर्न सकिन्न । प्रत्येक घरका परिवारलाई विश्वास छ आमा, श्रीमती, छोरी, दिदीबहिनी, भाउजूले गरेको प्रतिनिधित्व, सहयोग र पर्वलाई पर्व बनाउने उमंग र रौनक मातृत्व र प्रेमले भरिएको हुन्छ । त्यति मात्र होइन नोकरी, घर व्यवस्थापन, साहित्य लेखन आदि क्षेत्रमा महिलाको योगदान र सहभागिता हृदयतः खुलेर आउने मनोभावनात्मक र रचनात्मक सहयोग मान्नुपर्छ । नारीमा रहेको शक्ति, प्रेम र करूणाको स्वरूपले एउटा घर, परिवार एवं समाजमा मिठास र सुन्दरता बढाएको हुन्छ ।
आशावादी
प्रत्येक वर्ष आउने तीज आदि चाडपर्वमा विगतका कष्ट र गुनासालाई भुलेर फेरि नाचगान र उमंगमा जीवनलाई फर्काउने प्रयास गर्नु महिलाको गुणवत्ता हो । विगतका निराशा र व्यक्तिप्रति एवं समाज र राष्ट्रका गुनासा र चिन्तालाई प्रेमपूर्ण माहोलमा आशावादी हुन सिकाउने कला महिलामा हुन्छ । यो हरेक घरका पुरूषहरूले मनन गर्ने र प्रशंसा गर्ने विषय हो । जीवनमा एउटा चीज भनेको समय र भनेजति नहुँदैमा चिन्तित हुनुपर्ने जरूरी छैन बरू आशावादी हुनु जरूरी छ कि जहिले समय अनुकूल हुन्छ त्यहिले मेरो अनुकुलतामा आउनेछ । आउनेछ, हुनेछ, बन्नेछ भन्ने सकारात्मक आशाले जीवनमा नयाँ ऊर्जाको सिर्जना हुन्छ । सोचेजस्तो भएन, मिलेन, पाइएन यस्ता नकारात्मक धारणाले जीवनलाई कमजोर बनाउँछन् । अस्तित्वले हामी के चाहन्छौं त्यो नदिन सक्छ तर हामीलाई के आवश्यक छ त्यो अवश्य दिन्छ । आवश्यकता, इच्छा र अपेक्षामा बिल्कुल भिन्नता छ तर हामी एकनासै हेर्छौं र अपेक्षामै जीवन बितेको हुन्छ । आशा नहुनु निराशामा जीवन बिताउनु हो । जसरी सास रहुन्जेल आश भन्ने उखान छ त्यसरी नै, जीवन रहुन्जेल आशावादी रहनुपर्छ । राम्रो हुनेछ त्यो आशालाई जीवनको मन्त्र बनाउनु जरूरी छ । यो ऊर्जालाई केही गरी गुमाउनु हु“दैन । आशाको ऊर्जाले सानोदेखि ठूलो कर्ममा सकारात्मक सहयोग मिल्छ । सकारात्मक आशा राखेर गरिएको कर्मले सकारात्मक परिणाम दिन्छ अनि आशावादी व्यक्तिले त्यो परिणामको श्रेय पनि अस्तित्वलाई नै दिन्छन् । म त कर्म गर्ने एउटा पात्र न हु“, दिनेवाला अस्तित्व नै हो यो समर्पण भाव पनि आशावादी व्यक्तिमा विकसित भएको हुन्छ अर्थात् स्वभाव नै आशावादी हुनु मानवीय गुणवत्ता हो।
सहयोगी
तीजलगायतका चाडपर्वमा आफ्ना चेलीबेटी भेला गराएर घर र माइती पक्षका आफ्नालाई प्रेम दिने र खुसी बाँड्ने काममा अग्रसरता महिलाले नै लिएका हुन्छन ्। त्यसो त मानिस स्वभावैले सामाजिक प्राणी हो । त्यसैले घर, परिवार, समाज र राष्ट्रसँग नै उसको सम्बन्ध जोडिएको हुन्छ । अहिले त हाम्रो सम्बन्ध अन्तर्राष्ट्रिय समेत भैसक्यो त्यो व्यक्तिगत होस् वा व्यावसायिक हिसाबले । अध्ययन–अध्यापन एवं भ्रमण आदि कारणले विदेशी व्यक्तिसमेत आफ्नै हितैषी बनेका उदाहरण पनि छन् । सामान्य सम्बन्ध सबैसँग हुन्छ तर केही सम्बन्ध यस्तो हुनु जरूरी छ जसलाई जुनसुकै सुख–दुःख भन्न र सहयोग लिन–दिन सकियोस् । निराशामा पुगेको जीवनलाई पनि सहारा दिन सकियोस्। चाडपर्वमा मात्रै होइन सधै आफ्नोपन, आफ्नो मन र आफ्नो सोच जीवन्त बनोस्, जीवनको मज्जा नै यसमै छ। आफैं कमाऊँ, खाऊँ, आफ्नैलाई गर यो त सामान्य जसले पनि गर्छ। तर आफ्नो प्रिय व्यक्ति, मित्र र शुभेच्छुक पनि होऊन् अनि उनीहरूसँगको सम्बन्ध सुमधुर रहोस्। धन सकियोस् तर मनले उसको सहयोगमा, उसलाई खुसी दिनमा पछि पर्नु नपरोस्। यस्ता प्रेमल सम्बन्ध जानेर पनि गुमाउनु हुँदैन । बाआमा हामीले रोजेर पाइन्न यो हाम्रो भाग्यको कुरा हो । तर, बाआमालाई हामीले कसरी खुसी र आनन्दित राख्न सक्छौं त्यो हाम्रो स्वभावको कुरा हो । साथीभाइ, मित्रता हाम्रो रोजाइ हो र उनीहरूसँग कायम राख्ने सुमधुर सम्बन्ध हाम्रो स्वभाव हो।जान्ने र बुझ्ने हो भने जीवनको ठूलो सम्पत्ति नै यही हो । धैर्य, करूणा, खुला ह्दय र एक–अर्काको पूरक भएर निभाउन सक्ने मित्रता बिर्सेर पनि गुमाउनु हुँदैन ।
विश्वास
जतिपनि सम्बन्ध र पारिवारिक सफलता मिलेको छ त्यसमा अपवादबाहेक महिलाको विश्वास र धैर्यले ठूलो भूमिका निर्वाह गरेका छन्। भौतिक सम्पदाको हिसाबले व्यक्ति व्यक्तिलाई धनी–गरिब छुट्याउन सकिएला । बाहिरी डिग्रीका आधारमा शिक्षित र अशिक्षितको भिन्नता होला । रंग, धर्म, वर्ण र भूगोल फरक होला। तर विश्वास सबैमा एकै गुण हो, यो सबैको मानवीय गुणवत्ता र साँघु हो जसले एक–अर्कालाई जोड्नमा सहयोग गर्छ । ज्यान जाओस् विश्वास नजाओस् भन्ने उखानको मर्म नै जीवनमा सबै वस्तु गुम्न सक्छन् तर विश्वास आफ्नो स्वभाव हो यसलाई कसैगरी गुम्न दिनुहुन्न। हामी भन्ने गर्छौं अरुले धोका दियो त म उसलाई किन धोका नदिनु? विश्वास आफ्नो गुण र स्वभाव भएकाले अरूसँग तुलना गर्ने विषय नै होइन । यही विश्वासले नै आफ्नो आत्मविश्वास बढाउँछ । जब आत्मविश्वास बढ्छ तब अरूसँगका तुलना र प्रतिस्पर्धा स्वतः निष्क्रिय हुँदै जान्छ । आफ्नो स्व–बोध, स्व–निर्णय र स्व–सचेतनामा बाँच्ने शैलीको विकास हुन्छ। आत्मविश्वास नहुने व्यक्तिले नै अरुको देखासिकीमा जीवन बाँचिरहेका हुन्छन् । आत्मविश्वासमा बाँच्ने व्यक्तिको जीवनमा नकारात्मक सोचले स्थान लिनै सक्दैन। चुनौतीलाई सहजताका साथ सामना गर्न सक्छ । निर्भय, निडर आफ्नो निर्णय क्षमता र स्वतन्त्र भएर प्रेम र उमंगको जीवन बाँच्न सक्छ । आफ्नो व्यक्तिगत खुसी र निजतामा बाँच्न पनि आत्मविश्वास जरुरी हुन्छ । निराशावादी व्यक्ति सधैं अरूकै बारेमा सोचेर बस्छ भने आत्मविश्वास भएको व्यक्तिले आफ्नै जीवनशैली, स्वतन्त्रता, प्रेम, करूणा र आत्म साक्षात्कारमा बाँचेको हुन्छ । अरूलाई प्रभावमा पार्ने उसको उद्देश्य हुँदैन केवल आफ्नै स्वभावमा जिउनुको आनन्द र प्रेमपूर्ण जीवनको भरपुर उपयोग गरेको हुन्छ । स्मरण गरौं, मनन गरौं, पर्वलाई पर्वको रूप दिन, जीवनमा जीवन्तता थप्न र निरस जीवनमा उमंग थप्न महिलाको भूमिका महत्वपूर्ण हुने हुँदा महिलाले आफ्नो भूमिका जीवन्त राख्न पछि नपरौं ।