Successfully Copied

समृद्धिका लागि नारी

ठूल्ठूला विकासका काममा नारी सहभागिता, संविधानमा नारी हक–अधिकार, सरकारमा नारी सहभागिता आदि कुरा समेटिएर, नारी सहभागिता बढ्दै गएको भए पनि अझै छोरा र छोरी जन्मदा आमाको मुहारमा झल्कने स्वभाव र संवेदनाको विभेद हटिसकेको छैन । 

ठूल्ठूला विकासका काममा नारी सहभागिता, संविधानमा नारी हक–अधिकार, सरकारमा नारी सहभागिता आदि कुरा समेटिएर, नारी सहभागिता बढ्दै गएको भए पनि अझै छोरा र छोरी जन्मदा आमाको मुहारमा झल्कने स्वभाव र संवेदनाको विभेद हटिसकेको छैन । 

समृद्धि शब्द अहिलेको परिप्रेक्ष्यमा देशलाई नयाँ युगको बाटोमा हिँडाउन र नयाँ आयामले विकासको अनुभूति दिलाउन एउटा गहन अर्थ बोकेर प्रस्तुत भएको छ । भाषणमा समृद्धि, कागजमा समृद्धि, ठाउँठाउँमा समृद्धि जोकसैलाई यो शब्द र यसको मर्मले आकर्षण गर्न थालेको महसुस हुन्छ । दशकौंदेखिको अस्थिरतालाई यही समृद्धिको नाराले किनारा लगाउला अनि नेपाल र नेपाली हुनुको गर्व महसुस गराउला भन्ने सबैमा एउटा अपेक्षा पनि छ । यद्यपि समृद्धिको परिभाषा कसरी लगाउने ?

 समृद्धिलाई कुन क्षेत्रबाट कसरी अनुभूति गर्ने ? यसले अझ गहन मर्म आत्मसात् गर्नुपर्ने हुन्छ । हाम्रो समाजको संस्कार, परिपाटी, कुरीति, आवश्यकता, अधिकार, स्वतन्त्रता, सुख, शान्ति र आनन्दित जीवनशैलीजस्ता मानव जीवनका बहुआयाममा अनुभूति गर्नुपर्ने समृद्धि नारी सहभागिता र नारी सम्मानविना सम्भव छैन । किनभने प्रत्येक घरबाट छोरा र छोरीबीचको विभेद अन्त्य नहुँदासम्म आन्तरिक शान्ति र आत्मसम्मान प्राप्त हुँदैन । आत्मसम्मानविनाको समृद्धिको के अर्थ हुन्छ र ? ठूल्ठूला विकासका काममा नारी सहभागिता, संविधानमा नारी हक–अधिकार, सरकारमा नारी सहभागिता आदि कुरा समेटिएर, नारी सहभागिता बढ्दै गएको भए पनि अझै छोरा र छोरी जन्मदा आमाको मुहारमा झल्कने स्वभाव र संवेदनाको विभेद हटिसकेको छैन । 

अरुले के भन्छन् भन्ने कुरामा चासो नराखी एउटी आमाले जन्मिएको दिनदेखि छोरा र छोरीलाई हेर्ने दृष्टि, छोरा र छोरीलाई हुर्काउने तरिका, छोरा र छोरीलाई दिने प्राथमिकता, छोरा र छोरीलाई दिने शिक्षाको शैली र सोचमा परिवर्तन आएको छैन । अंश र वंश छोराविना चल्दैन भन्ने मान्यता र धारणामै परिवर्तन आउन सकेको छैन भने समृद्धिको अनुभूति कसरी गर्ने ? नारीले नै नारीको संवेदना बुझ्न सक्ने विवेकको वृद्धि भएको पाइँदैन हाम्रा घर तथा समाजमा । 

करोडौंको संख्यामा केही प्रतिशतमा यी मान्यतामा परिवर्तन आएका होलान् र छोरीहरूले छोरासरह अवसर, सम्मान र प्रेम पाएर जीवनलाई धन्य मानेका होलान् तर यतिले मात्र देशको समृद्धिमा कुनै योगदान गर्न सक्दैन । असमानता र विकृत मानसिकता बोकेर हुर्किएको समाज र घरमा छोरा र छोरी समान अस्तित्व लिएर सिर्जना भएका आफ्ना सन्तान हुन् भन्ने बोधको विकास नहुँदासम्म विसंगति रोकिएर समृद्धि आउने सम्भावना रहँदैन ।

छोरीलाई शिक्षित बनाए आत्मनिर्भर बन्न सक्छिन् भनेर होइन छोरी पढाए गतिलो घरमा, पढेलेखेको केटाले विवाह गर्छ भन्ने धारणा अझसम्म छ । छोरीलाई शिक्षा नै दिए पनि आत्मनिर्भर बन्ने शिक्षा दिइएको छैन । छोरीले पाएको शिक्षाअनुसार उसको उपादेयता र उपयोगिताको मूल्यांकन गरिँदैन र वास्तवमा भन्नुपर्दा शिक्षित नारीले आफ्नो शैक्षिक योग्यताको भरपुर उपयोग गर्ने अवसर नै पाएका छैनन् हाम्रो समाजमा । किनभने तिमी छोरी हौ भन्ने भनाइ हरेक बाआमाको मुखमा झुन्डिएको छ र अझ विशेषगरी बुवालाई भन्दा आमालाई नै आफ्नी छोरी आत्मनिर्भर बनेर स्वतन्त्र जीवन जिउन सक्छिन् भन्ने विश्वास छैन । सचेतना, जागरण र कुरीतिको अन्त्य भनेर जति भाषण गरे पनि, नारा लगाए पनि व्यावहारिक रूपमा सचेत र जागृत नहुँदासम्म विभेदको अन्त्य सम्भव छैन । 

जबसम्म विभेद रहन्छ तबसम्म समृद्धिको अनुभूति गर्ने कुनै गुन्जायस रहँदैन । हामी भन्छौं समाजमा परिवर्तन आउनुपर्छ । हामी बस्ने समाजमा परिवर्तन कहाँबाट सुरु गर्नुपर्छ ? अवश्य घरबाट तर हामीले आजसम्म पनि विभेदको संस्कार र प्रचलनलाई अन्त्य गर्न सकेका छैनौं । बिहान उठ्ने बेलादेखि सुरु हुन्छ हाम्रो घरमा छोरीको कोठा ढकढक्याउँदै छोरी तिमी अहिलेसम्म उठेकी छैनौ ? हेर त छोरी भएर अबेरसम्म सुतेको ? भोलि विवाह गरेर कर्मघर गएपछि पनि अबेरसम्म सुत्ने बुहारीलाई अलच्छिनी भन्छन् । छोरी जाऊ भान्सामा गएर चिया पकाएर ल्याऊ किनभने तिमी छोरी हौ । छोरीले सबै काम सिक्नुपर्छ । छोरी भाइलाई तयार पार, खाजा–पानी, झोला मिलाइदेऊ, स्कुल जान हतार हुन्छ । छोरी स्कुल जाँदा बाटोमा भाइको राम्रो ख्याल गर है । 

७–८ वर्षकी हुन् वा १८–२० वर्षकी छोरी हामी यस्ता कुरा दिनहुँ भनिरहेका हुन्छौं । २–३ वर्षको अन्तराल रहेका छोराछोरीबीच पनि हामी छोरीले नै सबै कुरा जान्नुपर्छ भन्ने मानसिकता राख्छौं । खाना पकाउन, कोठा मिलाउनदेखि लिएर पाहुना आउँदा सत्कार गर्न र चिया ल्याउन सिक्नुपर्छ छोरीले । किन यी सबै काम छोराले सिक्नुपर्दैन ? सबै काम जाने छोरालाई सजिलो हुँदैन र ? अवश्य सीप भन्ने कुरा छोराले पनि जान्नुपर्छ ताकि उसको जीवनमा जे–जस्तो परिस्थिति आए पनि त्यसको सामना गर्न सकोस् तर छोराले नजाने पनि नसिके पनि समाजले केही भन्दैन । छोरीले नजान्दा समाजले पनि भन्छ । यो अरूका लागि जान्नुपर्ने र थाहा पाउने कहिलेसम्म ? समाजका लागि हामीले हाम्रा छोरीलाई छोरासरह कहिले व्यवहार गर्ने ?

भर्खर विवाह हुनासाथ पारपाचुके भयो भने घटना केटा पक्ष र केटी पक्ष दुवैका लागि बराबर हो तर जति केटी पक्षका बाआमालाई यो घटनाले असर गर्छ त्यति केटा पक्षलाई नगरेको पाइन्छ । मर्द हो छोराले अर्को विवाह गर्छ भन्ने धारणा घरका बाआमा र समाजको पनि हुन्छ भने ल हेर त छोरीको जात एकपटक सम्बन्ध बिग्रिएपछि अब जीवन बिताउन कठिन हुन्छ–यही कुरा सुनिन्छ समाजमा । नारीहरूबाटै यस्ता कुरा सुन्नमा आउँछन् । समाजकै कारण आमालाई छोरीको त्यति नै चिन्ता परेको हुन्छ । मेरी छोरी पनि प्रतिभाशाली छे, पढेलेखेकी छे, आफ्नो खुबीले गरेर खान्छे भनेर आत्मविश्वास जगाउने काम गरिएको पाइँदैन । विवाहमा कर्म पुर्‍याउँदा होस् वा छोरीको घरतिरकाको सत्कारमा छोरी पक्ष जहिले सजग र झुकेकै हुनुपर्ने चलन छ । सम्बन्ध जोडिएपछि एक–अर्कामा बराबर प्रेम र सद्भाव भए पो सम्बन्ध राम्रो हुन्छ, अपनत्व महसुस हुन्छ । यदाकदा बाहेक छोरीको पक्षलाई धेरै पक्षबाट भार बोकाइरहेका हुन्छन् छोराका तर्फबाट । 

बलात्कारकै घटनामा केटाहरू मज्जाले विनाडर समाजमा खुल्लेआम हिँडिरहेका हुन्छन् भने केटीको इज्जत गए बराबर गर्छ समाजले । यी कुरालाई छोरीका आमाबुवाले निर्धक्क स्वीकार गर्न सकिरहेका हुँदैनन् । यस्तै कयौं घटना र उदाहरण छन् जहाँ छोरी भन्नासाथ खुलेर हिँड्न, आवाज उठाउन र निर्धक्क जीवन बिताउन पाइरहेका हुँदैनन् छोरी हुन् वा छोरीका बाआमा । आखिर के भए हामी परिवर्तन हुन्छौं त ? हाम्रो मनस्थितिमा परिवर्तन नआई परिस्थितिमा परिवर्तन आउँदैन । यस्ता कुरीति र मान्यतामा सकारात्मक परिवर्तन नआउँदासम्म राष्ट्रमा समृद्धिको अनुभूति गर्न सकिँदैन । किनभने हाम्रो दृष्टि नबदलिएसम्म सृष्टि बदलिँदैन । हामीले अरूलाई दोषारोपण गरेर समय बिताइरहने अनि परिवर्तन पनि खोज्ने कुरा सम्भव होला त ? मदर टेरेसालाई १९७९ मा नोबेल पुरस्कार प्रदान गरेपछि सोधिएको थियो–विश्वमा शान्ति कायम राख्न के गर्नुपर्छ ? उहाँको उत्तर थियो–सर्वप्रथम तिमी आफ्नो घर जाऊ अनि आफ्नो परिवारसँग प्रेम बाँड । यसबाट पनि थाहा हुन्छ कि प्रेम, परिवार, शान्ति र समृद्धिमा कुनै विभेद छैन र हुनु पनि हुँदैन । छोरीलाई छोरी भएकै कारणले थोपरिने अनेक संस्कार र बाध्य पारिने कर्महरूभन्दा पनि उनको स्वतन्त्रता र क्षमता अनि प्रतिभाले सत्कर्ममा अघि बढाउने प्रयास गर्ने कि ?

 

 Image