सुषमा खत्री, इलेक्ट्रिक इन्जिनियर
यो संसारमा जति पनि वस्तु छन् ती सबैको आ–आफ्नै अस्तित्व छ र त्यसको प्रभाव एक–अर्कामा परिरहेको हुन्छ । प्राणी, वनस्पति, सौर्य मण्डल, ग्रह तथा तारा सबै आ–आफ्नो नियम चक्रमा रहेर आ–आफ्नो ऊर्जा दिने वा लिने कार्य गरिरहेका हुन्छन् । मानिसलाई गास, बास र कपासदेखि अनेकौं वस्तुको आवश्यकता पर्छ अर्थात् मानिसलाई स्वास्थ्य, सुख, समृद्धि, शिक्षा, अधिकारजस्ता भनेर नसकिने वस्तुहरूको आवश्यकता हुन्छ । त्यसको प्राथमिकतामा पर्छ घर, जहाँ आरामसँग जिन्दगी बिताउन सकियोस् अनि मात्र अन्य काम सहज तरिकाले सोच्न वा गर्न सम्भव हुन्छ ।
विश्वमा यतिका घर बनेका छन् । के ती सबै घरमा बस्ने मानिसहरू सन्तुष्ट छन् त ? जस्तो नयाँ–नयाँ रोग देखिँदै जान्छ त्यसको उपचारको पनि खोजी हुँदै जान्छ, निराकरणको बाटो पनि पत्ता लाग्दै जान्छ । त्यस्तै घरको कुरा गर्दा अहिले वास्तुको चर्चा भैरहेको पाइन्छ । घरमा यो मिलेन, त्यो मिलेन भन्ने कुरा चर्चाको विषय हुन थालेको छ भने त्यसको समाधानको उपाय पनि खोजिँदै छ । वास्तुविज्ञहरूले नै डाक्टरहरूले रोग पत्ता लगाई औषधि दिएजस्तै वास्तुदोष पत्ता लगाई त्यसको निराकरणको उपाय बताइदिन्छन् ।
घरको वास्तु केमा निर्भर गर्छ भन्दा धेरै कुरा अगाडि आउँछन् । उचित दिशा, सौर्य राशि, पृथ्वीको गुरुत्वाकर्षण शक्ति, अन्तरिक्ष शक्ति, चुम्बकीय शक्ति पृथ्वीमा र हाम्रो शरीर दुवैको) गणितीय आकृति स्थानको भौगोलिक बनोट, माटोको गुण, जलवायुजस्ता पञ्चतत्वलाई सन्तुलनमा राखी वास्तु मिलाएर घर बनाउने काम सजिलो कुरा पक्कै होइन । त्यसमा पनि मानिसको भाग्य, कर्म, ग्रहदशा आदि सबैको असरलाई सन्तुलन मिलाएर लान सके मात्र पूर्ण वास्तु मिलेको मान्न सकिन्छ ।
विश्वका प्रत्येक संप्रदाय, वर्ग, जातजाति एवं धर्मका मानिसले एकै प्रकारका परम्परा कहिल्यै मानेका छैनन् । कसैको परम्परा वा मान्यतामा विश्वास गर्ने–नगर्ने आ–आफ्नो कुरा हो । त्यस्तै जन्म, मरण, जीवन आदिको रहस्य पनि बुझिनसक्नु छ । वास्तुअनुरूप घर उचित दिशामा मात्र नभई अनेक कुरामा सन्तुलन कायम गर्न सके मात्र सकारात्मक ऊर्जा प्राप्त हुन्छ । त्यसैले नमिलेको घर भनेर अन्धविश्वासको पछि मात्र लाग्ने होइन कि त्यसलाई वैज्ञानिक ढंगले पनि सोच्नुपर्छ । जस्तो भान्सा पूर्व–दक्षिण दिशामा भए राम्रो किन भनिएको होला त भन्दा यो ठाउँ अग्निको ठाउँ हो ।
पूर्व–दक्षिण दिशामा बार्है महिना सूर्यको किरण भान्सामा पर्दा पर्याप्त उज्यालो छिर्न सक्छ जसले गर्दा खानामा परेको कीरा, फोहोर आदि देख्न सकिन्छ । सफा, उज्यालो ठाउँ भएकाले पूर्व फर्केर पकाउनु राम्रो भनिएको हो । वास्तुले भान्सा नजिक ट्वाइलेट र पूजा कोठा हुनु हुँदैन भनिन्छ त्यसको कारण ट्वाइलेटको फोहोर जसलाई नकारात्मक ऊर्जा भनिन्छ, बाट रोगका किटाणु फैलने सम्भावना हुनु नै हो ।
वास्तुशास्त्रले पिल्लरमुनि सुत्नु हुँदैन भने पनि त्यो पिल्लरमा आकर्षक फलसिलिङ राखेर बत्ती बालिएको छ भने मानिसहरू पिल्लरको विचारै नगरी आरामसँग दिन बिताइरहेका हुन्छन् तर उक्त पिल्लर देख्नेबित्तिकै नकारात्मक सोचले मानसिक तनाव बढाइदिन्छ । देखिएन भने सकारात्मक प्रभावका कारण आनन्दसँग काम गर्न सकिन्छ ।
कतिको घरको भर्याङ घडीको सुई घुम्ने र कतिको उल्टो दिशातिर हुन्छ । भर्याङ घडी घुम्ने दिशातर्फ भए वास्तु मिलेको भनिन्छ र उल्टो दिशामा घुम्ने खालको भर्याङ छ भने आपत्कालीन समयमा ओर्लनुपर्दा दाहिने हातले अँध्यारोमा पनि भर्याङको डन्डी समातेर तल झर्दा सजिलो र छिटो हुन्छ । अब वास्तु मान्ने कि सुरक्षामा ध्यान पुुर्याउने ? यसको समाधान पनि वास्तुविद्हरूले गरिसकेका छन् ।
अहिले आएर वास्तु दोषको निराकरणका लागि क्रिस्टल, तामा, पिरामिड, विभिन्न धातु, बाँसुरी, पत्थर आदि प्रयोग गर्न थालिएको छ । त्यसमा पनि परापूर्वकालदेखि विभिन्न ग्रहदशा, देवी–देवता, पितृदोष हटाउन मन्त्रको प्रयोग पनि हुँदै आएको छ ।
वास्तु दोष हटाउन बजारमा विभिन्न यन्त्र, क्रिस्टल आदि उपलब्ध हुन थालेका छन् । यस्ता सामान पनि वैज्ञानिक नियम प्रयोग गरी बनाउन थालिएको छ । कतै तामाको तार वा पाइरावेस्टबाट छेकबार लगाउने, कतै क्रिस्टल प्रयोग गरेर ऊर्जा बढाउने, कतै ऐना प्रयोग गरी सकारात्मक ऊर्जालाई फर्काउने वा परावर्तन गर्ने, कतै तरङ्गलाई वायरलेस कम्युनिकेसनमा जस्तै एकै ठाउँबाट अर्काे ठाउँमा ट्रान्समिसन गर्ने वा सार्ने प्रयोग हुन थालेको छ । वास्तु विज्ञानमा अणु, परमाणु सिद्धान्तको विज्ञानलाई आधार मानी पृथ्वी, अन्तरिक्षको गुरुत्वाकर्षण, चुम्बकीय शक्ति एवं दैत्य शक्तिसमेतको अनुसन्धान भैरहेको छ ।