खुसी हुन कुनै न कुनै बहाना चाहिन्छ ? यो प्रश्नको उत्तर दिन सहज नहोला तर व्यस्त जीवनशैलीमा बिनाबहाना खुसी बटुल्न त्यति सहज र सम्भव छैन । चाडपर्व त्यस्तो अवसर हो जुन समयमा स्कुल, कलेज, कार्यालयलगायत व्यापार–व्यवसायबाट पनि केही समय फुर्सद पाइन्छ । यही अवसर छोपेर परिवारमा खुसीको बहार ल्याउने विविध क्रियाकलाप गर्न सकिन्छ ।
आफन्त बोलाएर घरमै मिठाईं बनाउने
लामो समयसम्म भेट नभएका नन्द–आमाजू, देउरानी–जेठानी, भान्जा–भान्जी एवं दिदी–बहिनी भेला भएर सेल पकाउने, मिठाईं बनाउने, सगुनका लागि चाहिने अन्य सामग्री तयार पार्ने आदि काम गर्दा आफूलाई भित्रैदेखि खुसी प्राप्त हुने मात्र नभई समग्र परिवारमा खुसी छाउँछ । भेला भएकाहरूबीच रमाइलो वार्तालाप, अनुभव आदान–प्रदान, आगामी दिनका योजना सुन्ने–सुनाउने क्रमले एउटै खालको काम गर्दागर्दा थकित भएको दिमाग फ्रेस हुनुका साथै आपसी माया–प्रेम तथा सद्भाव अझ प्रगाढ हुँदै जान्छ ।
साथीभाइसँग सपिङ जाने
सधैंको भागदौडबाट दिक्क जीवनशैलीबीच मन खाने साथीभाइसँग सपिङ जाँदा मन प्रफुल्ल हुन्छ । दाजुभाइका लागि गिफ्ट छनोट र खरिदमा साथीको सल्लाह–सुझावले महत्वपूर्ण भूमिका खेल्छ । यसबाट अरूको विचार सुन्ने बानीको समेत विकास हुन्छ भने आफ्ना बेस्टफ्रेन्डसँग समय बिताउन र उनीहरूको च्वाइसमा आफूले निर्णय गर्न पाउँदा भित्रैदेखि खुसी प्राप्त हुन्छ ।
मुभी वा घुमघाम
चाडपर्वमा सबैसँग फुर्सद हुन्छ । यो समय सदुपयोग गर्न तथा एक्स्ट्रा–ह्याप्पिनेस प्राप्त गर्न नजिकका साथीभाइ वा सपरिवार मुभी हेर्न जान अथवा घुमघाममा निस्कन सकिन्छ । यसले वर्षभरिको थकान मेटाउनुका साथै आगामी दिनको योजना बनाउन उत्प्रेरित गर्छ ।
मिलेर रंगोली बनाउने तथा दियो सजाउने
तिहारलाई रंग र बत्तीको पर्व पनि भनिन्छ । यतिबेला घर सजावट, बत्तीको झिलिमिली तथा देउसी–भैलोको भाकाले वातावरण नै गुञ्जायमान तुल्याइरहेको हुन्छ । यस्तो अवसरमा छिमेकी वा आफन्त एकै ठाउँमा भेला भएर पालैपालो रंगोली बनाउने वा बत्ती सजाउने काम गर्दा समयको बचतका साथै एकै पटकमा धेरै काम गर्न सकिन्छ र आफूलाई खुसी तुल्याउने अन्य कुरामा सहभागी हुने समय निस्कन्छ ।
सबैजना जम्मा भएर माला गाँस्ने तथा पूजा गर्ने
तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ । यी पाँच दिन पालैपालो काग, कुकुर, गाई, गोरु तथा भाइको विशेष पूजा हुन्छ । यसरी पूजामा छरछिमेकका मानिस एकै ठाउँमा जम्मा भएर माला गाँस्ने, पूजा गर्ने आदि काम गर्दा रमाइलोमा अझ रमाइलो थपिन्छ । सबैजनाको छुट्टाछुट्टै विचारले नयाँ विचार सिर्जना हुन्छ भने छिमेकीबीचको सम्बन्धसमेत प्रगाढ हुन्छ ।
देउसी–भैलोमा सरिक हुने
वर्षमा एकपटक आउने चाडमा सकेसम्म रमाइलो गर्नुपर्छ । रमाइलो गर्न नयाँ–नयाँ योजना बनाउन सकिन्छ । साथीसंगी मिली मादल मात्र लिएर किन नहोस् देउसी–भैलोमा सरिक हुँदा आफ्नो खुसीको तह बढ्नुका साथै संस्कृति संरक्षणमा समेत टेवा पुग्छ ।
बालबालिकाहरूलाई संस्कार सिकाउने
यो अवसरमा आफ्ना बालबालिकासँग प्रशस्त समय बिताउने समय मिल्छ । आफूले पर्व मनाउन गरिने हरेक कृयाकलापमा बालबालिकालाई सहभागी गराउनुपर्छ । लक्ष्मीपूजा गर्दा होस् वा देउसी खेल्दा वा माला र रंगोली बनाउँदा नै किन नहोस् उनीहरूलाई आफ्नो संस्कार र संस्कृतिको महत्व एवं गरिमा बुझाउनुपर्छ जसले गर्दा उनीहरूमा पनि खुसी छाउँछ ।