Successfully Copied

ग्लिसिरिनको प्रयोग

छालाको हेरचाहका लागि धेरै पहिलेदेखि नै ग्लिसिरिनको प्रयोग प्रचलनमा छ । यसमा ‘मोस्चराइजर’ र ‘ह्युमिकटेट’ गुण हुन्छ । यसले छालालाई मूलायम बनाइराख्छ र छालालाई भित्रैबाट ‘हाइड्रेट’ गर्छ ।

छालाको हेरचाहका लागि धेरै पहिलेदेखि नै ग्लिसिरिनको प्रयोग प्रचलनमा छ । यसमा ‘मोस्चराइजर’ र ‘ह्युमिकटेट’ गुण हुन्छ । यसले छालालाई मूलायम बनाइराख्छ र छालालाई भित्रैबाट ‘हाइड्रेट’ गर्छ । ग्लिसिरिनको प्रयोग प्रायः जाडो मौसममा बढी गरिन्छ । जाडोमा छाला सुख्खा र रुखो हुन्छ । यसको नियमित प्रयोगले धेरै फाइदा पुग्छ । छालाको चमक बनाइराख्न, घाम र बाहिरी प्रदूषणका कारण छालालाई ‘ड्यामेज’ हुनबाट पनि यसले बचाउँछ । छालालाई ताजगी पनि प्रदान गर्छ । 
यसले छालाको दागधब्बा पनि हटाउँछ । बाक्लो केश बनाउनका लागि समेत यसको प्रयोग गरिन्छ । साबुन, बडी लोसन, मोस्चराइजर, बडी स्क्रब, फेसप्याकका साथै स्याम्पु र कन्डिसनरमा पनि ग्लिसिरिनको प्रयोग गरिएको हुन्छ । 

के हो ग्लिसिरिन ?
यो सुगर र अल्कोहलको कार्बनिक कम्पाउन्ड हो । यो गाढा, रंगहीन, गन्धहीन र थोरै गुलियो स्वाद भएको तरल पदार्थ हो । यो छुँदा चिपचिप हुन्छ । यसलाई खानेकुरामा, छाला र केशको हेरचाहका लागि प्रयोग गरिन्छ । यो सबै प्रकारको छालाका लागि प्रयोग गर्न योग्य मानिन्छ । 

सुरक्षित छ 
छालामा प्रयोग गर्ने प्रसाधन सुरक्षित छ कि छैन भन्नेबारे सबैको चासो हुन्छ । कुनै प्रसाधनले छाला सुख्खा बनाउँछ । पोर्स बन्द गर्न सक्छ । ग्लिसिरिनले पोर्स बन्द गर्दैन र छाला सुख्खा बनाउँदैन । त्यसैले यो पूर्ण सुरक्षित हुन्छ । यसको प्रयोग शिशुहरूको प्रसाधनमा पनि गरिएको पाइन्छ । 

किन लगाउने ?
सुख्खा छाला भएकाहरूले गुलाब जल र एलोभेरासँग मिसाएर लगाउन सक्छन् । यसको प्रयोग प्याकमा पनि गर्न सकिन्छ । मुल्तानी माटोसँग मिसाएर लगाए जुनसुकै प्रकारको छालाको लागि ‘एक्सफोलिएट’को काम गर्छ । छालाको चमक बढाउन र सनबर्नबाट छुटकारा पाउनका लागि कागती र गुलाब जलको प्रयोग गर्न सकिन्छ । एक्नेको समस्या भएकाहरूले कपूरमा ग्लिसिरिन मिसाएर लगाउन सक्छन् । सामान्य छालाको ‘पिएच ब्यालेन्स’ गर्नका लागि ‘भ्यासलिन’मा मिसाएर प्रयोग गर्न सकिन्छ । साथै यसको प्रयोग सनस्क्रिनका रूपमा पनि गर्न सकिन्छ । यसले चाउरीपना कम गर्न सक्छ । ग्लिसिरिनको सहयोगले पोर्स भित्रैदेखि सफा गर्छ र ब्ल्याकहेड्स हटाउन मद्दत गर्छ । 

सही तरिका
अनुहारमा ग्लिसिरिन लगाउँदा रातको समय उत्तम हुन्छ । त्यसका लागि सबैभन्दा पहिले अनुहार धोएर सुख्खा बनाउनुपर्छ । त्यसपछि आधा कप पानीमा ग्लिसिरिनको केही थोपा हालेर कपासको सहायताले पूरै अनुहारमा लगाउनुपर्छ । मुख र आँखामा भरसक पार्नु हुँदैन । ग्लिसिरिनको असर गर्मी र जाडोमा अलग–अलग हुन्छ । यो खानामा प्रयोग गरिए पनि यसमा ननटक्सिक हुने भएकाले कसैकसैलाई मुखबाट प्रयोग गर्दा साइड इफेक्ट हुनसक्छ । 

घाउको उपचार
ग्लिसिरिनको प्रयोग घाउको उपचारमा पनि गरिन्छ । यसले संक्रमण हुनबाट बचाउँछ । घाउमा ग्लिसिरिन लगाउँदा हल्का पोल्छ तर यसले घाउ चाँडै निको हुन्छ । 

सिसा सफा गर्न 
घरलाई सफा गर्नका लागि पनि ग्लिसिरिनको प्रयोग गर्न सकिन्छ । किनभने यो सिम्पल पोलिओल कम्पाउन्ड हो, यसले फोहोर चाँडै सफा हुन्छ । पानीमा थोरै डिटरजेन्ट र दुई चम्चा ग्लिसिरिन राखेर सफा गर्नाले दागधब्बा सजिलै जान्छ । 

पेन्टिङमा प्रयोग
पेन्टिङ गर्नेहरूले पनि ग्लिसिरिनको प्रयोग रंगमा गर्न सक्छन् । यसले रंग राम्रोमात्र देखिँदैन पेन्टिङ लामो समयसम्म टिकाउँछ । 

फर्निचर पोलिस
ग्लिसिरिन फर्निचर सफा गर्नका लागि पनि प्रयोग गर्न सकिन्छ । यसका लागि ग्लिसिरिनलाई कपासमा लिएर फर्निचर सफा गर्न सकिन्छ । यसले फर्निचर सफा हुन्छ । फर्निचरमा साइनिङ आउँछ र दाग बस्दैन । 

डढेको भाँडा सफा गर्न
कहिलेकाहीँ खाना पकाउँदा भाँडा डढ्छ । यस्तो डडेको भाँडा यसको प्रयोगबाट सफा गर्न सकिन्छ । भाँडा माझ्ने तरलमा थोरै ग्लिसिरिन मिसाएर प्रयोग गर्दा डढेको भाँडा सफा हुन्छ । भाँडा चम्काउनका लागि तातोपानीको प्रयोग गर्न सकिन्छ । 

क्लिन्जरका रूपमा प्रयोग
छालाको धूलो र फोहोर सफा गर्न क्लिन्जरका रूपमा ग्लिसिरिनको प्रयोग गर्न सकिन्छ । दूधसँग यसलाई मिसाई अनुहार सफा गर्न सकिन्छ । 

चायाँ हटाउन उपयोगी
ग्लिसिरिन केशका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । यसमा ‘एन्टी फंगल’ गुण हुन्छ । यसले केश चिलाउने समस्यालाई पनि कम गर्छ । तेलमा मिसाएर दैनिक केशमा लगाउँदा चायाँ कम हुन्छ । यसले केशलाई स्वस्थ पनि बनाउँछ । केशलाई चम्किलो बनाउन ‘कन्डिसनर’को सट्टा ग्लिसिरिनको उपयोग गर्न सकिन्छ । 

 Image