सीपले आत्मनिर्भर 

नारी संवाददाता

माघ ८, २०७९ पछिल्लो समय पूर्वकम्लरीहरू सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । यसमा उनीहरूलाई केही संस्थाले सहयोग गरेका छन् । ती संस्थाहरूले उनीहरूलाई सिलाइ–बुनाइको सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् । नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघको पहल र संयोजनामा ‘ओल्गापुरी भोकेसनल स्कुल’ ले ती कम्लरीहरूलाई प्रशिक्षण दिँदै आएको छ । यसैक्रममा पछिल्लो महिनामात्रै तीन सयभन्दा बढी पूर्वकम्लरीले एकैसाथ सिलाइ–बुनाइ प्रशिक्षण पूरा गरेको प्रमाणपत्र लिएको संघका उपाध्यक्ष राजकुमार कार्कीले बताए । उनका अनुसार सीप सिकेर सक्षम भएपछि उनीहरूले मासिक २० देखि ३५ हजारसम्म कमाउन सक्ने भएका छन् ।

‘महिलाको आर्थिक सशक्तीकरण परिवार, समाज र मुलुक निर्माणको खुड्किलो हो भन्ने बुझेर हामीले यसमा पहल गरेका हौं’ राजकुमारले भने, ‘साथै स्वदेशी उत्पादन बढाउने र मुलुकलाई योगदान दिने पनि हाम्रो उद्देश्य हो ।’ उनी आफैले संचालन गरेको ‘ओम अपेरियल’ कम्पनीमा ५० जनाभन्दा बढी पूर्वकम्लरीलाई जागिर दिएका छन् । 

बर्दियाकी २२ वर्षीया धनकुमारी थारू पूर्वकम्लरी हुन् । १० कक्षासम्म पढेकी उनी यिनै संस्थाबाट सिलाइ–बुनाइको सीप सिकेर आत्मनिर्भर बनेकी छन् । ‘संसारको जुनसुकै कुनामा गएर बाँच्ने भएकी छु’ उनले भनिन्, ‘मेरो हातमा सीप छ, सीप भयो कि पैसा फल्यो ।’ हाल उनले मासिक ३० देखि ३५ हजार रुपैंयाँ कमाउने गरेको बताइन् । उनकै कमाइले परिवार धानेको छ । कमाइ गर्न थालेपछि आफूप्रति समाज र इष्टमित्रले गर्ने व्यवहार पनि फरक भएको उनको भनाइ छ । 

यसैगरी, कैलाली टीकापुरकी २५ वर्षीया सुमा चौधरीको कथा पनि फरक छैन । उनले पनि सिलाइ–बुनाइको सीप सिकेर मासिक २० देखि २५ हजार रुपैयाँ कमाउँछिन् । उनी आफूलाई चाहिने खर्च अड्कलेर अरु घर पठाउँछिन् । उनी भन्छिन्, ‘आफू कमाउने भएपछि मन लागेको लाउन–खान पाइएकी छु । जीवनमा खुसी मिलेको छ । घरमा आमा–बुवा र भाइ छन्, मेरै भरमा बाँचिरहेका छन् ।’

कञ्चनपुर वनशाहकी २५ वर्षीया रीना राना थारु पनि पूर्वकम्लरी हुन् । उनी पनि सीप सिकेर घरपरिवारका लागि खर्च निकालिरहेकी छन् । ‘सीप सिकेपछि जीवनमा नयाँ रंग थपिएको छ’ उनले भनिन्, ‘बाँच्ने रहर पलाएको छ ।’ परिवारका लागि खर्च पुर्‍याएर उनी बचत पनि गर्छिन् । कमाउन थालेयता आफ्नो शिर ठाडो भएको उनी सुनाउँछिन् । उनले भनिन्, ‘अब त कसैसँग डर र धक लाग्दैन । निर्धक्क जीवन बाँचेकी छु । विवाह गर्ने मन पनि छैन ।’ 

कैलालीकी २५ वर्षकी निभा चौधरी पनि आत्मनिर्भर छिन् । उनले पनि औसतमा ३० देखि ३५ हजार रुपैंयाँ मासिक कमाउने गरेको बताइन् । सात जनाको परिवार धानिरहेकी निभा भन्छिन्, ‘आधा तलब परिवारलाई पठाउँछु, बाँकी केही बचत गरी मन लागेको ठाउँमा खर्च गर्छु ।’ उनले आम्दानी गर्न थालेपछि सम्मान पाएको बताइन् । ‘महिलालाई स्वरोजगार र आत्मनिर्भर हुन जरुरी छ’ उनले भनिन्, ‘कसैका अगाडि हात फैलाउन नपरेपछि आत्मसम्मान महसुस भइरहेको छ ।’ 

बाँके नेपालगञ्जकी २७ वर्षीया दीपा वलीको भिन्नै कथा छ । विवाहपछि उनले धेरै दुःख पाइन् । सानै उमेरमा बच्चा पाइन् । ‘बच्चा पाल्न गिट्टी–बालुवामा काम गर्न थालें, ज्यामी काम गरें,’ उनले भनिन्, ‘१०–१२ हजारभन्दा कमाइ नहुने, पुग्दै नपुग्ने । त्यसपछि अरु विकल्प खोज्न थालें ।’ त्यसैक्रममा उनले संघको संयोजन रहेको संस्थाबाट सिलाइ–बुनाइको प्रशिक्षण लिइन् । उनी हाल सीप बेचेर आत्मनिर्भर भएकी छन् । आफूले कमाउन थालेपछि पहिले नबोल्ने आफन्तले समेत सम्मान दिन थालेको उनले बताइन् । 

 

राजकुमार कार्की

उपाध्यक्ष, नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघ

हातमा सीप भए मानिसले चाह्यो भने कायापलट गर्न सक्छन् । यही सोचका साथ हामीले महिलालाई सिलाइ–बुनाइ सीप सिकाउने लक्ष्य लियौं । त्यो लक्ष्यमा हामी पुग्दै गरेको अवस्था हो । पाँच सयभन्दा बढी कम्लरीलाई सिलाइ–बुनाइसम्बन्धी प्रशिक्षण दिने उद्घोष गरेको हामीले तिनीहरूको रोजगारी ग्यारेन्टीको घोषणा समेत गर्‍यौं । हाल तीमध्ये तीन सयभन्दा बढी स्वरोजगार बनिसकेका छन् । 

हामी नेपालीका लागि आवश्यक हरेक तयारी सामान विदेशबाट आयात भएको देखिन्छ । हामी परनिर्भरतामा बाँचे झैं भान हुन्छ । गर्न सक्ने उमेरका युवा जनशक्ति बिदेसिनुपर्ने बाध्यता छ । सीप नभएका, अवसर नपाएका र बेरोजगार भएर दुःख पाएका महिलालाई हामीले सीप सिकाएर स्वरोजगार बनाई आय आर्जनको अवस्थासम्म पुर्‍याउन त्यति सजिलो छैन । तर, नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघ र ओल्गापुरी भोकेसनल स्कुलको प्रयासमा आज केही महिलाहरूले सीप सिकेर आय आर्जन गरेको देख्दा मानव धर्म यही हो भन्ने जस्तो लाग्छ । आज दिदीबहिनीका हातले बनाएका सामग्री नेपालभर छरिएका छन् । अब छिट्टै यिनको सीप विदेशसम्म पुग्ने तयारीमा छ । यसो हुँदा यी दिदीबहिनीको सीप संसारभर फेलिने मात्र नभएर आम्दानी पनि दोब्बर बढ्छ । विदेशी ब्रान्डलाई प्रश्रय दिने सम्पूर्ण नेपालीहरूलाई हाम्रै दिदीबहिनीहरूद्वारा बनाइएका स्वदेशी उत्पादन प्रयोग गरी राष्ट्र निर्माणमा सहयोग गरौं भन्न चाहन्छु । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>