Successfully Copied

कपडाको प्याड बनाएर आत्मनिर्भर

ललितपुरस्थित भैंसीपाटीकी श्रुति महर्जन चार वर्षयता महिनावारीमा प्रयोग गरिने कपडाको प्याड ‘होल्डर’ सिलाउँदै आएकी छन् । पहिला आफ्नै खेतीपाती र कहिलेकाहीँ सिलाइको काम गर्ने उनी अचेल मासिक १० देखि १२ हजार रुपैयाँसम्म कमाउँछिन् ।

ललितपुरस्थित भैंसीपाटीकी श्रुति महर्जन चार वर्षयता महिनावारीमा प्रयोग गरिने कपडाको प्याड ‘होल्डर’ सिलाउँदै आएकी छन् । पहिला आफ्नै खेतीपाती र कहिलेकाहीँ सिलाइको काम गर्ने उनी अचेल मासिक १० देखि १२ हजार रुपैयाँसम्म कमाउँछिन् । ‘आफ्नो खेतीपाती, बालबच्चाको हेरचाह सबै गरेर पनि पैसा कमाइराछु,’ उनले भनिन्, ‘अर्डर आइरहे त धेरै कमाइ हुन्छ ।’ ‘होल्डर’ सिलाउन थालेपछि उनी आत्मनिर्भर बनेकी छन् । ‘अचेल श्रीमान्सँग पैसा माग्नु पर्दैन’ उनले भनिन् । 
प्याड बनाउनकै लागि घरमा उनले छुट्टै कोठा बनाएकी छन् । गुप्ता∙मा प्रयोग गरिने र सरसफाइमा पनि विशेष ध्यान दिनुपर्ने भएकाले छुट्टै कोठामा प्याड सिलाउने गरेको उनले बताइन् । पछिल्लो समय कपडाको पुनः प्रयोग गर्न मिल्ने प्याड उत्पादनमा समेत प्रतिस्पर्धा हुन थालेको उनको अनुभव छ । ‘प्रतिस्पर्धा हुँदा अर्डर कम आउँछ, गोटाअनुसारको मूल्य पनि घटेको छ,’ उनले भनिन्, ‘घरको काम, खेतीपाती सबै गरेर आफ्नो खर्च निकाल्छु, राम्रै छ ।’ 

.हरलक्ष्मी डंगोलले पनि कपडाको प्याड ‘होल्डर’ सिलाउने काम गर्छिन् । जडीबुटीस्थित एक कम्पनीमा ‘ल्याब असिस्टेन्ट’मा कार्यरत उनी आमा बनेपछि शरीरले साथ नदिँदा काम छाडिन् । उनले काम छाडेको साढे चार वर्षजति भयो । काम छोडेपछि उनी आर्थिक रूपमा श्रीमान्कै भर परिन् । ‘बच्चा भयो, आफै बिरामी पर्न थालें, नियमित काम गर्न नसकिने भएपछि अन्ततः काम नै छोडें,’ उनले भनिन्, ‘करिब एक वर्ष घरकै बास भयो, अनि महानगरले तालिम दिनेबारे वडा सदस्यमार्फत थाहा पाएर त्यहीँ जोडिएँ ।’ 
प्याड बनाउने तालिम लिइसकेपछि काम पनि सहजै पाएको उनले सुनाइन् । पछिल्लो समय सुरुका दिन जसरी ‘प्याड होल्डर’ बनाउन नसकेकोमा उनीदुःखी छिन् । ‘पहिला हात बसेको थिएन, बिस्तारै हात बस्यो, धेरै गर्न थालें,’ उनले भनिन्, ‘अहिले बाथ रोगले गर्दा फेरि धेरै काम गर्न नसक्ने भएँ ।’ पहिले १५ देखि २० हजारसम्म कमाउने हरलक्ष्मीले हाल मुस्किलले ८ देखि १० हजार कमाउने गरेको बताइन् । ‘बाथ रोगका कारण मेसिन चलाउँदा हातखुट्टा सुन्निन्छन्, त्यसैले आराम गर्दै मेसिन चलाउँछु र प्याड ‘होल्डर’ बनाउँछु,’ उनले भनिन्, ‘प्याडको ड्राफ्ट एउटै हुने भएकाले सजिलो छ, सासु आमाले पनि सहयोग गर्नुहुन्छ ।’

.भैंसेपाटीकै मीना महर्जनले ‘पार्ट टाइम’का रूपमा ‘प्याड’ बनाउँछिन् । कुर्था सेट, चोलोलगायत विभिन्न कपडा सिलाइको उनको छुट्टै टेलर नै छ । दैनिक ५ सयदेखि हजार रुपैयाँ कमाउने भए पनि आजभोलि दिनको ८ सयसम्म कमाइ हुने उनले सुनाइन् । मीनाको आफ्नै टेलर पनि छ । जहाँ उनी लुगा सिलाउने काम गर्छिन् । टेलरमा अर्डर नआउँदा वा फुर्सदको समयमा भने प्याड ‘होल्डर’ बनाउने गरेको उनले बताइन् । ०५६ देखि नै उनले सिलाइको काम थालेकी हुन् । मीनाले झन्डै चार वर्षअघि महानगरपालिकाको प्याड सिलाउने तालिम लिइन् । त्यसपछि भने उनले दुवैतिर काम थालिन् । पहिलेदेखि आफै कमाउन सक्ने उनलाई ‘प्याड’ बनाउने कामले थप हौसला दिएको छ । ‘प्याड कसरी बनाउँछ भन्ने उत्सुकताले नै प्याड बनाउन सिकायो,’ उनले भनिन्, ‘आफ्नै रहरले दुवै थरी कामसँगै घरपरिवार हेर्छु ।’

.हरिसिद्धिकी किरण महर्जनले प्याडमै प्रयोग गरिने ‘लाइनर’ सिलाउँछिन्, । झन्डै तीन वर्षदेखि उनले यो काम गर्दै आएकी छन् । कोभिड महामारीअघि उनको आफ्नै टेलर थियो । कोभिडको समयमा काम नहुँदा टेलर बन्द भयो । उनले यसमा लगानी गरेको पनि सबै डुब्यो । फेरि लगानी गर्न नसक्दा पसल नै बन्द भएको उनले सुनाइन् । ‘टेलर हुँदा ५ हजार भाडा तिरेर खानलाई मात्र पुग्थ्यो, कहिलेकाहीँ त, त्यही पनि मुस्किल हुन्थ्यो,’ उनले भनिन्, ‘आजभोलि लाइनर बनाएर नै घरखर्च पुग्छ, बचत पनि हुन्छ ।’ काम नहुँदा पनि मासिक १८ देखि २० हजार रुपैयाँ कमाइने उनले बताइन् । उनका अनुसार काम हुँदा त २५ देखि ३० हजार रुपैयाँ नै आउँछ । आफ्नो लगानी नभए पनि घरखर्च कटाएर बचत पनि हुने हुँदा उनी खुसी छिन् ।
यी त प्रतिनिधि उदाहरण मात्र हुन् । धेरै महिला ‘प्याड’ उत्पादनमा सक्रिय भई आत्मनिर्भर बनेका छन् । उनीहरूलाई आत्मनिर्भर बनाउनमा जावलाखेलस्थित ‘एक्स्पोज नेपाल’को सहयोग छ । यो कम्पनीलेसजिलो ‘प्याड’ नामक ब्रान्डमा पुनःप्रयोग गर्न मिल्ने कपडाका प्याड बेचिरहेको छ । प्याड बनाउन आवश्यक सामग्री सुतीका कपडा, सियो, धागो लगायत सबै कम्पनीले नै उपलब्ध गराउँछन् । कतिपयले प्याड होल्डर बनाउँछन् भने कतिपयले कपडाका प्याड बनाउँछन् । 
कम्पनीका संचालक ज्ञान महर्जनका अनुसार ‘प्याड’को ‘होल्डर’ र ‘प्याड’ बनाउने महिलाहरू छुट्टाछुट्टै हुन्छन् । ‘एक्स्पोज’ अन्तगर्त ९० जना महिलाहरू ‘प्याड’बनाउने काममा सक्रिय रहेको उनले बताए । कम्पनीले हालसम्म २३ जिल्लाका झन्डै ५ हजार महिलालाई प्याड बनाउने तालिम दिइसकेकोछ । 
बजारमा पाइने ९० प्रतिशतभन्दा बढी प्लास्टिक र प्लास्टिकजन्य प्याड पाइने भएकाले पुनःप्रयोग गर्न मिल्ने प्याड बनाउनेतर्फ आकर्षित भएको सञ्चालक ज्ञान महर्जनले बताए । सुरुमा मासिक ४० वटा प्याड बेच्न मुस्किल भएको ज्ञानलाई सन् २०१७ को अन्त्यतिर ‘प्याडम्यान फिल्म’ आइसकेपछि मासिक २०० वटा नै प्याड बिक्न थालेको उनले सुनाए । सन् २०१७ मा ‘बेस्ट मेल एक्टिभिस्ट’का रूपमा ‘अनेस्टी ओस्कर अवार्ड’ समेत पाएको उनले 
बताए । 
नेपालमै उत्पादन हुन्छ, 
कुहिने प्याड 

कपडाको पुनः प्रयोग गर्न मिल्ने, कुहिने र नकुहिने विभिन्न थरिका ‘प्याड’ नेपाली बजारमा उपलब्ध छन् । यसका अलावा ‘टेम्पोन’ र ‘मिन्स्ट्रुअल कप’ पनि विकल्पका रूपमा आइसकेका छन् । ‘टेम्पोन’ र ‘मिन्स्ट्रुअलकप’ बाहेक सबै प्रकारका ‘प्याड’ नेपालमै उत्पादन हुन्छन् । तर बजारमा भने आयातीत ‘सेनीटरी प्याड’कै हालीमुहाली छ । कपडाको पुनः प्रयोग गर्न मिल्ने र नकुहिने ‘सेनीटरी प्याड’ मात्र होइन, दुई महिनाको अन्तरालमा कुहिने ‘प्याड’ पनि पाइन्छ । ‘मितेरी’ ब्रान्डका सेनीटरी प्याड दुई महिनामा कुहिने जैविक प्याड उत्पादक राधा पौडलले बताइन् । कम्पनीले हाल दैनिक चार सय पिस प्याड उत्पादन गरिरहेको छ । अब भने १ मिनेटमा ५ सय पिस प्याड उत्पादन गर्ने तयारी भइरहेको उनले सुनाइन् । यो कम्पनीको ‘प्याड’ चितवन वरपरका विद्यालय र काठमाडौं लगायत विभिन्न जिल्लामा क्रियाशिल गैरसरकारी र गैरसरकारी अन्तर्राष्ट्रिय संस्थाहरूले खरिद गर्छन् । कम्पनीले धेरै उत्पादन गर्न नसक्दा बजारीकरणमा जोड दिन नसकेको उनले बताइन् । मितेरीमा नौ जना महिला कार्यरत छन् ।

 Image